ताजा अपडेट »

खेलाडी अक्षयकोषमा ३१ बढी लाख बढी सङ्कलन

बुधबार, २७ चैत्र २०८१, ११ : १६
28 Shares
बुधबार, २७ चैत्र २०८१
28 Shares

कास्की । अग्रज खेलाडीहरूको संस्था नेपाल भूतपूर्व खेलाडी मञ्च पोखराले स्थानीय तहबाट प्रतिभावान खेलाडी उत्पादन गर्ने उद्देश्यले सुरु गरेको खेलाडी अक्षयकोषमा हालसम्म रु ३१ लाख ५४ हजार २५६ सङ्कलन भएको छ ।

मञ्चले पोखरा म्याराथनको प्रवर्द्धन, मासिक तथा साप्ताहिक दौड प्रतियोगिता सञ्चालन र गाउँगाउँमा लुकेर रहेका खेलाडीको पहिचान गरी प्रतिभावान खेलाडी उत्पादन गर्ने उद्देश्यले गत माघदेखि कोष स्थापना अभियान सुरुआत भएको हो । 

अक्षयकोषमा देश तथा विदेशमा छरिएर रहेका मञ्चका आजीवन सदस्य र दिवङ्गत आजीवन सदस्यका परिवारहरूबाट आफ्ना स्वजनको स्मृतिमा रकम प्रदान गर्ने गरिएको मञ्चका अध्यक्ष दिलबहादुर गुरुङले बताए ।

उनका अनुसार मञ्चले यसै वर्ष अक्षयकोषमा रु दुई करोडको पुर्‍याउने योजना बनाएको छ । अध्यक्ष गुरुङले भने, “यो अक्षयकोष केवल रकम सङ्कलनका लागि मात्र होइन, यसमा एथलेटिक्स खेलको विकासका लागि युवा खेलाडी उत्पादनसँगै मञ्चले सुरु गरेको साप्ताहिकरमासिक दौड र पोखरा अन्तरराष्ट्रिय म्याराथनका लागि हो ।”

यसैगरी गत फागुन ३ गते पोखरामा सम्पन्न भएको १९औँ संस्करणको पोखरा अन्तरराष्ट्रिय म्याराथनमा रु १२ लाख २९ हजार ५११ बचत भएको छ । मञ्चका कोषाध्यक्ष हरिबहादुर बरुवालले आम्दानी रु ९३ लाख ७० हजार ६८९ तथा खर्च रु ८१ लाख ४१ हजार १७७ भएको जानकारी दिए । 

पोखरा अन्तरराष्ट्रिय म्याराथनमा बचत भएको सो रकम हालसम्मकै सर्वाधिक हो । कुनै बेला आर्थिक अभावका कारणका तीन–तीनपटक स्थगन पोखरा म्याराथनले कोभिडपछिका तीन वर्ष घाटासमेत व्यहोरेको जनाइएको छ ।

यसैगरी २०औँ सस्कणको पोखरा अन्तरराष्ट्रिय म्याराथन आगामी फागुन २ गते आयोजना हुने मञ्चले जानकारी दिएको छ । मञ्चले २०औँ सस्करणको लागि खेलाडी दर्ता प्रक्रिया सुरु गरेको जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।