ताजा अपडेट »

शिक्षक आन्दोलनले भर्ना अभियान प्रभावित

बुधबार, ०३ बैशाख २०८२, ०६ : ३७
26 Shares
बुधबार, ०३ बैशाख २०८२
26 Shares

दोधारा चाँदनी ।  शिक्षकको काठमार्डौँ केन्द्रित आन्दोलनले विद्यार्थी भर्ना अभियान प्रभावित बनेको छ । सरकारले यही वैशाख २ गतेदेखि सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना अभियानको तयारी गरे पनि शिक्षक आन्दोलनमा हुँदा भर्ना अभियान प्रभावित बनेको हो ।

विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षक महासङ्घको नेतृत्वमा गत चैत २० गतेदेखि शिक्षकले सडक आन्दोलन गरिरहेका छन् । महासङ्घले शैक्षिक हड्तालसमेत घोषणा गरेको छ । उक्त हड्तालको समर्थनमा यहाँका विभिन्न सामुदायिक विद्यालयले सूचना जारी गर्दै शिक्षक महासङ्घको आन्दोलनलाई ऐक्यबद्धता जनाउँदै विद्यालयमा सबै शैक्षिक गतिविधि बन्द गरेको जानकारी गराएका छन् ।

महेन्द्रनगरस्थित महेन्द्रनगर माध्यमिक विद्यालयका प्रधानाध्यापक देवराज भट्टले सम्पूर्ण शैक्षिक कार्य बन्द गरिएको जानकारी दिनुभयो । “शिक्षक÷शिक्षिका आन्दोलनमा काठमाडौँ गएका छन् । शैक्षिक कार्य गर्ने वातावरण छैन ।” उनले भने , “सरकारले माग सम्बोधन गरे शैक्षिक कार्यक्रम अगाडि बढ्छन् ।” उहाँले कक्षा ११ को पठनपाठन बन्द गरिएको बताए ।  

शान्ति निकेतन माध्यमिक विद्यालयका प्रधानाध्यापक पुष्पराज ओझाले सूचना जारी गर्दै विद्यालयका शैक्षिक गतिविधि बन्द गरिएको उल्लेख गरे ।  जिल्लाका अधिकांश विद्यालयका शिक्षक आन्दोलनमा सहभागी हुन काठमाडौँ गएकाले सामुदायिक विद्यालयको पठनपाठन लगायतका शैक्षिक कार्यक्रम बन्द छन् । महेन्द्रनगरस्थित शान्ति आधारभूत विद्यालयका प्रधानाध्यापक उत्तम विष्टले सरकारले शिक्षकका माग सम्बोधन नगरेसम्म विद्यालय बन्द रहने बताए ।  

“सरकारले हाम्रा माग सम्बोधन गर्ने वित्तिकै हामी कार्यक्षेत्रमा फर्किन्छाँै”, उनले भने , “सरकारले माग सम्बोधन नगरे वैशाख ११ गतेदेखि तय भएको कक्षा १२ को परीक्षा प्रभावित हुन्छ ।”

शिक्षक विद्यालय बन्द गरेर आन्दोलनमा गएपछि जिल्लाका सामुदायिक विद्यालय बन्द छन् । यहाँका स्थानीय तहले मङ्गलबारदेखि विद्यार्थी भर्ना अभियान सुरु गर्ने भने पनि शिक्षकको आन्दोलनका कारण विद्यालय खुल्न सकेका छैनन् ।  भीमदत्त नगरपालिकाका शिक्षा शाखा प्रमुख हरिदत्त जोशीले यहाँका सबै सामुदायिक विद्यालय बन्द हुँदा विद्यार्थी भर्ना अभियान सञ्चालन हुन नसकेको बताए ।  

    “शिक्षकहरु शैक्षिक आमड्ताल गरेर आन्दोलनमा छन् । सबै सामुदायिक विद्यालय बन्द छन्”, उनले भने  “शिक्षक आन्दोलनका कारण विद्यार्थी भर्ना अभियान सञ्चालन हुन सकेको छैन ।” सरकारले आजभोलिमा केही निकाश निकाल्नेमा आफूहरु आशावादी रहेको उनले बताए । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।