तिलोत्तमा । तिलोत्तमा व्यापार संघ रुपन्देहीले नयाँ वर्ष २०८२ का अवसरमा शनिबार शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमका अवसरमा बोल्ने वक्ताहरुले क्रमशः व्यावसायिक वातावरण बन्न थालेको भन्दै आगामी बजेट उद्योगी व्यवसायीलाई संबोधन गर्नेगरी ल्याउनुपर्ने सुझाव दिएका छन् ।
कार्यक्रमको उदघाटन गर्दै तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाणले सरकारले राम्रो काम गर्दागर्दै पनि कतिपय क्षेत्रबाट भ्रम छर्ने कोशिष भैरहेको भन्दै यसतर्फ व्यवसायीहरु सचेत र चनाखो बन्नुपर्ने बताए । विद्युत प्राधिकरणमा कुलमान घिसिङ हटेसँगै उद्योगहरुमा हुँदै आएको लोडसेडिङ हटेको, भारतसँग सरकारले ६०० मेगावाट विद्युत खरिदको सम्झौता गरेको भन्दै तथ्यका आधारमा विश्लेषण गर्न पनि उद्योगी व्यवसायीलाई आग्रह गरे ।
उनले शिक्षकहरुले विभिन्न माग राखेर आन्दोलन गरेपनि अधिकांश मागहरु सरकारले पूरा गर्नै नसक्ने खालका भएको बताए ।कार्यक्रममा बोल्दै तिलोत्तमा व्यापार संघका संस्थापक अध्यक्ष एवं चेम्बर अफ कमर्श लुम्बिनीका उपाध्यक्ष जेपी कंडेलले सरकारको आर्थिक नीति र नेपाल राष्ट्रबैंकले ल्याएको मौद्रिक नीति मेल नखाने खालको हुँदा त्यसको असर उद्योगी व्यवसायीमा पर्ने गरेको बताए ।
संघका आर्थिक सल्लाहकार नुमेन्द्र पौडेलले उद्योगहरुमा लोडसेडिङ हटेकाले उत्पादन बढेको र जसका कारण यसअघि वृद्धि भएको सिमेन्टको मूल्य पनि अहिले घटेको बताए । संघका अध्यक्ष नेत्रप्रसाद न्यौपानेले व्यावसायिक वातावरण बन्दै गएकाले निराश नभई आशावादी भएर अगाडि बढ्न उद्योगी व्यवसायीलाई आग्रह गरे । कार्यक्रममा संघका महासचिव चेतनारायण विश्वकर्मा ९विष्णु कालीराज० ले पनि आफ्नो धारणा राखेका थिए ।
प्रतिक्रिया