ताजा अपडेट »

गर्मी बढेसँगै सुरू हुने वन्यजन्तु र मानिस बीचको द्वन्द्व

आइतबार, २४ चैत्र २०८१, ०८ : २८
28 Shares
आइतबार, २४ चैत्र २०८१
28 Shares

प्रकाश रेग्मी

यस धर्तीमा रहेका सबै जीवजन्तुहरू प्रकृतिको सुन्दर सिर्जना हुन्। सबैले यस धर्तीमा रहने अधिकार राख्दछन्। सन्तुलित पारिस्थितिक प्रणाली कायम राख्न पनि जीवजन्तुलगायत सबै वनस्पतीहरूको सन्तुलित संरक्षण र सम्बर्द्धन हुनु जरुरी छ। यसका लागि यस धर्तीमा रहेका सबै जीवजन्तुमध्ये मानिस नै सर्वोत्तम् चेतनशील प्राणी हुनुको नाताले उसैले यसको संरक्षण र सम्बर्द्धन गर्नुपर्ने कुरामा दुई मत हुन सक्दैन।   

यस स्तम्भका लागि मैले विभिन्न अनलाइन पोर्टलहरूमा प्राप्त हुन सक्ने रिपोर्ट, अन्य प्रकाशित लेखहरू र नेपाल सरकारको गृह मन्त्रालयले आफ्नो डिआरआर पोर्टलमा संग्रहित गरी सर्वसाधारणको लागि इन्टर्नेटमार्फत् उपलब्ध गराएको सन् २०१८ देखि सन् २०२४ सम्मको संग्रहित तथ्याङ्कहरूलाई आधार बनाएको छु।

वजन्तुको कुरा गर्दा वन क्षेत्रको र जंगली जानवरको कुरा आउने नै भयो। यस समन्धमा विभिन्न स्रोतका अनुसार फरक-फरक तथ्याङ्कहरू पाइन्छन्। हालै नासाद्वारा वित्त पोषित अनुसन्धानले सामुदायिक वनको व्यवस्थापन सुधार भएर नेपालको वनको क्षेत्रफल बढी  देशको कुल क्षेत्रफलको ४५ प्रतिशत पुगेको भनेको छ। त्यस्तै, नेपालको राष्ट्रिय भू-आवरण अनुगमन प्रणाली सन् २०२२ ले नेपालको कुल भू-क्षेत्रफलको ४६.०८ प्रतिशत ओगटेको जनाएको छ। जबकि, संसारको कुल भू-भागको ३१.१ प्रतिशत भू-भाग वनले ओगटेको मानिन्छ। 

समुद्री सतहदेखि मापन गरिने पृथ्वीको सतहको उचाइमा रहेको विद्यमान अति विविधता हुनाको कारण नेपाल हावापानी, वनस्पति र जैविक  विविधतामा अत्यन्त धनी छ। नेपालमा झन्डै १७५ जातका जनावर रहेको मानिन्छ र ती सबै जातका जनावरहरू लगभग १७ हजार भन्दाबढी संख्यामा रहेको अनुमान गरिन्छ। देशको कुल क्षेत्रफल १ लाख ४७ हजार ५१६ वर्ग किलोमिटरको ४६ प्रतिशतले जम्मा ६७ हजार ८५७ वर्ग किलोमिटर वन क्षेत्र हुँदा प्रतिवर्ग किलोमिटर वनको क्षेत्रफलमा २५ जंगली जनावरहरू रहेको देखिन्छ। 

