ताजा अपडेट »

विसं २०८१ : नेपाली खेलकुदलाई फर्केर हेर्दा

सोमबार, ०१ बैशाख २०८२, १६ : १९
24 Shares
सोमबार, ०१ बैशाख २०८२
24 Shares

काठमाडौं । नेपाली खेलकुद क्षेत्रमा व्यावसायिक अभ्यासका लागि २०८१ साल महत्वपूर्ण वर्षका रुपमा रह्यो । भलिबल, क्रिकेट, कबड्डी, फुटबलजस्ता खेलको व्यावसायिक प्रतियोगिता आयोजना हुनु मुलुककै खेलकुद विकासका लागि उल्लेखनीय मानिएको छ । यस्तै फुटबल, क्रिकेटजस्ता खेलमा केही खेलाडीले विदेशी क्लबमा आबद्ध रहेर खेल्न पाउनु पनि नेपालक लागि गौरवको विषय बन्ने नै भयो ।

विगतको तुलनामा प्रतियोगिताहरुको आयोजना तथा अन्तरराष्ट्रिय सहभागिता घटेता पनि एक वर्षमा केही उल्लेखनीय नतिजा पनि हासिल भएका छन् । पारा ताइक्वाण्डो खेलाडी पलेशा गोवर्धनले इतिहासमै पहिलोपटक पारा ओलम्पिकमा कास्य पदक जित्नु महत्वपूर्ण उपलब्धि थियो ।

राजु सिलवाल
यस्तै देशको प्राथमिकतामा पर्न नसकेको ‘खोखो’ खेलको विश्व च्याम्पियनसिपमा नेपाल उपविजेता बन्नु, कराते खेलाडी एरिका गुरुङले अष्ट्रेलियन ओपन कराते च्याम्पियनसिपमा स्वर्ण पदक जित्नुजस्ता सफलताले मुलुकलाई गौरवान्वित बनाएको छ । क्रिकेटर सन्दीप लामिछानेले ‘टि–२०’ अन्तरराष्ट्रिय क्रिकेटमा एक सय विकेटको रेकर्ड पुर्याएर विश्वमै छिटो विकेट लिनेहरुमा दोस्रो स्थानमा पुग्न सफल हुनु, कतार बिरुद्धको खेलमा दीपेन्द्रसिंह ऐरीद्वारा एक ओभरमा छ छक्का प्रहारजस्ता कीर्तिमान साधारण उपलब्धि होईनन् । यसै अवधिमा काठमाडौँको कीर्तिपुरस्थित क्रिकेट रङ्गशालामा राति पनि खेल सञ्चालनका लागि ‘फ्लडलाइट’ जडान तथा १० हजार दर्शक क्षमताको प्यारापिट निर्माण एंव रुपन्देहीको तिलोत्तमा नगरपालिकामा व्यक्तिगत तवरबाट बनाइएको क्रिकेट रङ्गशालाको निर्माण सम्पन्न हुनुजस्ता प्रगति पनि भएका छन् । तीनपटक मिति घोषणा भएर पनि दशौँ राष्ट्रिय खेलकुद आयोजना हुन नसक्नु, नेपाल ओलम्पिक कमिटीमा तालाबन्दी हुनु, कैयौँ खेलका राष्ट्रिय प्रतियोगिता नहुनु, प्रदेशस्तरमा खेलका गतिविधि सन्तोषजनक नहुनुजस्ता अप्रिय सन्दर्भ पनि खेलकुद क्षेत्रमा नभएका होइनन् । गत असोज १२ गते परेको भीषण पानी तथा त्यसपछिको बाढी–पहिरोमा परी मकवानपुरस्थित एन्फा एकेडेमी फुटबल प्रशिक्षणमा रहेका छजना बालकको दुःखद निधन पनि यो सालको बिर्सिन नसकिने घटनाका रुपमा लिनुपर्दछ । प्रस्तुत सामग्रीमा २०८१ सालको खेलकुदसम्बन्धी केही प्रमुख प्रसङ्ग उल्लेख गरिएको छ ।


