लुम्बिनी प्रदेश, रुपन्देही जिल्ला प्रसस्त आधार र सम्भावना भएको जिल्ला हो । पश्चिम नेपालको औद्योगिक एवम् व्यापारिक केन्द्र रुपन्देही जिल्लालाई केन्द्र बनाएर कृषि, पर्यटन र औद्योगिक बिकास गर्न सकिने प्रसस्त आधार र सम्भावना छन् । लुम्बिनी क्षेत्रको मात्र बिकास गर्न सके धेरै युवालाई रोजगार दिँदै राम्रो आम्दानी लिन सकिन्छ । तर यसका लागि एकातिर सरकारले स्पष्ट योजना बनाउन आवश्यक छ भने अर्कोतिर हामीमा नैतिकता र ईमान्दारिताको पनि उत्तिकै खाँचो पर्दछ । बिकास निर्माणको काममा राजनैतिक अस्थिरताको अन्त्य र दलहरु बीच एकताको खाँचो त त्यत्तिकै हुन्छ नै ।
भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनी रुपन्देही जिल्लामा हुनु, भैरहवामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण, भैरहवामै विशेष आर्थिक क्षेत्र (सेज) को स्थापना, बुटवल भैरहवा सिक्सलेन सडकको निर्माण, बुद्धसर्किट सडक निर्माण, बुटवलमा अन्तर्राष्ट्रिय स्तरको सभाहल तथा दुई वटा केवल कार निर्माण जस्ता कार्यले पनि यस क्षेत्रको पर्यटन र आर्थिक सम्भावनाको बाटो देखाएको छ भने उद्योगी ब्यवसायी, लगानीकर्ता र सर्वसाधारणमा आशा जगाएको छ ।
अझ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणले लुम्बिनी क्षेत्रको मात्र बिकास नभई मुलुकलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने भएकोले राष्ट्रकै आर्थिक बिकासको मेरुदण्डको रुपमा हेरिएको छ । यसले यहाँका उत्पादनलाई अन्तर्राष्ट्रियस्तरमा पहिचान गराउन पनि महत्वपूर्ण भूमिका खेल्ने मात्र होईन धेरै पेशा व्यवसायलाई चलायमान बनाउँदै थुप्रैलाई रोजगारको अवसर दिने सम्भावना देखिन्छ ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षेमतामा संञ्चालन गनुपर्ने माग उठिरहँदा अहिले उडान गर्दै आएका चार अन्तार्राष्ट्रिय विमान कम्पनीहरुले समेत उडान स्थगित गर्न थालेपछि होटल र पर्यटन व्यवसायमा अरवौं, अरव लगानी गरेका यस क्षेत्रका उद्योगि व्यवसायमा निराशा छाएको छ ।
अहिले उडान गर्दै आएका थाई एयर एसिया, जजिरा फ्लाइ दुबई र कतार एयरवेजले चैत १८ गतेदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमान स्थलमा उडान स्थगित गरेपछि यहाँको नियमित उडानको चुनौती थपिएको हो । जाडो याममा हुस्सु तथा कुहीरोको बहाना देखाउँदै उडान गर्न नचाहेका विमान कम्पनीहरुले यात्रुको संख्या बढिरहेका बेला ग्रीष्मकालिन मौसममा समेत भैरहवाको उडान स्थगित हुनु रहस्यमय भएको छ ।
मौसममा सुधार आएपछि र हुस्सु तथा तुवालो लागेको समयमा समेत सुरक्षीत अवतरण गराउन सकिने स्याटेलाईटमा आधारित आरएनपी एअर प्रणाली लागु गरेपछि माघको दोस्रो सातादेखि पुन उडान सुरु गरेका थिए । तर अहिले चार वटै बिमान कम्पनीहरुले भैरहवाको उडान स्थगित गरि काठमाडौं केन्द्रीत हुन लागेका छन् । यसले गर्दा पर्यटन क्षेत्रमा सम्भावना देखेर होटल तथा पर्यटन ब्यवसायमा लगानी गरेका उद्योगी व्यवसायी थप निरास बनाएको छ । अहिले उडान रोकिएसँगै जनस्तरमा आक्रोश समेत बढ्दै गएको छ । विमान सुचारु गराउन सिद्धार्थ संजाल रुपन्देही लगायत बिभिन्न संघ सस्थाले दवाव स्वरुप बिभिन्न कार्यक्रम आयोजना गर्दै आएपनि सरकार र सरोकारवाला निकाएको कानमा बतास लागेको छैन ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा गौतमबुद्ध अन्तर्राष्ट्रि विमानस्थल नियमित हुन्छ भन्नु, सँस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्री बद्री पाण्डे तथा अर्थमन्त्री बिष्णु प्रसाद पौडेलले भैरहवा, बुटवल क्षेत्रमा आयोजित कार्यक्रममा पटक–पटक यहाँको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित रुपमा संञ्चालनहुने बताउँदै आएको बेला चारवटै विमान कम्पनीले उडान स्थगित हुनु थप आसंकाको विषय बनेको छ । नेताहरुको बोलिस्टण्ट कि बिचौलियाले उडान काठमाडांै मात्र केन्द्रित गरे प्रश्न उब्जिएको छ ? चैत १८ गते सोमबार देखि थाइएयर एसिया, जजिरा एयरवेज, फ्लाई दुबइ र कतार एयरवेजले उडान स्थगित गरेको छ । नयाँ सेड्यूल नै नलिएपछि अहिलेलाई उडान रोकिएको विमान स्थलले जनाएको छ । अव उद्योगि व्यवसायी, स्थानियवासी को संग हारगुहार गर्न गएर के होला ?
