काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली बिमस्टेकमा भाग लिनका लागि आज थाइल्याण्ड प्रस्थान गरेका छन् । प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरिएको हो ।
उनी भोली अर्थात् अप्रिल २ मा त्यहाँका थाइल्यान्डका प्रधानमन्त्री पाइतोनगतार्न सिनावात्रासँग दुई पक्षीय भेटघाट गर्नुको साथै केही विषयवस्तुमा समझदारी पनि गर्नेछन् । प्रधानमन्त्री ओली अप्रिल ४ मा बिमस्टेकलाई सम्बोधन गर्नेछन् ।
अप्रिल २ मा बिमस्टेक सदस्यहरू राष्ट्रका उच्च अधिकारीहरूको बैठक बस्ने भने अप्रिल ३ मा विदेशमन्त्रीस्तरीय बैठक बस्ने बताइएको छ । बिमस्टेकको अध्यक्षको रूपमा थाइल्याण्डले “बिमस्टेक बैंकक भिजन २०३०’’ तय गरेको छ । जसको उद्देश्य २०३० सम्ममा समृद्ध, लचिलो र खुला बिमस्टेक (प्रो– बिमस्टेक) निर्माण गर्नु हो ।
यो भिजनले शान्ति, स्थिरता, आर्थिक वृद्धि र दिगोपन प्राप्त गर्न बंगालको खाडीको सहकार्यको लागि स्पष्ट दिशा र प्राथमिकताहरू तय गर्दछ भनिएको छ । थाइल्यान्डको राजधानी बैंककमा अप्रिल ३ देखि सुरु हुने छैटौँ बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) समिटको दृष्टिकोण प्रो–बिमस्टेक बनाएको छ ।
पी फोर प्रोफेरियस अर्थात् समृद्ध, आर फोर रेजिलेन्ट अर्थात् लचिलो र ओ फोर ओपन अर्थात् खुल्ला । छैटौँ बिमस्टेक शिखर सम्मेलन समृद्ध, लचिलो र खुल्ला बिमस्टेक (प्रो–बिमस्टेक) को दृष्टिकोणमार्फत क्षेत्रको विकासमा एक महत्त्वपूर्ण कदम हुने थाइल्याण्ड सरकारको जनसम्पर्क विभागले जनाएको छ ।
विभागका अनुसार व्यापार, लगानी र दिगो विकासलाई प्रवर्द्धन गरेर गरिबी निवारणलाई तीव्र बनाउने र सबै पक्षबिच सहयोग बढाउँदै देशलाई समृद्ध बनाउने दृष्टिकोण राखिएको छ । लचिलोका लागि विभागले कृषि, पशुधन र मत्स्यपालनमा उत्पादकत्व वृद्धि गर्ने, साथै स्वास्थ्य संकटको लागि तयारी बढाउने उल्लेख गर्दै बहु–सरोकारवाला दृष्टिकोण प्रयोग गरेर दिगो पर्यटन प्रवर्द्धन गर्नका लागि खुल्ला राख्ने दृष्टिकोण तय गरेको छ ।
यो समिटले साझा सुरक्षा र विकासात्मक चुनौतीहरूलाई सम्बोधन गर्न सदस्य राष्ट्रहरू बिच सहकार्यलाई प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ । यसले समृद्ध, लचिलो र खुला बिमस्टेक ९प्रोबिमस्टेक०को लक्ष्य प्राप्त गर्न भइरहेका प्रयासहरूलाई नयाँ गति प्रदान गर्ने दाबी गरिएको छ ।
प्रतिक्रिया