काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति रवि लामिछानेलाई प्रहरीले गरेको पक्राउबारे छानबिन गर्न माग गर्दै राष्ट्रिय मानव अधिकार आयोगमा निवेदन दर्ता गरेको छ । बुधवार पार्टीले काठमाडौंमा पत्रकार सम्मेलन गरी सभापति लामिछानेको पक्राउ गैर कानुनी र मानवअधिकारको गम्भीर उल्लङ्घन भएको भन्दै आयोगमा निवेदन दिएको जानकारी दिएको हो ।
कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले सभापति लामिछानेको पक्राउ अस्वाभाविक र राज्यको गैर कानुनी हर्कत भएको बताए । उनले बिना अनुमति हातहतियारसहित प्रहरीको ठुलो सङ्ख्या सभापति लामिछानेको शयन कक्षसम्म पुग्नु असभ्यताको पराकाष्ठा भएको बताए ।
लामिछानेले आफैँ गिरफ्तारी दिने बताए पनि प्रहरीले धरपकड र जबरजस्ती बल प्रयोग गरेको बताए । उनले प्रहरीले मृत्युदण्डको समयमा सोधिने अन्तिम इच्छा के छ जस्ता असामान्य र आपत्तिजनक प्रश्नहरू समेत गरेको बताए ।
बुर्लाकोटीका अनुसार पक्राउका लागि पुगेका प्रहरीको शैली र अभिव्यक्तिले रवि लामिछानेको जिउ ज्यान खतरामा रहेको देखिएकोले ध्यानाकर्षण पत्र बुझाउँदै आवश्यक कारबाही गर्न भनिएको छ।
‘राज्य संयन्त्रले मानव अधिकार हनन हुने गरी धरपकड गर्न खोज्यो । सामान्य प्रक्रिया पनि पूरा नगरी राज संयन्त्र रातारात लागेर सामान्य जीवनमा ठूलै हलचल ल्याउने गरी राज संयन्त्र उत्रियो। यसको घोर भर्त्सना गर्दछौँ,’ बुर्लाकोटीले भनेका छन।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको जिउ ज्यान खतरामा रहेको भन्दै मानवअधिकार आयोगमा ज्ञापन पत्र बुझाइएको छ। पार्टीको तर्फबाट आज बुधवार प्रमुख सचेतक सन्तोष परियार, पार्टीका सहमहामन्त्री कवीन्द्र बुर्लाकोटी, सांसद गणेश पराजुली सहितको टोलीले मानव अधिकार आयोगका अध्यक्षलाई भेटेर ध्यानार्षण पत्र बुझाएका हुन्।
प्रतिक्रिया