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका सुचनाअधिकारी निर्देशक श्याम किशोर साहका अनुसार विमान कम्पनीहरुले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्न यस अघि लिएको अनुमति यहि मार्च ३१ अर्थात चैत १८ सकिएको छ । पुनः अनुमति लिन पर्ने हुन्छ । तर उडान अनुमती लिएका छैनन् । बिमान कम्पनिहरुले पर्याप्त यात्रु नभएको बताइ रहदा पछिल्लो समय गौतमबुद्ध अन्तराष्ट्रिय बिमानस्थलको तथ्याङकले भने यात्रुहरुको संख्या बुद्धि हुदै गएको देखाएको छ । तर एकाएक अन्तराष्ट्रिय उडान रोकिदा के कति कारणले उडान रोकियो भन्ने कुरा गौण रहेकोले आसंका उब्जीयको छ ।
१५ सय मिटरको धावन मार्गमा संचालन भईरहेको सिद्धार्थ गौतमबुद्ध विमानस्थललाई स्तरोन्नती गरी ३ हजार मिटरको धावन मार्ग सहित अन्तर्राष्ट्रिय स्तरको विमानस्थल बनाइएको छ । यो विमान स्थलको स्तरोन्नति पश्चात काठमाडौं आउने अन्र्तराष्ट्रिय उडानका जहाज यहाँ अवतरण गर्ने विकल्प तयार भएको हो ।
यो विमानस्थलले लुम्बिनी क्षेत्रको मात्र विकास नभएर मुलुकलाई अन्तराष्ट्रिय स्तरमा समेत चिनाएको छ । यसको निर्माणले सिंगो लुम्बिनी प्रदेशको रुपन्देही, पाल्पा, गुल्मी, नवलपरासी, कपिलवस्तु, अर्घाखाँची लगाएत जिल्लाको विकासमा प्रत्यक्ष टेवा पुग्ने स्थानिय उद्योगी व्यवसायी, बुद्धिजीवी सर्वसाधारणको बुझाई छ ।
यो विमानस्थल निर्माणसँगै भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनीसँग विश्वका विभिन्न शहरहरु जोडिने भएकाले लुम्बिनीमा धार्मिक पर्यटनको ढोका खुल्ने स्थानीय बुद्धिजीविहरु बताउँछन् ।
राज्यले नचिनेको लुम्बिनी :
गौतम बुद्धको जन्मस्थल, पवित्र शान्तिभूमी लुम्बिनी अन्तर्राष्ट्रिय तीर्थस्थल र पर्यटकीय क्षेत्रको रुपमा परिचित हुँदै आएको छ । यहाँ पर्यटकको आर्कषण बढ्दै गएकोले आन्तरिक तथा बाह्य पर्यटकहरु आउने क्रम पनि बढ्दो छ । शाक्य वंशको राजधानी, शान्ति, अहिंसा र सत्य जस्ता सबैको प्रेरणाको स्रोत बनाई राख्न यस क्षेत्रलाई विदेशीले समेत पवित्र दिलले तन, मन र धन दिएर सहयोग गरिरहेका छन् । लुम्बिनी जति शान्त र सुन्दर छ यहाँको वातावरण भने अझ पनि त्यति व्यवस्थित हुन सकेको छैन ।
लुम्बिनी गुरुयोजनाका महत्वपूर्ण केही संरचना बन्न बाँकी नै भएकोले वरिपरिको वातावरण प्रदुषित देखिन्छ । अनि निमार्ण गरिएका कतिपय संरचना पुनः निमार्ण गर्नुपर्ने अवस्थामा पुगिसकेका छन् । यर्थाथमा यो अन्तर्राष्ट्रिय महत्व राख्ने लुम्बिनीको विकासमा सरकारको कम चासो गएको देखिन्छ । लुम्बिनी विकास कोषमा राजनीतिक खिचातानीका कारण बेलाबेलामा बिभिन्न समस्याहरु समेत उत्पन्न हुने गरेको धेरैलाई अवगत नै छ । नयाँ पधाधिकारीले पनि आशा गरिए अनुसार कामको गति दिन सकेको देखिदैन ।