पारा ओलम्पिकमा पहिलो पदक

सन् २०२२ मा चीनमा भएको पारा एसियाली खेलकुदमा पहिलो ऐतिहासिक कांस्य पदक जितेर चर्चामा आएकी पलेशा गोवर्धनले आफ्नो इतिहासलाई दोहो¥याएकी छिन् । सन् २०२४ मा फ्रान्सको राजधानी पेरिसमा ओलम्पिक खेलकुद सम्पन्न भएलगत्तै आयोजित पारा ओलम्पिकमा नेपाली खेलाडी पलेशा गोवर्धन कांस्य पदक जितेर मुलुकलाई पहिलोपटक पारा ओलम्पिकको आधिकारिक पदक दिलाउन सफल भइन् । उनले महिला ५७ केजी तौल समूहको ‘रिपाचेज’को फाइनलमा सर्बियाकी खेलाडीलाई पराजित गरी पदक जितेकी थिइन् । उनी पहिलो खेलमा भेनेजुयलाकी खेलाडीलाई पराजित गर्दै ‘क्वाटर फाइनल’मा प्रवेश गर्न सफल भएकी हुन् । उनी क्वाटरफाइनलमा ब्राजिलकी खेलाडीसँग भने हारेकी थिइन् । रिपाचेज चरणमा फ्रान्स र सर्बियाकी खेलाडीलाई हराएर पलेशा नेपालको पहिलो ओलम्पिक पदकको हकदार बनेकी हुन् ।

ओलम्पिकमा कमजोर सहभागिता

पेरिसमा सम्पन्न ओलम्पिकमा नेपालको १५औँ सहभागिता रहे पनि उपलब्धि भने नगन्य रह्यो । छनोट चरण पार गरेर ओलम्पिकमा सहभागिता जनाउन पुगेका नेपालका पहिलो टेबुल टेनिस खेलाडी स्याण्टु श्रेष्ठ सेनेगलका खेलाडीसँग ‘४–०’को सोझो सेटले पराजित भएका थिए ।

महिला म्याराथनमा धाविका सन्तोषी श्रेष्ठ ७९औँ भएकी थिइन् । उक्त प्रतिस्पर्धामा ९२ जनाको सहभागिता रहेको थियो । नेपाली स्विमिङ खेलाडी एलेक्जेण्डर शाह पुरुषको एक सय मिटर दूरीको ‘फ्रिस्टाइल इभेन्टस’मा हिटस प्रतिस्पर्धामै सीमित रही कूल सहभागीहरुमध्ये ५९औँ स्थानमा रहे । २०० मिटर दूरीको महिला फ्रिस्टाइलमा डुबाना लामा पनि हिटसका प्रतिस्पर्धीहरुमध्ये पुछारमा रहेकी थिइन् । जुडोमा मनिता श्रेष्ठ पहिलो भिडन्तमै सर्बियाकी खेलाडीसँग ‘१०–०’ अङ्कले हार्न पुगिन् । यस्तै सुटिङ खेलतर्फ १० मिटर दूरीको एयरराइफल इभेन्टसमा सुस्मिता नेपाल ४२औँ स्थानमा पुगेकी थिइन् । ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल डेनमार्क, आयरल्याण्ड तथा इजरायलका खेलाडीसँग पराजित भएका थिए । ओलम्पिकमा नेपाली खेलाडीहरुले उचित खेल प्रदर्शन गर्न सक्ने सम्भावना भएका खेलको पदक लक्षित दीर्घकालीन प्रशिक्षण सञ्चालन नगरेसम्म ओलम्पिकमा निरन्तर सहभागिताबाट खासै नतिजा नआउने सन्देश पेरिसमा नेपाली खेलाडीहरुको प्रदर्शनले दिएको थियो ।

ओलम्पिक कमिटीमा ताला

अन्तरराष्ट्रिय खेलकुदमा नेपालको प्रतिनिधित्व गर्ने आधिकारिक संस्था नेपाल ओलम्पिक कमिटीको कार्यालयमा ताला लाग्नु पनि यस वर्षको खेलकुदजगत्का लागि दुःखद घटना बन्न पुग्यो । युवा तथा खेलकुद मन्त्रालयको निर्देशनमा सो ताला लगाइएको थियो । ओलम्पिक कमिटीको केही समयअघि सम्पन्न निर्वाचनप्रति असहमति जनाउँदै कार्यालयमा ताला लगाइएको थियो । नेपालले अन्तरराष्ट्रिय खेलकुद प्रतियोगितामा ओलम्पिक कमिटीको झन्डामुनि सहभागिता जनाउँदै आइरहेको छ । ओलम्पिक कमिटीका नयाँ निर्वाचित टोलीलाई हालसम्म सरकारका तर्फबाट मान्यता प्रदान गरिएको छैन । यसले गर्दा नेपालमा ओलम्पिक गतिविधिलाई गम्भीर असर पर्नाका साथै आगामी वर्ष पाकिस्तानमा आयोजना हुने दक्षिण एसियाली खेलकुदलगायतका अन्तरराष्ट्रिय प्रतियोगितामा नेपालको सहभागिता अन्योल पर्न सक्ने देखिएको छ ।

