विराटनगर । सुनसरीमा एक महिलाको शव फेला गरेको छ। धरान उपमहानगर वडा नम्बर–६ स्थित पाँचकन्या सामुदायिक वन क्षेत्रमा महिलाको शव फेला परेको हो । स्थानीयले गोठालो गएका बेला लसुनेको रुखमुनि महिलाको शव फेला पारेका हुन्।
अर्धनग्न अवस्थामा महिलाको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। महिलाको हत्या भएको हुन सक्ने प्रहरीको आशङ्का छ। करिब ३० वर्ष जतिकी महिलाको शवको सनाखत हुन नसकेको सुनसरीका प्रहरी प्रमुख एसपी सुमनकुमार लिमल्सिनाले जानकारी दिए। ‘घटनाको बारेमा अनुसन्धान सुरु गरेका छौँ,’ एसपी तिमल्सिनाले भने, शव भेटिएको स्थानमा फरेन्सिक टोलीसहित तालिम प्राप्त कुकुर प्रयोग गरेर अनुसन्धान अगाडि बढाइएको छ।’
शवको अवस्था र घटनास्थलको प्रारम्भिक अवलोकनका आधारमा महिलाको घाँटी कसेर हत्या गरिएको आशङ्का प्रहरीले गरेको छ। एसपी तिमल्सिनाका अनुसार हत्या पछि शवलाई लसुनेको रुखमुनि अड्याएर छाडिएको देखिएको छ। प्रहरीले घटनाको प्रकृति अत्यन्तै गम्भीर र शङ्कास्पद रहेको जनाएको छ। प्रहरीले शव पोस्टमार्टमका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ। ती महिलाको पहिचानको प्रयास भइरहेको प्रहरीको भनाई छ।
प्रतिक्रिया