वास्तवमा लुम्बिनी बिकास कोषमा लामो समयदेखि चरम राजनीतिकरण छ । सरकार फेरबदल, मन्त्री नियुक्तीपिच्छे यहाँको काम प्रभावित हुने गरेको पाईन्छ । जसका कारण नै यहाँको कामको ठेक्कापट्टा, कर्मचारी भर्ना लगायतका काम चुस्त दुरुस्त हुन नसकेको स्थानीयले बताउँदै आएको पाईन्छ ।
लुम्बिनीमा अन्तर्राष्ट्रिय शान्ति सम्मेलन लगायत बिभिन्न महत्वपूर्ण कार्यक्रमहरु पनि हुँदै आएको छ । यद्यपी विश्व सम्पदा सूचीमा सूचिकृत यस क्षेत्रमा निर्माण भएका कतिपय संरचना मापदण्ड विपरित निर्माण भएकोले यसबारे प्रश्न उठिरहेको छ । जुन विषयमा सरोकारवाला निकाय र स्वयम नयाँ टिमको ध्यान जान सकेको छैन ।
कोरोनाकालमा अस्तव्यस्त बनेको लुम्बिनीमा पछिल्लो समय आन्तरीक र बाह्य पर्यटककहरुको आगमनले केही गति लिन थालेको छ । तर विदेशी पर्यटकको आगमन आशा गरिएअनुसार बढ्न सकेको छैन । आजभन्दा ४५ वर्ष अगाडि लुम्बिनीको समग्र विकासको लागि ल्याइएको जापानिज वस्तुकला विद केन्जो टाँगेले ल्याएको लुम्बिनी गुरुयोजनाको काम अझ पनि पूरा हुन सकेको छैन । यो भन्दा लाजमर्दो के हुन सक्छ ? सम्भावना बोकेको लुम्बिनीको बिकासको यो कछुवा गतिलाई के भन्ने ?
हुन त लुम्बिनी विकासका लागि विभिन्न तह तप्का, संघ सस्था र निकायहरुबाट नगद तथा जिन्सी सहयोग तथा आर्थिक कोषहरु प्राप्त नभएको होईन । समयको मागसँगै आवश्यक संरचनाहरु केही मात्रामा निमार्ण भईरहेका पनि छन् । लुम्बिनी गुरुयोजनाको अलवा फेरी लुम्बिनीलाई विश्व शान्ति शहर बनाउने गुरु योजना पनि अगाडि ल्याईएको छ । यद्यपी अझ पनि पर्यटकहरुका लागि आवश्यक पूर्वाधारहरु निर्माण हुन बाँकी नै छ । लुम्बिनी पुग्नेहरुले एउटा राम्रो टुरिष्ट गाईड समेत फेला पार्न सक्दैन । कामको हिसाबले गुरुयोजनाको काम अझै करिव २० प्रतिशत जति बाँकी छ । जुन काम गर्न अझै धेरै बजेट लाग्ने अनुमान गरेको पाईन्छ भने हालसम्म करिव साढे ६ अर्व जति रकम खर्च भइसकेको बताईन्छ । हुन त सरकारले लुम्बिनी विकास कोषलाई राजनीतिबाट टाढा राख्न नसकेका कारण पनि यहाँको विकासमा आसातित उपलब्धि हासिल हुन नसकेको हो ।
