ताजा अपडेट »

बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी सुरु

सोमबार, ०१ बैशाख २०८२, १८ : ५३
20 Shares
सोमबार, ०१ बैशाख २०८२
20 Shares

नेपालगञ्ज । बाँके राष्ट्रिय निकुञ्जले आजदेखि जङ्गल सफारी सुरु गरेको छ । निकुञ्जको पश्चिम उत्तर क्षेत्र खडकवार, हात्तीसारबाट सुरु भएको जङ्गल सफारी तीन घण्टामा अगैयासम्म पुगेर सकिएको बाँके राष्ट्रिय निकुञ्जका रेञ्जर सुपुष्प रेग्मीले जानकारी दिए । 

बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलले मानव वन्यजन्तुबीचको द्वन्द्व घटाउने विषय प्राथमिकतामा राखेर सफारी गरिएको बताए । “यसको मुख्य उद्देश्य पर्यापर्यटनको विकास र निकुञ्जमा देखिएका समस्या र चुनौतीका विषयमा छलफल गर्दै जनतालाई पर्यापर्यटनसँग जोड्न खोजिएको हो”, उनले भने । 

निकुञ्जका प्रमुख संरक्षण अधिकृत कँडेलले जङ्गल सफारीका क्रममा बाघ, चौका चित्तल, रतुवा, जरायो ,बँदेललगायतका वन्यजन्तुको दृश्यावलोकन गरिएको बताए । निकुञ्जमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढाउन जङ्गल सफारी कार्यक्रमले सघाउ पुग्ने उल्लेख गर्दै रेग्मीले वन सप्ताहअन्तर्गत मङ्गलबार पनि जङ्गल सफारीको कार्यक्रम रहेको बताए । 

सफारी कार्यक्रममा राप्तीसोनारी गाउँपालिका–८ का वडाध्यक्ष शालिकराम डाँगी, मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष गेहेन्द्रकुमार खड्का, मध्यवर्ती क्षेत्र उपभोक्ता समितिका लोकेन्द्र खत्री, नेचर गाइडलगायत सफारीमा सहभागी थिए । 

विसं २०६७ मा बाघ संरक्षणका लागि स्थापना गरिएको सो निकुञ्जमा सन् २०१३ मा गणना गर्दा चार बाघ थिए भने २०२२ को गणनामा त्यो सङ्ख्या बढेर २५ पुगेको थियो । जैविक विविधताको संरक्षण, बाघ र बाघको आहारा प्रजातिको संरक्षण, मध्यवर्ती क्षेत्रका प्राकृतिक स्रोतको नियमन र व्यवस्थापन तथा पर्यटनको प्रवर्द्धन गर्ने उद्देश्य अनुरुप निकुञ्जमा विभिन्न काम हुँदै आएका छन् । 

करिब पाँच सय ५० वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको बाँके निकुञ्जमा स्तनधारी जनावार र चराका विभिन्न प्रजाति पाइन्छन् । मुख्य गरेर बाघको बासस्थानका लागि उपयुक्त मानिएको निकुञ्जमा चौका प्रजाति एक विशेषताका रुपमा देखिएको निकुञ्जको भनाइ छ । पछिल्लो समय आन्तरिक पर्यटकका साथसाथै भारतीय पर्यटक पनि निकुञ्जमा आउन थालेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।