बुटवल । ट्रिनेटी युवा क्लब वालिङले बुटवलमा सम्पन्न प्रथम उपमेयर कप नकआउट महिला फुटबल प्रतियोगिताको उपाधि हात पारेको छ । शनिबार भएको उपाधि प्रतिस्पर्धामा ट्रिनेटी युवा क्लब वालिङले राईजिङ स्टार क्लब, कपिलवस्तुलाई १–० गोल अन्तरले पराजित गर्न सफल भएको हो ।
निकै प्रतिष्पर्धात्मक खेलमा ट्रिनेटी युवा क्लब वालिङकी जर्सी नम्बर २ की यशोदा शाहीले गरेको गोल नै निर्णायक गोल बन्न पुग्यो । एक शुन्य गोलले पछाडि परेको राईजिङ स्टारले दोस्रो हाफमा गोल गर्ने ३ वटा सुन्दर अवसर सदुपयोग गर्न सकेन । पहिलो हाफ गोल रहित बराबरीमा सकिएकोमा दोस्रो हाफको २२ औं मिनेटमा शाहीले टिमका लागि गोल गर्दै अग्रता दिलाएकि थिइन । फाइनल खेलको प्लेयर अफ द म्याच ट्रिनेटी क्लबकी स्कोरर यशोदा शाही भइन । उपाधि विजेता वालिङले सेमिफाइनलमा एमएससी भारतलाई र उपविजेता कपिलवस्तुले आयोजकलाई हराएको थियो ।
प्रतियोगिताको उपाधि विजेता टिम ट्रिनेटी युवा क्लब वालिङले नगद १ लाख रुपैया, कप, मेडल, प्रमाणपत्र प्राप्त गर्यो भने उपविजेता राईजिङ स्टार क्लब, कपिलवस्तुले नगद ५० हजार रुपैया, कप, मेडल, प्रमाणपत्र प्राप्त गर्यो । प्रतियोगितामा उत्कृष्ट खेलाडी ट्रिनेटी युवा क्लब वालिङकी जर्सी नम्बर १० की सिमरन राई भइन । उनले नगद २५ हजार तथा मेडल प्राप्त गरिन । यसैगरि उत्कृष्ट गोल किपर राइजिङ स्टार क्लब कपिलवस्तुकी सुनयना चौधरी, वेष्ट फरवार्ड ट्रिनेटी क्लब वालिङकी पूर्णिमा राई, वेष्ट डिफेन्ड राइजिङ स्टारकी धाना बोहोरा, उत्कृष्ट प्रशिक्षक टिनेटी युवा क्लबका दिलिप थापा घोषित भए । उनीहरुले जनही १० हजार नगद तथा कप प्राप्त गरे ।
विजेता तथा उपविजेता टिमलाई बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्यालले प्रदान गरिन् । नगर खेलकुद समितिका संयोजक वोनिन पिया, आयोजक विस पचहत्तर युवा परिवारका अध्यक्ष सुरेन्द्र थापा, सचिव दिपक गुरुङ, खेल संयोजक बुद्धिबहादुर दर्जी लगायतले पुरस्कार वितरण कार्यक्रममा सहभागी हुँदै बधाई ज्ञापन गरे ।
प्रतिक्रिया