ताजा अपडेट »

बुद्ध परिपथ बुझाउँदै नगरप्रमुखहरु

सोमबार, १८ चैत्र २०८१, ०६ : ५३
178 Shares
सोमबार, १८ चैत्र २०८१
178 Shares

अमेरिका । कपिलवस्तु नगरपालिकाका प्रमुख सुदीप पौडेललाई केही दिन अघि भारतको प्रयागराजमा लागेको कुम्भ मेला जस्तै लुम्बिनी बुद्ध परिपथ भित्र मेला भर्ने रहर छ । हिन्दु धर्मालम्बीहरुले प्रयागराजमा लागेको कुम्भ मेला भरेजस्तैं बौद्व धर्मालम्बीहरुवाट त्यस्तैं मेला भर्न पाए कस्तो हुन्थ्यो होला, यही जिज्ञासा युक्त चाहना नगरप्रमुख पौडेलले राखिरहेका छन् । गंगा, यमुना र सरस्वतीको संगम प्रयागराजमा केही दिन अघि वृहत कुम्भ मेला लाग्यो, १ सय ४४ वर्षपछिको संयोग भनिएको त्यो कुम्भमेलालाई महाकुम्भको नामाकरण गरिएको थियो, त्यस दौरान तिन नदीको संगम प्रयागराजमा डुबुल्की लगाउन नगर प्रमुख पौडेल पनि त्यहा पुगेका थिए ।

हिन्दु धर्मालम्बीहरुको ठूलो उपस्थिति कुम्भमेलामा देखिएको थियो, एक पटक पुगेर स्नान गर्ने चाहना सबैमा देखिन्थ्यो । कपिलवस्तुका नगरप्रमुख पौडेलले भने -आस्था भन्ने कुरा धेरैं ठूलो विषय हो, हामीले पनि बौद्ध धर्मालम्बीहरुका लागि यस्तैं मेला लगाउन सक्दा त्यसले ठूलो अर्थ राख्नेछ । क्रिश्चियन धर्मालम्बीहरु भेटिकन सिटी, मुस्लिम धर्मालम्बीहरु साउदी अरेबियाको मक्का-मदिना, हिन्दु धर्मालम्बीहरु नेपालको पशुपतिनाथ सहीत नेपाल र भारतका तिर्थस्थलहरु गएजस्तैं बौद्व धर्मालम्बीहरुका लागि पनि यस्तैं केही गर्न सकिन्छ कि ? नगर प्रमुख पौडेलले प्रतिप्रश्न गरे  । सिद्धार्थ गौतम (पछि गौतम बुद्वको नामले परिचित)ले बाल्यकालदेखि लामो समय बिताएको राजा सुद्धोधनको दरबार रहेको तिलौराकोट क्षेत्र पर्ने नगरपालिकाका प्रमुख पौडेल बुद्व जन्मस्थल लुम्बिनीदेखि हामीसग धेरैं बुद्वकालिन क्षेत्रहरु छन् तिनीहरुलाई समेटेर हामीले एकिकृत केही कार्य गर्न सक्दा त्यसले नेपालकै पर्यटनलाई कायापलट गर्न सक्ने सामर्थ्य राख्ने संभावना देख्छन्  । हामीले बुद्ध जन्मिएको, बुद्ध हुर्किएको, बुद्वको आमाले समय बिताएको बुद्धको आमाको माईती, बुद्धको आमाले सुत्केरी हुनुअघि दरबारबाट बुद्व जन्मस्थलसम्म हिडेको पथ, बुद्धको मृत्युपछि उनको शरिरको अंग राखिएको आठ स्थान मध्ये एक रामग्राम स्तुपा, देवदहमा रहेको दह लगायतका बौद्ध धर्मालम्बीहरुको त्यो आस्था जोडिएका स्थानहरुलाई समेत त्यो रुपवाट ग्रहण गर्न नसकिएको ठान्छन् कपिलवस्तुका नगरप्रमुख पौडेल ।

हामीले यसरी प्रचार गर्न आवश्यक छ कि प्रयागराजमा हिन्दु धर्मालम्बीहरु ओईरिए जस्तैं बौद्ध धर्मालम्बीहरु आउन्, उनी आफ्नो चाहना सुनाउँदै भन्छन् -तर चाहनाले मात्र हुदैंन, त्यसका लागि विकास र पूर्वाधारको पनि आवश्यकता रहन्छ, त्यसका निम्ति साझा संकल्पको खाचो छ । लुम्बिनी भन्ने बित्तिकैं केवल बुद्ध जन्मस्थल लुम्बिनीको निश्चित भूभागलाई मात्र हेरियो भने त्यो अपूरो हुने ठान्छन् कपिलवस्तु नगरप्रमुख पौडेल । लुम्बिनी बुद्व परिपथले मात्र समग्र बुद्वसँग जोडिएको लुम्बिनीलाई सम्बोधन गर्ने उनको भनाई छ ।