पृथ्वीमा रहेका सबै जीवजन्तु र वनस्पतिबीच एक प्रकारको अन्तर-सम्बन्ध रहेको हुन्छ भनिन्छ। त्यसैले, सबैको उचित र सन्तुलित संरक्षण र सम्बर्द्धन हुनु जरुरी छ। बितेका केही वर्षदेखि नेपालमा  वन्यजन्तु र मानिसबीच द्वन्द्व बढ्दै जाँदा धनको साथै मानिसको मृत्युको संख्यामा उल्लेख्य संख्यामा वृद्धि भएको पाइन्छ। सन् २०१८ देखि २०२४ सम्ममा जम्मा १४५३ घटनाहरू रेकर्ड गरिएका छन् र ती सबै घटनाबाट जम्मा २१२ जना मानव मृत्यु भएका छन्।

वन्यजन्तु र मानिसको द्वन्द्वको कारण

१. बढ्दो जनसंख्याको वृद्धिसँगै मानिसको वन क्षेत्रभित्र अतिक्रमणको कारण  वन्यजन्तु र मानिसको द्वन्द्व कारणहरूमध्ये सबैभन्दा बढी मात्रामा वर्णन गरिन्छ।  मानवीय आवश्यकताका साथै उसको चाहनाहरू बढ्दै जाँदा, मानिसले वन क्षेत्रभित्रका स्रोतहरूको अत्यधिक उपयोग गर्ने गरेका कारण मानिस र वन्यजन्तुबीच द्वन्द्व बढेको  छ।

२. जलवायु परिवर्तन र अन्य कारणले गर्दा वन क्षेत्रभित्र आएको जैविक विविधताको विनासले गर्दा वन्यजन्तुको आहारामा भएको कमीको कारण वन्यजन्तु आफ्नो आहाराको खोजीमा वन क्षेत्रभन्दा बाहिर जाँदा मानिससँग जम्काभेट हुने र द्वन्द्व बढ्ने सम्भावना हुन्छ।

३. नेपालमा हिउँदमा हुने लामो समयको सुख्खाले गर्दा गर्मी बढेलगत्तै हरियालीको मात्रा कम हुने, प्राणी जगतलाई अत्यावश्यक पानीको स्रोत कम हुँदै जाने, आगलागी हुनेजस्ता कारणले गर्दा वन्यजन्तु आफ्नो सुरक्षाको लागि सुरक्षित ठाउँ खोज्दै जाँदा बफर क्षेत्रमा बसोबास गर्ने मानिसबीच जम्काभेट हुने सम्भावनाले द्वन्द्व सिर्जना हुन्छ। 

४. नेपालमा मनसुनको समयपछि वनको संघनतामा हुने वृद्धिले बफर क्षेत्रमा टाडासम्म देख्न नसकिने अवस्थाको सिर्जना हुँदा मानिस र जंगली जानवरबीच जम्काभेट हुने सम्भावना हुँदा पनि द्वन्द्व बढ्न सक्छ। 

नेपालमा धेरै जातिका जंगली जनावर भए पनि केही निश्चित जनावर र मानिसबीचको द्वन्द्वका घटनाहरू बारम्बार समचारहरूमा आउने गरेको पाइन्छ। तिनिहरू हात्ती, गैंडा, बाघ, चितुवा, भालु र बाँदर मुख्य रुपमा रहेका छन्। एक सानो नमूना अध्ययनको लागि चितवन राष्ट्रिय निकुञ्जभित्र रहेका मुख्य जनावर, तिनको संख्या र निकुञ्जले ओगटेको क्षेत्रफलको विवरण टेबलमा उतारिएको छ।

नेपालका पूर्वी तराईका जिल्लाहरूमा बढी मात्रामा वर्षेनी हात्ती आतंक हुने गरेको समाचारहरू आउने गर्दछन्। हिउँदका हात्ती गाउँमा प्रवेश गरी हिउँदे बाली नष्ट पार्ने, झुप्रा घरहरू भत्काउने, मान्छेलाई कुल्चेर मार्नेजस्ता आतंक मच्चाउने गर्छन्। जंगलको किनारमा रहेका मदिरा बनाउने गाउँतिर हात्ती प्रवेश गरेको समाचारहरू प्रशस्त आउने गर्दछन्। अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघले निश्चित जनावरको लागि निश्चित क्षेत्रफलको जंगल आवश्यक पर्ने बताएको छ।  प्रति हात्तीको लागि कम्तीमा पनि २०० वर्ग किलोमिटर जंगल भूमि आवश्यक पर्नेमा चितवन राष्ट्रिय निकुञ्जमा ४५ देखि ५० ओटा हात्ती जम्मा ९५२ वर्ग किलोमिटरमा रहेका छन्।

