काठमाडौं । जाजरकोटमा साढे ७ घण्टाको फरकमा दुई भूकम्प गएका छन् । सोमबार राति ९ बजेर ३१ मिनेट जाँदा जाजरकोटको पैंक भन्ने स्थानलाई केन्द्रबिन्दु बनाएर ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो त्यसको करिब साढे ७ घण्टापछि आज (मँगलबार) बिहान ४ बजेर ५३ मिनेट जाँदा अर्को भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान पनि कुशे गाउँपालिकाको पैंकलाई नै केन्द्रविन्दु बनाएर ४.४ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पका कारण कुनै क्षति भए/नभएकाबारे कुनै विवरण भने प्राप्त भएको छैन ।
यसअघि गत चैत २१ गते साँझ ८ बजेर ७ मिटेर र ८ बजेर १० मिनेट जाँदा सोही स्थानलाई केन्द्रबिन्दु बनाएर दुई पटक भूकम्प गएको थियो । पहिलो भूकम्प ५.२ र दोस्रो भूकम्प ५.५ म्याग्निच्युडको थियो । सो भूकम्पका कारण केही घरमा सामान्य क्षति पुगेको थियो । पछिल्लो समय पश्चिम नेपाललाई केन्द्र बनाएर साना-साना भूकम्प गइरहेका छन् ।
प्रतिक्रिया