ताजा अपडेट »

पाणिनिको तपोभूमिलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड

बुधबार, २७ चैत्र २०८१, १७ : ५९
22 Shares
बुधबार, २७ चैत्र २०८१
22 Shares

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्राचीन ज्ञानको संरक्षण र लुम्बिनी प्रदेशको पर्यटन विकासलाई अघि बढाउनुपर्नेमा जोड दिएका छन् । 

मुख्यमन्त्री आचार्यले आजदेखि सुरु भएको पाणिनि तपोभूमि सम्मेलनको उद्घाटन गर्दै महर्षि पाणिनि र पतञ्जलीको योगदानलाई सम्मान गर्दै उनिहरूको तपोभूमिको गौरवलाई विश्वसामु उजागर गर्नु यस सम्मेलनको प्रमुख उद्देश्य भएको स्पष्ट पारे । सम्मेलनको आज प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन् ।

“पाणिनिको तपोभूमिलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न उत्खनन्, संरक्षण र अन्तरराष्ट्रिय प्रचारमा प्रदेश सरकारले विशेष जोड दिएको छ”, मुख्यमन्त्री आचार्यले भने, “यी प्रयासले रोजगारी सिर्जना, आर्थिक समृद्धि र सांस्कृतिक जागरणको आधार तयार गर्नेछन् ।”

उनले समुद्र सतहदेखि छ हजार सात सय ७३ फिट उचाइमा अवस्थित पाणिनि क्षेत्रलाई महर्षि पाणिनिको तपोभूमिका रुपमा उल्लेख गर्दै यस क्षेत्रको ऐतिहासिक, धार्मिक र प्राज्ञिक महत्वबारे प्रकाश पारे । उनले लुम्बिनी प्रदेशलाई प्राचीन सभ्यता, संस्कृति र ज्ञानको सङ्गमस्थलको रुपमा चित्रण गर्दै यहाँका पर्यटकीय गन्तव्यलाई समेटेर पर्यटन प्रवर्द्धनमा सरकार अघि बढेको जानकारी दिए ।

सम्मेलनमा प्राज्ञिक क्षेत्रका प्रतिनिधि, अनुसन्धानकर्ता र सहभागी छन् । मुख्यमन्त्री आचार्यले पाणिनि र पतञ्जलीको योगदानलाई विश्वव्यापी सम्मान दिलाउन संयुक्त प्रयास आवश्यक रहेको उल्लेख गरे ।

प्रदेश सरकारका उद्योग, पर्यटन तथा यातायातमन्त्री प्रचण्ड विक्रम न्यौपानेले  नेपालको आर्थिक समृद्धिको आधार पर्यटन क्षेत्रको योजनाबद्ध विकास गर्न प्रदेश सरकार र सङ्घीय सरकारबीच समन्वय र सहकार्य जरुरी रहेको बताए ।

उनले पर्यटन क्षेत्रको विकास र मुलुकको आर्थिक समृद्धिका लागि छिमेकी देश चीन र भारतबाट पर्यटक भित्र्याउने गरी योजना बनाउनुपर्नेमा जोड दिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।