बुटवल । आज विक्रम संवत् २०८२ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ ।
आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको पहिलो दिन पनि हो । सूर्यको गतिसँग चल्ने भएकाले विक्रम संवत् शाश्वत भएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष माधव भट्टराई बताउँछन्।
“विक्रम ६० संवत्सरमध्ये एक र आदित्य सूर्यसँग सम्बन्धित भएकाले यसलाई विक्रमादित्य संवत् भनिएको हो, सूर्यको गति र स्थिति अनुसार विक्रम संवत् चल्दछ, शक संवत्का विशेषतादेखि इश्वी संवत्का व्यावहारिक गुण यसभित्र समावेश गरिएको छ”, उनले भने ।
सूर्य मेष राशिमा प्रवेश गर्दा सुरु भएर मीन राशि छोड्दा यो संवत्को पुरानो वर्ष सकिएर नयाँ वर्ष लाग्ने भएकाले वैज्ञानिक रहेको विद्वानहरुको भनाइ छ । सौरमान र चान्द्रमानको समन्वय पनि यो संवत्मा भएको छ । कलि युग सुरु भएको तीन हजार ४४ वर्षपछि विक्रम संवत् सुरु भएको हो ।
हरेक व्यक्तिले आज गत वर्ष गरेका कामको सफलता/असफलता मूल्याङ्कन गरी असफलता दोहोरिन नदिने र सफलता प्राप्त गर्न योजना निर्माण एवं सङ्कल्प गर्दछन् ।
प्रतिक्रिया