उनको भनाईसँग सहमत रामग्राम नगरपालिकाका प्रमुख धनपत यादव  अब लुम्बिनी बुद्ध परिपथलाई सरकारले विशेष महत्व दिनुपर्ने बताउँछन् । हामी पर्यटनले धनी देश हौं भन्छौं तर हामीले हाम्रो पर्यटनको प्रमुख आधार लुम्बिनी बुद्ध परिपथलाई विकास गर्न सकिरहेका छैनौं । उनले भने अव हामीले बुद्ध जन्मस्थल लुम्बिनीलाई केवल बुद्ध जन्मिएको स्थान मात्र नभनी बुद्धसँग जोडिएका सबै क्षेत्रलाई एकत्रित गरेर लैजानुपर्दछ । यसका लागि स्थानीय तहका सरकारहरु एकमत भई अघि बढ्नुपर्ने बताउछन् रामग्राम नगरप्रमुख यादव । लुम्बिनी सांस्कृतिक नगरपालिका, कपिलवस्तु नगरपालिका, रामग्राम नगरपालिका, तिलोत्तमा नगरपालिका र देवदह नगरपालिका भित्र बुद्ध परिपथ जोडिएको छ । रुपन्देहीका ३, कपिलवस्तुको एक र नवलपरासीको एक नगरपालिका पर्ने बुद्ध परिपथलाई सरकारले विशेष ग्राह्यता दिएर विकास गर्न सक्दा त्यसले पर्यटन प्रवर्द्धनमा विशेष महत्व राख्ने उनी बताउँछन् ।

स्थानीय सरकारहरु एक भएर बुद्ध परिपथको विकासमा एक अर्काको सहयोगी बनिरहेको बताउँछन् देवदह नगरपालिकाका प्रमुख धुव्र प्रसाद खरेल । बुद्वको आमा मायादेवीको माईती गाउ देवदहका प्रमुख खरेल पर्यटकलाई लुम्बिनी ल्याउने मात्र नभई पर्यटकलाई लुम्बिनीमा केही दिन बसाउनु, चुनौती भएको र त्यसका लागि बुद्ध परिपथ महत्वपूर्ण हुने उनी ठान्छन् । अहिले नेपाल र नेपाल बाहिर बुद्ध परिपथका स्थानीय निकाय त्यसको प्रचारमा सक्रिय छ । नेपाल सरकार, लुम्बिनी प्रदेश सरकार, गैर आवासीय नेपाली र अन्तराष्ट्रिय मञ्च तथा स्थानहरुमा बुद्ध परिपथका लागि बुद्ध परिपथसग जोडिएका सबै स्थानीय निकायहरु एक भएर प्रस्तुत भैरहेको देवदह नगर प्रमुख खरेलले बताए । यसै क्रममा कपिलवस्तु नगरपालिका, देवदह नगरपालिका र रामग्राम नगरपालिकाका प्रमुख, तिलोत्तमा नगरपालिकाका प्रशासकीय अधिकृत, लुम्बिनी सांस्कृतिक नगरपालिकाका अधिकारीहरु संयुक्त रुपमा अमेरिकाको भ्रमणमा छन् । अमेरिकाको भ्रमणमा रहँदा नेपाली संघ संस्थाहरुले आयोजना गर्ने कार्यक्रमहरु देखि लिएर अमेरिकाका विभिन्न स्थानीय निकायहरुले गर्ने कार्यक्रमहरुमा जादा बुद्धसँग जोडिएको परिपथलाई बुझाउने काम गरिएको तिलोत्तमा नगरपालिकाका प्रशासकीय अधिकृत नारायण अर्यालले बताए ।

कपिलवस्तुका नगरप्रमुख पौडेलले सोचेको कुम्भमेलाको सोंच होस् वा रामग्रामका नगरप्रमुखले देखेको रामग्राम स्तुपा अगाडि लाखौंको संख्यामा बौद्धधर्मालम्बीहरुको ध्यान शिविर अथवा देवदहका नगरप्रमुख खरेलले बुनेको देवदहको पवित्र पानीको महत्व बुझाउने कार्यमा सबै जुटिरहेका छन् । बुद्व जन्मस्थल लुम्बिनीको केन्द्रमा राख्दैं समग्र बुद्ध परिपथको विकास, आवश्यक स्थानमा उत्खनन् देखि प्रचारप्रसारमा सामुहिक प्रयासको खाचो बुझेर नैं मिलेर अघि बढिएको रामग्राममा नगरप्रमुख यादवले बताए ।

स्थानीय सरकारहरुको सक्रियतामा लुम्बिनी प्रदेश सरकारले पनि चासो देखाएको छ । लुम्बिनी प्रदेश सरकारले मायादेवी सुत्केरी मार्गलाई योजनामा पारेको छ । केन्द्र सरकारले पनि यसका लागि काम गरिरहेको छ । लुम्बिनी बिकास कोष लुम्बिनी गुरुयोजना पूरा गर्न लागिरहेको छ ।

हामीले  नेपालमा केही भएकै छैन भन्ने भन्दा पनि नेपाल बन्दैछ, नेपाल घुम्नुपर्ने ठाउ हो भन्ने सन्देश दिनु जरुरी छ । गैर आवासीय नेपाली संघ,अमेरिकाका उपाध्यक्ष्ँ नेत्र पाण्डेले भने कम्तिमा गैर आवासीय नेपालीको नेपाल बाहिर हुर्किरहेको पुस्ताका लागि पनि नेपाललाई लिएर सकारात्मक सन्देश दिनु आवश्यक छ । नेपाल चिनिने मुख्य पक्ष लुम्बिनी रहेको यसको प्रचार प्रसारमा एनआरएनहरुले पनि योगदान दिनु पर्ने यसका लागि बुद्ध परिपथ भित्रका नगरप्रमुखहरुलाई अमेरिका भ्रमणमा सहजिकरण गरिएको उपाध्यक्ष पाण्डेले बताए ।

यसैबीच, अमेरिकाको टेक्सस राज्यको हाउसले मार्च १३ लाई लुम्बिनी दिवस संकल्प प्रस्ताव पारित गरेको छ । राज्य सांसद सुलेमान ललानीले संसदमा प्रस्ताव पेश गरेका थिए ।

सुरज भण्डारी
लेखकको बारेमा
सुरज भण्डारी
अध्यक्ष–नेजा (नेपाल अमेरिका पत्रकार संघ)