बिर्सन नसकिने फुटबल

विगतमा ओझेलमा परेको महिला फुटबल विस्तारै लयमा फर्कंदै छ । तर साफ महिला च्याम्पियनसिप फुटबलको फाइनलमा केही वर्षदेखि नै पराजय भोग्दै आइरहेको नेपाली टोली २०८१ सालमा पनि उपाधि विजेता बन्न सकेन । नेपाली टोलीले यस प्रतियोगिताको फाइनलमा पराजय ब्यहोरेको छपटक भइसकेको छ । घरेलु मैदानमा दशौँ हजार दर्शकको उपस्थितिमा नेपाली टोलीले राम्रो प्रदर्शन गर्दागर्दै पनि बङ्गलादेशको टोलीसँग हार ब्यहोर्नु परेको थियो । यसअघि सन् २०२२ मा नेपाल बङ्गलादेशसँग नै फाइनलमा पराजित भएको थियो । नेपाली टोलीको पराजय भएपछि नेपाली फुटबल प्रेमीहरुको चित्त बुझाउन कठिन भयो । यसअघि फाइनलमा भारतसँग चारपटक हार ब्यहोर्न परेको नेपाली टोलीले यसपटक भने सेमी फाइनलमा भारतविरुद्ध व्यापक रुपमा दबाब दिएर पराजित गर्दै फाइनलमा पुगेको थियो ।

फेरि उप-विजेता

चारवटा मुलुकका टोलीहरुको सहभागिता रहेको ‘फोर नेसन्स’ महिला फुटबल प्रतियोगितामा पनि नेपाल उपविजेतामै सीमित हुनपुग्यो । प्रतियोगिताका सहभागी टोलीहरु कीर्गिस्तान, लेबनानलाई पराजित आफ्नो बलियो उपस्थिति देखाएको नेपालले म्यानमारसँग बराबरी खेल खेल्दै फाइनलमा पुगेको थियो । अन्तिम प्रतिस्पर्धामा नेपाल म्यानमारसँग पराजित हुन पुगको थियो ।

एउटै प्रतियोगिता खेल्दा लाखौँ रुपैँया

नेपालकै पहिलो फ्रेन्चाइज खेलकुद प्रतियोगिता मानिएको नेपाल सुपर लिग फुटबल प्रतियोगिता एनएसएलको तेस्रो संस्करण पनि व्यावसायिक खेलको दृष्टिकोणले महत्वपूर्ण मानिएको छ । फुटबलका लागि पहिलोपटक अक्सन गरिएको यो प्रतियोगितामा नेपाली पुरुष खेलाडीहरु एउटै प्रतियोगिताका लागि डेढ लाखदेखि चार लाख रुपैयाँमा अनुबन्ध भई विभिन्न मुलुकका ख्यातिप्राप्त खेलाडीहरुसँग एउटै टोलीमा रहेर खेल्दैछन् । विदेशी खेलाडीलाई अझ धेरै पारिश्रमिक दिएर नेपालमा खेल्न आमन्त्रण गरिएको छ । २०८२ साल मङ्सिरमा महिलाहरुको पनि फ्रेन्चाइज लिग हुने भएपछि महिला खेलाडीहरुमा पनि उत्साह थपिएको छ ।

भलिबलतर्फको सफलता

भलिबललाई नेपालको राष्ट्रिय खेल घोषणा गरिएपछि यसको गतिविधि र सफलता बढ्दै गएको छ । २०८१ सालमा पनि भलिबलमा विभिन्न उपलब्धि हासिल भएका छन् । नेपालले सेन्ट्रल एसियन भलिबल एसोसिएसन काभा महिला भलिबल लिग नेसन्स च्याम्पियनसिपमा दोस्रो स्थान हासिल गरेको थियो । लिग चरणमा श्रीलङ्का, माल्दिभ्स र भारतलाई पराजित गर्न सफल नेपाली टोलीले सेमी फाइनलमा इरानलाई पराजित गरेको थियो । नेपाली टोली आफूले लिग चरणमा हराइसकेको भारतीय टोलीसँग फाइनलमा हारेर उपाधि जित्नबाट वञ्चित भएको थियो ।

