ताजा अपडेट »

गृहनगरमा श्रद्धाञ्जलीपश्चात् स्वर्गिय बाेहराकाे पार्थिव शरिर काठमाडौं लगियो

मंगलबार, १९ चैत्र २०८१, २० : २२
390 Shares
मंगलबार, १९ चैत्र २०८१
390 Shares

भैरहवा। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता तथा रुपन्देही क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य एवं पूर्व मन्त्री दीपक बोहराको पार्थिव शरीरलाई गृह नगर भैरहवाबाट पुनः काठमाडौँ लगिएको छ । मङ्गलवार बिहान काठमाडौँस्थित ओम अस्पतालमा उपचारका क्रममा बोहराको निधन भएपछि श्रद्धाञ्जली अर्पणका लागि उनको पार्थिव शरीर आजै  रुपन्देहीको भैरहवा ल्याइएको थियो ।

हेलिकोप्टरमार्फत भैरहवा ल्याइएका बोहराको पार्थिव शरीर गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलदेखि गल्लामण्डी, मिलन चोक, नारायण स्थान, बुद्ध चोक, नयाँ सडक, देवकोटा चोक, बैंकरोड, मैत्री पथ लगायतका स्थानमा परिक्रमा गराई सिद्धार्थनगर नगरपालिका–३ खजहनास्थित उनको निवासमा श्रद्धाञ्जली अर्पणका लागि राखिएको थियो ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता बोहरालाई श्रद्धाञ्जली दिन  राप्रपाका स्थानीय  नेता–कार्यकर्ता, स्थानीय बासिन्दा, नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जसपा नेपाल, जसपा, लोसपा, जनमत पार्टीका प्रदेश र जिल्ला स्तरका नेताहरू, प्रदेश सभा सदस्यहरू, स्थानीय तहका जनप्रतिनिधिहरू लगायत उनको निवास पुगेका थिए । 

Untitled-1

श्रद्धाञ्जली अर्पणपछि भैरहवाबाट सांसद बोहराको पार्थिव शरीर साँझ ६ः३० बजे  पुनः हेलिकप्टरमार्फत काठमाडौँ  लगिएको राप्रपा रुपन्देही जिल्ला उपाध्यक्ष अजय कुमार गुप्ताले बताएका छन् । बुधवार दिउँसो काठमाडौँस्थित पार्टीको केन्द्रीय कार्यालयमा अन्तिम श्रद्धाञ्जली पश्चात् पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने कार्यक्रम रहेको छ ।

विगत लामाे समयदेखि बाेहरा पोस्ट कोभिड समस्याले गर्दा बोल्न नसक्ने अवस्थामा थिए । उनी कोरोना महामारीको दोस्रो लहर (जेठ २०७७) मा संक्रमित भएका थिए । संक्रमणको चार/पाँच महिनापछि बोहराकाे स्वरमा केही परिवर्तन देखिए पछि थप उपचारका लागि दिल्ली पुगेका बोहरालाई चिकित्सकहरूले पोष्ट कोभिडका कारणले घाँटीमा समस्या भएको बताएका थिए ।

समस्या थपिएपछि उनी केही समयपछि अमेरिकाको न्यूयोर्क पुगेका थिए । त्यसयता उनी स्पीच थेरापी गर्दै आएका थिए । पोस्ट कोभिडका कारण उनको घाँटीमा क्यान्सरकाे स्ंक्रमणा भएको थियो । उनी चुनावको समयमा पनि बोल्न नसक्ने अवस्थामा थिए । नबोलेरै उनी रूपन्देही-३ बाट निर्वाचित भएका थिए । संसदमा समेत उनी बोल्न सकेनन । उनले आफ्ना कुरा राप्रपाकै अन्य सांसद मार्फत राख्ने गरेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।