लुम्बिनीको बिकासको लागि सरकारले प्रचार–प्रसार र प्रवर्द्धनको लागि विशेष जोड दिँदै यहाँ आउने थाई, श्रीलंका, म्यानमार, चीन लगायतका विदेशी पर्यटकको बसाई लम्ब्याउन सक्ने वातावरण दिन सके लुम्बिनी आसपासको क्षेत्रको पनि राम्रो बिकास हुन सक्ने सम्भावना देखिन्छ । भारत हुँदै यहाँ आउने अधिकांश पर्यटकहरु भारतीय ट्राभल एजेन्सी र उनीहरुकै प्याकेज अन्तरगत आउने हुँदा उनीहरुको नेपाल बसाई अति छोटो भईरहेको छ । अन्तर्रााष्ट्रिय महत्व राख्ने लुम्बिनीका लागि सरकारले उच्च प्राथमिकता दिएर आवश्यक बजेटको व्यवस्था गरी बाँकी रहेका विद्युतिकरण, टेलिफोन जडान, सरसफाई, सजावट तथा निमार्ण भएका हल लगायत संरचनाको सरक्षणको काम राम्रो गर्न चासो दिन जरुरी छ ।
विश्व शान्तिका अग्रदुत भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीको योजनाबद्ध बिकासका विश्व विख्यात वास्तुकला विद केञ्जो टाँगेले लुम्बिनी गुरुयोजना सन् १९७२ मा सुरु गरी १९७८ मा तयार पारी काम शुरु भएको थियो । यद्यपी यो गुरुयोजना आफैमा महत्वकांक्षि भएकाले पनि अहिलेसम्म पनि योजनाले मुर्त रुप लिन सकेको छैन । यस्तो महत्वपूर्ण अन्तर्राष्ट्रिय चासो पाएको पवित्र भूमि लुम्बिनीको बिकास कछुवा गतिमा हुनु सोभनीय हैन । हुन त पछिल्लो समय बुद्धसँग सम्बन्धित कपिलवस्तुको तिलौराकोट, रुपन्देहीको भवानिपुर, देवदह, नवलपरासीको रामग्रामलाई बुद्ध सर्किटको रुपमा बिकास गरिँदै छ ।
वार्षिक रुपमा यहाँ लाखौंको संख्यामा स्वदेशी, विदेशी आउँछन् । तसर्थ यहाँ पर्यटकहरुका लागि आवश्यक पूर्वाधार जति सक्दो छिट्टो निमार्ण गर्न सक्ने हो भने पर्यटन व्यवसायबाट नै ठूलो आम्दानी लिन सक्छ । त्यसका लागि यहाँका प्राचिन स्मारक, अवशेष, पुरातात्विक वस्तु, अशोक स्तम्भ, मायादेवी मन्दिर, विभिन्न शिलापत्र, संग्राहलय, पोखरी, बिहार, गुम्बा, प्राथना क्षेत्र, शान्ति स्तुप, शान्ति दिप, शान्ति घण्ट लगायतले गर्दा लुम्बिनीको महत्वलाई अझ बढाएको छ । यथार्थमा यो पवित्र भूमीको माटो प्रयोग गरि बुद्ध मूर्ति र यहाँका बिभिन्न संरचनाका कोसेली बनाएर बिक्रि गर्न सक्ने हो भनेपनि धेरैको रोजिरोटी चल्नुका साथै राम्रो आम्दानी गर्न सकिन्छ ।
साच्चै सरकारले पर्यटन बिकासको स्पष्ट योजना ल्याउन सक्ने हो भने यो क्षेत्रमा विदेशी बौद्धमार्गी र अन्य पर्यटकहरुको ओइरो नै लाग्न सक्छ । यसबाट लुम्बिनी प्रदेशको मात्र बिकास नभई समग्र देशको आर्थिक विकासमा समेत टेवा पुग्ने देखिन्छ । तसर्थ तीन तहका सरकारले लुम्बिनी गुरुयोजना पूरा गर्न तत्काल ध्यान दिन आवश्यक छ । यो क्षेत्र सबैको साझा फुलबारी हो । यस क्षेत्रको बिकास भयो भने लुम्बिनीले मुलुककै आर्थिक, धार्मिक, कृषि र पर्यटन बिकासमा निकै महत्व पुर्याउने आशा गर्न सकिन्छ ।
प्रतिक्रिया