ताजा अपडेट »

शिक्षकहरूलाई बालेनकाे धन्यवाद्,  भने हामीले खोजेको जरिवाना होइन, यस्तै चेतना हो

बुधबार, २० चैत्र २०८१, २१ : ४५
356 Shares
बुधबार, २० चैत्र २०८१
356 Shares

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालन्द्र शाह (बालेन) ले शिक्षकहरूलाई धन्यवाद दिएका छन्।  बुधवार देखी राजधानी केन्द्रित रहेर आन्दोलन सुरु गरेका शिक्षकहरूले फोहोर नगरीकन कार्यक्रम गरेको भन्दै बालेनले आन्दोलनरत  शिक्षकहरूलाई धन्यवाद दिएका हुन्।

बालेनले काठमाडौँ महानगरले जरिवाना नभई चेतना खोजेको र त्यसमा शिक्षकको भूमिका अझ महत्त्वपूर्ण हुने उल्लेख गरेका छन्। उनले शिक्षकहरूलाई सम्बोधन गर्दै लेखेका छन्,' ‘प्रिय शिक्षकहरू, तपाईँहरूले आफ्नो आन्दोलन फोहोर नगरी, केही नभत्काई गरी दिनुभयो, धन्यवाद। हामीले जरिवाना खोजेको होइनौँ, चेतना खोजेको हो। सार्वजनिक सम्पत्ति पनि आफ्नै सम्पत्ति हो भनेर त्यसलाई जोगाउने चेतनशील समाजको निर्माण गर्न खोजेको हो। यही शिक्षा तपाईँले आफ्नो विद्यार्थीहरूलाई पनि दिनुहोला’ ।

उनले सामाजिक सञ्जालमा थप लेखेका छन्, ‘हामी सबै मिलेर चेतनशील समाजको निर्माण गरौँ। तपाईँहरू त झन् शिक्षक हुनुहुन्छ, तपाइहरूको त झन् ठुलो जिम्मेवारी र भूमिका छ यसमा।’  आफ्नो कुरा राख्नलाई चेतनशील भएर विद्यार्थीहरूको पढाइ नबिगारी कार्यक्रम गरिदिन पनि बालेनको आग्रह रहेको छ।

उनले गाउँ गाउँमा सिंहदरबार भन्ने नारा पुगे पनि अधिकार नपुगेको उल्लेख गरेका छन्। अब आन्दोलन गर्न काठमाडौँ आउन नपरोस् भन्ने कामना पनि बालेनको छ।  उनले लेखेका छन्, ‘गाउँ गाउँमा सिंहदरबार भन्ने त नारा मात्र भयो। आशा छ एक दिन आफ्नो अधिकारको लागि काठमाडौँ धाइरहनु नपरोस्।’

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।