बुटवल । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल रूपन्देहीले शनिबार बुटवलमा एक कार्यक्रमको आयोजना गरी नयाँ वर्ष वि.सं २०८२ सालको शुभकामना आदान-प्रदान गरेको छ । बुटवल उपमहानगरपालिका–८ का वडाध्यक्ष यज्ञप्रसाद पंगेनी, प्रतिष्ठानका केन्द्रीय सल्लाहकार तथा रुपन्देहीका संरक्षक खेमबहादुर हमाल, केन्द्रीय सचिव सीता रानामगर, सल्लाहकार जयप्रकाश भट्टराई लगायतको उपस्थितीमा आयोजित कार्यक्रममा शुभकामना आदान प्रदान गरिएको हो ।
सोही अवसरमा बोल्दै वडाध्यक्ष पंगेनीले कला संस्कृति राष्ट्रको गहना भएको हुँदा यसको संरक्षणका निम्ति कलाकारहरु निःस्वार्थ भावनाका साथ निरन्तर लाग्नुपर्ने बताए । कलाकारहरुको अभियानमा स्थानीय सरकारले सघाउन तयार रहेको बताउँदै शुभकामना व्यक्त गरे । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान रूपन्देहीका अध्यक्ष विजय सापकोटाले संस्थागत विकाससँगै संस्थालाई बलियो बनाउनका लागि सबै कलाकार एकजुट हुनुपर्ने बताए । प्रतिष्ठानले विभिन्न समयमा रचनात्मक कामहरु गर्दै आएको उनले बताए ।
यस्तै कार्यक्रममा प्रतिष्ठानका केन्द्रीय सल्लाहकार तथा रुपन्देहीका संरक्षक खेमबहादुर हमाल, केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशका निवर्तमान अध्यक्ष डिल्लीनारायण पाण्डे, आजिवन सदस्य तथा प्रदेश सल्लाहकार टंकप्रसाद गैरे, पूर्व अध्यक्ष बिमलराज भट्टराईलगायतले बोल्दै नयाँ वर्षको शुभकामना व्यक्त गरे ।
संस्थाका प्रथम उपाध्यक्ष रितु थापाको स्वागत तथा सचिव विधान कार्कीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । सो अवसरमा संस्थाले प्रकाशन गरेको २०८२ सालको भित्तेपात्रो समेत विमोचन गरिएको थियो ।
प्रतिक्रिया