ताजा अपडेट »

वनमा डढेलो लगाउनेलाई कानुनी दायरामा ल्याउन मुख्यमन्त्रीको निर्देशन

मंगलबार, २६ चैत्र २०८१, १७ : ४३
72 Shares
मंगलबार, २६ चैत्र २०८१
72 Shares

दाङ । लुम्बिनी प्रदेश सरकारले बढ्दै गएका वन डढेलोका घटनालाई गम्भीर रूपमा लिँदै डढेलो लगाउने व्यक्तिहरूको पहिचान गरी कानुनी दायरामा ल्याउन निर्देशन जारी गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले डढेलो लगाउने घटनामा संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउन निर्देशन दिएका हुन् ।

१२ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाइ आन्तरिक मामिला तथा कानून मन्त्रालय मार्फत परिपत्र गर्दै डढेलोको घटना बढ्दै जाँदा मानव बस्तिमा आगलागीको जोखिम बढेकाले डढेलो लगाउने व्यक्तिहरुलाइ कानूनी दायरामा ल्याउन निर्देशन दिएका छन् ।प्रदेशका विभिन्न जिल्लाहरूमा लगातार डढेलो तथा गहुँबालिमा आगलागीका घटना बढिरहेका छन् । डढेलो तथा  आगलागी हुँदा जनधन, वनस्पती, वन्यजन्तु र वातावरणमा ठूलो असर परेको छ । लुम्बिनी प्रदेशका प्रमुख सचिव बाबूराम अधिकारीले जानीजानी आगलागीको घटनामा संलग्न व्यक्तिहरुको पहिचान गरेर कानूनी दायरामा ल्याउन निर्देशन दिइएको जानकारी दिए ।

यस वर्ष चैत १ गतेदेखि २५ गते सम्मको अवधिमा १२ वटा जिल्लामा  आगलागीका १२९ वटा घटना घटेका छन् । यो अवधिमा आगलागीमा परेर १ जनाको मृत्यु भएको र १३ जना घाइते भएको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ ।

डढेलो नियन्त्रणका लागि निगरानी, जनचेतना र तत्काल प्रतिकार्य योजना प्रभावकारी बनाउन निर्देशन जारी गरिएको हो ।  प्रदेश आपतकालिन कार्यसञ्चालन केन्द्रलाई अझ सशक्त बनाउँदै समन्वय, सूचना व्यवस्थापन र प्रतिकार्यमा जोड दिइएको छ । वन डढेलो तथा आगलागीको घटना नियन्त्रण र सम्भावित क्षती न्यूनिकरणका लागि भरपर्दो पूर्व तयारी गर्न अनुरोध गरिएको हो । वन ऐन, २०७६ अनुसार राष्ट्रिय वनमा आगजनी गरेमा त्यसबाट भएको सम्पूर्ण क्षतिको विगो असुल गर्नुका साथै ३ वर्षसम्म कैद वा ६० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था गरिएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।