ताजा अपडेट »

अर्घाखाँचीमा चट्याङ लागेर वृद्धको मृत्यु

विहीबार, २८ चैत्र २०८१, २१ : ०९
60 Shares
विहीबार, २८ चैत्र २०८१
60 Shares

अर्घाखाँची । जिल्लाको भूमिकास्थान नगरपालिकामा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । भूमिकास्थान–१० लिसेपानी बस्ने ७२ वर्षीय यमबहादुर घर्तीको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए ।  

बोल्न नसक्ने बेहोसी अवस्थामा रहेका घर्तीलाई उपचारका लागि अर्घाखाँची अस्पतालमा ल्याइएको थियो । अस्पताल पुगेलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका प्रनाउ मल्लले बताए ।  

घरमा अन्य परिवार सकुशल रहेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी जगन्नाथ मरासिनीले बताए । गएरातिको हावाहुरीले पाणिनि गाउँपालिका–६ धातिबाङमा १७ घर गोठका छाना उडाएको छ ।

वडाभरिमा ११ वटा घर र छ वटा गोठका छानो हुरीले उडाएको वडा अध्यक्ष कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । हुरीबाट भएको क्षतिको यकिन विवरण सङ्कलन भइरहेको उनले बताए।

सन्धिखर्क नगरपालिका–१० धरमपानीका कमल जिसीको कुखुराको खोर गएरातिको हुरीले भत्काई पूर्णरूपमा क्षति भएको छ । खोर भत्किएपछि करिब एक सय ५० वटा ब्वायलर कुखरा च्यापिएर मरेका छन् ।

हुरीसँगै परेको वर्षाका कारण शीतगङ्गा नगरपालिका–१२ देउराली बस्ने भीमबहादुर चित्रेको टिनले छाएको दुईतले कच्ची घरको छानो उडाएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । छानो उडाउनाका साथै घरको गारो पनि भत्किएको छ ।

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।