काठमाडाैँ । कुनै समय डायरीका पानाहरूमा साथी र प्रियजनलाई अटो भर्न दिइने चलन एकदमै लोकप्रिय थियाे । खास गरी स्कुल कलेजका केटा–केटीहरूमाझ अटो भरेर साटासाट गर्ने चलन थियाे। सम्झना स्वरूप अटो साटासाट गरिन्थ्यो ।
अटाेका पानाहरू प्रेमिल शब्दहरूले भरिन्थे। फोटोहरू टाँसिन्थे। कोरिएका डायरीका पानाहरू जीवनकै सम्झन लायक क्षण हुन्थ्यो। तर, डिजिटल युगको उदयसँगै त्यो ट्रेन्ड अहिले हराएर गएको छ एका देशकै कथा जस्तो भएको छ ।
यही भुलिँदै गएको समयलाई चलचित्र ‘ऊनको स्विटर’को टिजरले पुनः ताजा गरिदिएको छ, जहाँ डायरीका पानाहरू पल्टाउँदा निस्किने पुरानो यादको सुवास अझै पनि ताजा महसुस गर्न सकिन्छ। चलचित्र को टिजरमा विपिन कार्की र मिरूना मगर मुख्य भूमिकामा देखिन्छन्।
सार्वजनिक टिजरमा मिरुनाले विपिनलाई अटो भर्न दिएकोदेखि प्रेम, भावनात्मक द्वन्द्व र स्मृतिहरूको यात्रा देखाइएको छ। टिजरमा मिरूनाले दिएको डायरीमा विपिनलेृ आफ्ना भावना लेख्दै गरेको दृश्य देख्न सकिन्छ । जहाँ विपिनले साङ्केतिक रूपमा प्रेमका कुरा व्यक्त गरेका छन् भने मिरूनाले प्रेम रहे पनि त्यसमा जटिलता रहेको सङ्केत गरेकी छन्।
यस चलचित्रमा विल्सन विक्रम राई, एलेक्स पारस र परीक्षा लिम्बुको पनि प्रमुख भूमिका रहेको छ। यिनै पाँच कलाकारको वरिपरि घुम्दै टिजरले प्रेम, स्मृति, र सम्बन्धका उतार-चढावलाई सौन्दर्यपूर्ण ढङ्गले प्रस्तुत गर्ने प्रयास गरेको छ।
‘ऊनको स्विटर’ आर्टमाण्डू प्रा.लि.को निर्माणमा बनेको पहिलो चलचित्र हो। सुजन चापागाईँको सङ्गीत रहेको यस चलचित्रलाई नवीन चौहानले लेखन तथा निर्देशन गरेका हुन् भने सुरज कटुवालको सह लेखन रहेको छ।
चलचित्रमा सुनिल पोखरेल, माओत्से गुरुङ, प्रेम सुब्बा, सुरज तमू, र भावना खपाङ्गी मगरलगायतको पनि अभिनय रहेको छ।
प्रतिक्रिया