काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकबाट हटाएको भन्दै कुलमान घिसिङ र नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको रिट आज सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको छ।
रिटको सुनुवाइ बुधबार हुने सर्वोच्च अदालत प्रशासनले जानकारी दिएको छ। नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएका कुलमान घिसिङ र नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले दायर गरेका रिटमाथि सर्वोच्च अदालतमा सुनुवाइ चलिरहेको छ।
आज मंगलबार न्यायाधीशद्वय कुमार चूडाल र नित्यानन्द पाण्डेयको इजलासमा सुनुवाइ भएको थियो। आज अन्य सबै निवेदन हेर्न नभ्याइनेमा राखेर घिसिङ र शाक्यको रिटमा केन्द्रित भएर सुनुवाइ गरिएको थियो। घिसिङ र शाक्यको रिट यसअघि आइतबार पेसी तोकिए पनि सुनुवाइ भएको थिएन।
आइतबार रिट सुनुवाइका लागि प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश सारंगा सुवेदीको संयुक्त इजलासमा परेका थिए। कुलमानले आफ्नो पदाधिकार छँदाछँदै सरकारले बदनियतपूर्वक हटाएको भन्दै थमौतीका लागि अन्तरिम आदेश माग गरेका छन्।
प्रतिक्रिया