माल्दिभ्समा भएको काभा महिला भलिबल क्लब च्याम्पियनसिपमा नेपाल पुलिस क्लबले उपाधि जितेको थियो । उज्वेकिस्तानको हुमो भलिबल क्लबलाई पराजित गरेर प्रतियोगिता च्याम्पियन बनेको नेपाली टोलीले लिग चरणकै पाँचवटा खेल जितेर उपाधि हात पार्न सफल भएको थियो । नेपालको पुरुष ‘टी–२०’ भलिबल टोली काभा पुरुष भलिबल च्याम्पियनसिपको कोलम्बोमा भएको फाइनलमा उज्वेकिस्तानसँग पराजित भई दोस्रो भएको थियो ।

एनपिएल क्रिकेटको रौनक

अन्तरराष्ट्रियस्तरमा नेपाललाई चिनाउने प्रमुख खेलमा क्रिकेट पर्दछ । क्रिकेटका लागि २०८१ साल व्यस्तताको वर्ष रह्यो । नेपाली दर्शकहरु नेपाली क्रिकेट खेलाडीहरुको टी–२० विश्वकप खेल हेर्न अमेरिकासमेत पुगेबाट नेपालमा क्रिकेटको लोकप्रियता कति रहेछ भनेर आकलन गर्न सकिन्छ ।

नेपालमा यो वर्ष आयोजना भएका खेलकुद प्रतियोगितामध्ये दिनहुँ अत्यधिक दर्शकहरुको उपस्थिति रहेको नेपाल प्रिमियर लिग एनपिएलको क्रिकेटको रौनक पनि बिर्सन नसक्ने घटनाका रुपमा रह्यो ।

नेपाली तथा विभिन्न मुलुकका ख्यातिप्राप्त क्रिकेट खेलाडीहरुले एकसाथ निजी क्षेत्रको लगानी रहेको एनपिएलको पहिलो संस्करणमा प्रतिस्पर्धा गरेका थिए । काठमाडौँमा नेपाल क्रिकेट सङ्घले आयोजना गरेको घरेलु प्रतियोगितामध्ये सबैभन्दा ठूलो प्रतियोगिता मानिएको एनपिएलमा खेलाडीहरुको पारिश्रमिक तथा पुरस्कारमै मात्र करोडौँ रुपैयाँ खर्च गरिएको थियो । विभिन्न अन्तरराष्ट्रिय क्रिकेट खेलाडीहरुलाई आकर्षक पारिश्रमिक दिएर खेल्न आमन्त्रण गरिएको एनपिएलमा नेपाली मार्की खेलाडीहरुले हालसम्मकै उच्च २० लाख रुपैयाँ पारिश्रमिक पाएका थिए । पहिलो संस्करणको उपाधि जितेर जनकपुर बोल्डस टोलीले एक करोड १० लाख रुपैयाँसहित उपाधि जित्न सफल भएको थियो । उक्त टोलीले फाइनलमा सुदूरपश्चिम रोयल्स टोलीलाई पाँच विकेटले हराएको थियो । प्रतियोगिताको उपविजेता सुदूरपश्चिम रोयल्स टोलीले ५१ लाख रुपैयाँ पुरस्कार पाएको थियो भने सो टोलीका कप्तान दीपेन्द्रसिंह ऐरीले प्रतियोगिताकै उत्कृष्ट खेलाडी बन्दै मोटरकार पुरस्कार प्राप्त गरेका थिए ।

दक्षिण अफ्रिकासँग एक रनले हार

नेपाली क्रिकेट टोलीले २०८१ सालमा आइसिसी ‘टी २०’ विश्वकप क्रिकेट प्रतियोगिताको समूह चरणको खेल खेल्ने अवसर प्राप्त ग¥यो । नेपालले अमेरिका र वेष्ट इण्डिजमा भएको कूल चारवटै खेलमा जित्न नसकी लिग चरणबाटै बाहिरिएको थियो । नेपाल तीन खेलमा पराजित हुन पुगेको थियो भने श्रीलङ्कासँगको खेल वर्षाको कारण रद्द भएपछि दुवै टोलीले एक–एक अङ्क पाएका थिए । दक्षिण अफ्रिकासँगको खेलमा नेपाली टोलीले सशक्त खेल प्रस्तुत गर्दै एक रनले मात्र पराजित भएको थियो ।

महिलाको सशक्त उपस्थिति

‘यू-१९’ महिला क्रिकेट टोलीले मलेसियामा टी-२० विश्वकप खेल्न पाउनु नेपाली खेलकुदको अर्को सफलता मानिएको छ । युगाण्डामा आयोजित क्रिकेट प्रतिस्पर्धामा नेपाली महिला खेलाडीहरुले चार खेल जितेर पहिलोपटक मुलुकलाई विश्वकपमा छनोट गराउन योगदान गरेका थिए ।

