बुटवल । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार बिचौलिया र भ्रष्टाचारीलाई बचाउन बनेको आरोप लगाएका छन् । रुपेन्देहीको भैरहवामा आज प्रेस सेन्टरले गरेको पत्रकार भेटघाटमा प्रचण्डले सरकार बनाउँदा कांग्रेस र एमालेका एक दुई जना नेता बाहेक अरुलाई थाहा नदिई अपारदर्शी ढंगले बिचौलिया र भ्रष्टाचारीलाई बचाउन बनेको बताएका हुन् ।
उनले वर्तमान सरकार दुई तिहाइको नभई षड्यन्त्रको र अपारदर्शी सरकार भएको टिप्पणी गर्दै सरकार असंवैधानिक भएको पनि आरोप लगाए । वर्तमान सरकारको जन्म नै संविधान कुल्चेर अप्राकृतिक ढंगले बनेको जिकिर गर्दै प्रचण्डले सरकार संविधानको धारा ७६ ९३० अनुसार कांग्रेसको नेतृत्वमा सरकार बन्नुपर्नेमा संबिधान मिचेर गठन भएको बताए । कांग्रेससँगको गठबन्धनमा एमाले नेतृत्वको वर्तमान सरकार बनेदेखि नै जनतामा यो सरकारप्रति कुनै आशा नभएको प्रचण्डको भनाई छ ।
उनले माओवादीको अभियान रुपन्देही प्रवेश गर्दै गर्दा माओवादीप्रति जनताको अपार समर्थन रहेको दोहोर्याए । पत्रकारको प्रश्नमा उनले यो सरकार ढालेर अहिले सरकारमा आउने माओवादी केन्द्रलाई कुनै रुचि नभएको बताए ।
‘हामीलाई सरकारमा जाने कुनै रुचि छैन । हाम्रो कुनै खालको हतारो पनि छैन । तर यसको अर्थ यो सरकार चलिरहोस्, नेपाली जनताले दुख पाइरहुन् भन्ने पनि एउटा जिम्मेवार र शान्ति सम्झौताको हस्ताक्षरकर्ताको नाताले त्यो मनसाय होइन ’, प्रचण्डको स्पष्ट पारे ।
प्रतिक्रिया