ताजा अपडेट »

सभामुख घिमिरेसहित नेपाली प्रतिनिधिमण्डल उज्वेकिस्तान प्रस्थान

शुक्रबार, २२ चैत्र २०८१, १२ : ४७
36 Shares
शुक्रबार, २२ चैत्र २०८१
36 Shares

काठमाडौं । सभामुख देवराज घिमिरे अन्तरव्यवस्थापिका सङ्घको १५०औँ वार्षिकसभा तथा असंलग्न आन्दोलन संसदीय सञ्जालको चौथो शिखर सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज उज्वेकिस्तान प्रस्थान गरेका छन् ।
 
प्रतिनिधिमण्डलमा सांसद श्यामकुमार घिमिरे, अञ्जान शाक्य, सूर्यमान दोङ तामाङ, सोविता गौतम, सङ्घीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेय, प्रतिनिधिसभा सचिव हर्कराज राईलगायत सहभागी थिए ।
 
अन्तरव्यवस्थापिका सङ्घको वार्षिकसभा र असंलग्न सञ्जालको चौथो शिखर सम्मेलन यही चैत २३ देखि २७ गतेसम्म उज्वेकिस्तानको राजधानी ताश्केन्टमा हुँदैछ । सङ्घको सभामा सभामुख घिमिरेले ‘सामाजिक विकास र न्यायका लागि संसदीय कदमहरू’ विषयमा सम्बोधन गर्ने तथा सांसद घिमिरे र तामाङ सङ्घका स्थायी समितिको बैठकमा सहभागी हुने सङ्घीय संसद् सचिवालयले जनाएको छ ।
 
सांसद शाक्यले महिला सांसदको मञ्च र सांसद गौतमले युवा सांसदको मञ्चमा सहभागिता जनाउने तथा सांसद शाक्यले दिगो विकास स्थायी समितिमा एसिया–प्रशान्त क्षेत्रका तर्फबाट उम्मेदवारी पनि प्रस्तुत गर्ने कार्यक्रम छ ।
 
सभामुख घिमिरेले चैत २४ गते हुने संसदीय सञ्जालको चौथो शिखर सम्मेलनमा ‘बन्दुङ आत्माको ७० वर्षको सम्झनाः बन्दुङ सिद्धान्तको पालना गर्न संसद्को भूमिका’ विषयमा मन्तव्य दिने कार्यक्रम छ । त्यस क्रममा विभिन्न मुलुकका सभामुखहरूसँग ‘साइडलाइन’ भेटवार्ता पनि हुने सङ्घीय संसद् सचिवालयले जनाएको छ ।
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।