व्यक्तिगत लगानीमा रङ्गशाला

रुपन्देहीको तिलोत्तमा नगरपालिकामा नागरिकस्तरबाट व्यक्तिगत लगानीमा क्रिकेट रङ्गशाला निर्माण गरी प्रतियोगिता र प्रशिक्षण सुरु हुनुलाई महत्वपूर्ण उपलब्धिका रुपमा लिन सकिन्छ । गुल्मीका विनोद कुँवरले व्यक्तिगत लगानीमा निर्माण सम्पन्न गरेको एक्स्ट्राटेक ओभल क्रिकेट रङ्गशालामा राति पनि खेल सञ्चालन गर्न फ्लड लाइटको व्यवस्था गरिनु अझ खुसीको विषय हो । यस रङ्गशालामा एक वर्षको अवधिमा एक सयभन्दा बढी खेल सञ्चालन भइसकेका छन् ।

हुन नसकेको राष्ट्रिय खेलकुद

विसं २०८१ मा १०औँ राष्ट्रिय खेलकुदको मिति तीनपटक घोषणा भएता पनि प्रतियोगिता भने हुन नसक्नु दुःखद पक्ष मानिएको छ । सरकारले राष्ट्रिय खेलकुदका लागि कुल ६० करोड रुपैयाँ विनियोजन गरेको थियो । राष्ट्रिय खेलकुद परिषद्ले २०८१ साल मङ्सिर २ देखि ९ गतेसम्म कर्णाली प्रदेशमा उक्त प्रतियोगिता आयोजना गर्ने घोषणा गरेको थियो । तर तयारी नपुगेको जनाउँदै परिषद् बोर्ड बैठकले २०८१ साल चैत २३ देखि ३० गतेसम्मका लागि उक्त प्रतियोगिताको मिति सारेको थियो । तर चैतमा पनि हुन नसकेपछि २०८२ साल जेठ ३ गतेदेखि १० राष्ट्रिय खेलकुद तयारी नपुगेको भन्दै पुनः स्थगित भएको थियो । जेठमा प्रतियोगिता गर्दा मौसम प्रतिकूल हुने कारण पनि जनाइएको छ ।

अब जेठमा पनि नहुने भएपछि राष्ट्रिय खेलकुद अन्यौलमा परेको छ । २०३८ सालमा सुरु भएको राष्ट्रिय खेलकुद तीन दशक भइसक्दा पनि नवौँ संस्करण मात्र सम्पन्न हुनु नेपाली खेल पदाधिकारीहरुको ठूलो कमजोरी मान्न सकिन्छ ।

नेपालमा खेलकुदको संस्थागत विकास भएको लामो समय भइसक्दा पनि दीर्घकालीन योजना प्रभावकारी हुन सकेको छैन । खेलकुदमा लगानीको दृष्टिकोणमा प्रतिफल सन्तोषजनक छैन । मुलुकका युवालाई अनुशासित बनाउने तथा विश्व मानचित्रमा देशलाई चिनाउने माध्यम मानिएको खेलकुदलाई सरकारले यथोचित प्राथमिकता दिएर आवश्यक योजनाअघि बढाउनु पर्दछ । देशभर खेलकदुमय वातावरण बनाउँदै विद्यालयतहसम्म खेल प्रशिक्षणलाई विस्तार नगरिएसम्म नेपाल जुनसुकै स्तरको अन्तरराष्ट्रिय प्रतियोगितामा सहभागी भए पनि उपलब्धिविहीन हुनसक्ने जोखिम कायम छ । ओलम्पिक तथा एसियाली खेलकुदजस्ता महत्वपूर्ण प्रतियोगिता लक्षित लामो अवधिको प्रशिक्षण सञ्चालन नगरिएसम्म नेपालको अन्तरराष्ट्रिय सहभागिता, सहभागितामै सीमित नहोला भन्न सकिन्न ।

यसैगरी, युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद्जस्ता जिम्मेवार निकायले नेपालमा खेलेर पनि बाँच्न सकिने परिस्थितिको सिर्जना गर्नका लागि विशेष अभियान नै सञ्चालन गर्नुपर्ने आवश्यकता भइसकेको छ । यदि यसो गर्न सकिएमा २०८१ सालमा जस्तै आगामी वर्षहरूमा हाम्रा प्रतिभाशाली खेलाडीहरुको विदेश पलायन हुने दर न्यूनीकरण तथा नियन्त्रण गर्न सकिनेछ । समग्रमा खेलकुदमार्फत राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा नेपालको प्रतिष्ठा र पहिचान अभिवृद्धि गर्न सकिन्छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।