चितवन र बर्दियाका मध्यवर्ती क्षेत्रहरूमा बाघको आंतक बढी देखिन्छ। मे ९,२०२२ को काठमाडौं पोस्टको समाचारमा लेखिएको छ - विगत ११ महिनाको अवधिमा चितवनमा मात्र १२ जना मनिसको मृत्यु बाघको आक्रमणबाट भएको छ। प्रतिबाघको लागि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघले ५० वर्ग किलोमिटर वन भूमि हुनुपर्ने कुरा गर्छ। जबकि, चितवन राष्ट्रिय निकुञ्जले जम्मा ९५२ वर्ग किलोमीटर क्षेत्रफलको परिधिभित्र १२८ बाघ पालेर राखेको छ। 

हाल चितवन राष्ट्रिय निकुञ्जमा जम्मा ६९४ वटा गैंडाहरू रहेको तथ्याङ्क छ। यस वर्ष  प्रारम्भ भएकै दिन अर्थात् २०८१ वैशाख १ गते  चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक घुमाउन गएका नेचर गाइडको गैंडाको आक्रमणबाट मृत्यु भएको थियो। बिहान ११:५० बजे चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन केन्द्रदेखि पश्चिम क्षेत्रको मध्यवर्ती वन क्षेत्रमा पर्यटक घुमाउन लगेका गोरखा आरुघाट गाउँपालिका-८ पोखरी घर भई रत्ननगर नगरपालिका-६ सौराहा बस्ने ३२ वर्षीय सुवास रेग्मीलाई गैंडाले आक्रमण गरेको थियो।

गैंडाको आक्रमणबाट गम्भीर घाइते रेग्मीको उपचारको क्रममा चितवन मेडिकल कलेजमा दिउँसो १:३९ बजे मृत्यु भएको थियो। यसरी सन् २०२४ को कुल अवधिमा मात्र चितवन जिल्लामा कुल १२ जनामाथि गैंडाले आक्रमण गरेको र त्यसमध्ये ८ जनाको मृत्यु भएको तथ्याङ्क छ। तथ्याङ्कले यो पनि पुष्टि गर्दछ कि हामीले आफ्नो क्षमता भन्दाबढी संख्यामा वन्यजन्तुको पालन पोषण गरिरहेका छौं। पछिल्लो समयमा नेपालका पहाडी क्षेत्रहरूमा बाँदरको बिगबिगी बढेको छ। किसानले दु:ख गरेर फलाएका कृषि उत्पादनहरू ठूलो मात्रामा नोक्सान पुर्‍याइरहेका छन्। 

नेपालमा वन्यजन्तु घटनाहरूको स्थानीय वितरण

देशको सबै भागमा वन्यजन्तु प्रकोपका घटनाहरूको स्थानीय वितरण समान हिसाबले भएको पाइँदैन्। सन् २०१८ देखि सन् २०२४ सम्म सात वर्षको अवधिमा जम्मा १ हजार ४५३ वन्यजन्तु प्रकोपका घटना रेकर्ड भएका छन्। उक्त रेकर्डलाई नेपालको नक्सामा राखेर हेर्दा पूर्वी तराई, मध्य तराई र पश्चिम तराईका जिल्लाहरू बढी प्रकोपको जोखिममा रहेको देखिन्छ। पहाडी र हिमाली भेगमा घटनाहरू कम देखिन्छ।

