बुटवल । हङकङमा जारी चार देश सम्मिलित टि२० सिरिजको दोस्रो खेलमा कुवेतले नेपाललाई १ सय ८६ रनको बलियो लक्ष्य दिएको छ । टस जितेर पहिलो बलिङ रोजेको नेपालविरुद्ध कुवेतले २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ८५ रन बनायो । ओपनर रविजा सान्दारुवानले १५ बलमा २ चौका र १ छक्कासहित २६ रन जोड्दै आक्रामक सुरुवात दिलाए । उनी पाँचौ ओभरको पहिलो बलमा ललित नारायण राजवंशीबाट क्याच आउट भए । सुरुवाती विकेटका लागि ४३ रनको साझेदारी भएको थियो ।
अर्का ओपनर क्लिन्टो एन्टोले ३० बलमा ४ चौका र २ छक्कासहित ४१ रन जोडे । उनी दशौं ओभरमा आउट हुँदा कुवेत ९७(२ को सुदृढ अवस्थामा रहेको थियो । क्लिन्टोले मित भावसरसँग ५४ रनको साझेदारी गरेका थिए । मित १४ औं ओभरमा सोमपालको बलमा बोल्ड भए । उनले २८ बलमा ३५ रन जोडे । सोमपालले त्यसको २ बलपछि नै उस्मान पटेललाई १३ रनमा आफैं क्याच गर्दै पेभेलियन फर्काए । त्यसपछि क्रिजमा आएका बिलाल ताहिरले १३ बलमा १ चौका र ४ छक्कासहित ३२ रन जोड्दै कुवेतले खेलमा फर्काए । उनी १८ औं ओभरमा नन्दन यादवको शिकार बने । एक समय २ सय रनको आँकडा छुने देखिएको कुवेतले मध्य ओभरमा नेपाली स्पिनरविरुद्ध आक्रमण गर्न नसक्दा त्यसमा सफल भएन । नेपालको फिल्डीङ आजको खेलमा कमजोर रह्यो ।
नेपालका लागि सोमपालले ३, नन्दनले २ तथा ललित र कुशल भुर्तेलले १/१ विकेट लिए । सिरिजको पहिलो दिन नेपालले १ सय ५२ रनको लक्ष्य पछ्याउँदै कतारलाई ८ विकेटले पराजित गरेको थियो । कुवेतले हङकङविरुद्ध ४ विकेटको जित निकाल्ने क्रममा १ सय ७६ रनको लक्ष्य पछ्याएको थियो । लिगको शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् ।
प्रतिक्रिया