ताप्लेजुङ, रोल्पा, रुकुम र डोल्पा जिल्लामा यस अवधिमा कुनै पनि घटना घटेको देखिँदैन भने झापा, बर्दिया, चितवन र मोरङजस्ता जिल्लाहरू वन्यजन्तुको अत्यधिक आक्रमणको सिकार भएको देखिन्छ। मानव मृत्युको हिसाबले चितवन जिल्लाले सबैभन्दा बढी सामना गरिरहेको छ। यस अवधिमा चितवन जिल्लाबाट मात्र ४५ जनाको मृत्यु भएकोमा, माडी क्षेत्रबाट १० जना रत्ननगर नगरपालिकाबाट १४ जना र भरतपुर महानगरबाट २० जनाको मृत्यु भएको देखिन्छ।

बर्दिया जिल्ला दोस्रो धेरै मानव मृत्यु हुने जिल्ला हो। यस जिल्लाबाट जम्मा ३७ जना र झापा जिल्लामा २६ जनाको वन्यजन्तुको आक्रमणबाट मृत्यु भएको छ। प्रभावित परिवारको हिसाबले सबैभन्दा धरै प्रभावित परिवार झापा (३४४), बर्दिया (२२७) र चितवन (१६६) रहेका छन्। त्यस्तै, घाइते मानव संख्याको हिसाबले चितवन (११३), बर्दिया (७७) र अछाम (५१) रहेको छ।

निष्कर्ष

जैविक विविधताको हिसाबले धनी देश नेपालमा धरै प्रजातिका जीवजन्तु रहेका छन्। जीव जगतको सबैभन्दा सर्वोच्च स्थानमा मानव जाति भएको नाताले सबै जीब-जीवात्माको समुचित संरक्षण र सम्बर्द्धन गर्नु मानव जातिको जिम्मेवारी हो र भावी पुस्ताको लागि वातावरण संरक्षणको कामहरू पनि देशका निकायहरूबाट हुँदै आएका छन्। संसारको कुल भू-भागको ३१ प्रतिशत वन भूमि रहेकोमा हामीसँग ४६ प्रतिशत वन भूमि हुँदासमेत बेला-बेला विकासका कार्य गर्दा केही रुख काट्नु पर्दा पनि कैयौं आन्दोलन र विकासका काममा ढिलाइ र खर्चमा बढोत्तरी हुने गरेको पाइन्छ। त्यस्तैगरी, जैविक विविधता जोगाउने नाममा आफ्नो क्षमता भन्दाबढी जंगली जनावरहरूको संरक्षण र सम्बर्द्धन गरिरहेका छौं। यसको प्रतिफलको स्वरुप संसारको जैविक विविधता सन्तुलनलाई सहयोग पुगिरहेको छ भने हामी आफूले आफ्ना नातागोता छर छिमेकी गुमाइरहेका छौं। यस्ता कुराहरूमा अब हामीले आफ्नो जिम्मेवारीको अनुपात किटान गरी आफ्नो क्षमतालाई विचार गरेर मात्रै वैदेशिक सहयोग स्वीकृति गर्नुपर्ने हो कि?

अमेरिकाले कुल वन भूमि र वन्यजन्तु संख्याको अनुपात मिलाउन सिकारीहरूलाई लाइसेन्स वितरण गरी ठूलो मात्रामा रोयल्टी संकलन गर्नुको साथै वन्यजन्तुबाट हुने मानवीय क्षतिलाई न्यूनीकरण गर्ने गरेको छ। वन्यजन्तुको जनसंख्या व्यवस्थापन गर्न सन् २०२२ मा मात्र अमेरिकामा ३ लाख ८४ हजार जंगली जनावरहरूलाई मार्न सिकारीहरूलाई अनुमति पत्र प्रदान गरेको तथ्याङ्कहरू विभिन्न अनलाइन पोर्टलहरूमा पाइन्छन्। 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।