काठमाडाैँ । इस्लाम धर्मावलम्बीहरूका लागि सबैभन्दा पवित्र महिना रमजानको समापनसँगै संसारभरका मुस्लिम समुदायले आज ईद उल फित्र अर्थात ईद मनाउँदै छन्। हिजरी पात्रो अनुसार रमजानको अन्त्यमा मनाइने यो पर्व प्रार्थना, भेटघाट, नयाँ लुगा र मिठाइ आदान-प्रदान गरेर उत्सवको रूपमा मनाउने गरिन्छ ।
मुस्लिम धर्मावलम्बीहरूको याे महान् पर्व (इदुल फित्र) आज देशभरका मुस्लिम समुदायले हर्षोल्लासपूर्वक मनाउँदै छन् । इदुल फित्र अर्थात् रमजान पर्वको समाप्तिमा यो पर्व मनाउने धार्मिक विधि रहिआएको छ । नेपाल सरकारले इस्लाम धर्मावलम्बीको मुख्य पर्व ईदका अवसरमा आज देशभर सार्वजनिक बिदा दिएर यसलाई राष्ट्रिय पर्वको रूपमै महत्त्व दिएको छ ।
ईद अल–फित्र इस्लाम धर्मावलम्बीहरूको महत्त्वपूर्ण पर्व हो, यो पर्व रमजान महिनाको समाप्तिको संकेत स्वरूप मनाइन्छ। रमजानको अवधिमा धर्मनिष्ठ इस्लामका अनुयायीहरूले प्रत्येक दिन बिहानको झिसमिसेदेखि साँझको सूर्यास्तसम्म रोजा (उपवास) राख्ने गर्छन्। यो महिना ईबादत, दान–पुण्य र सदाचारका लागि विशेष मानिन्छ। इदको दिन रोजा खोलेर परिवार र मित्रहरूसँग रमाइलो गर्ने परम्परा पनि रहिआएको छ भने आफ्नो गक्ष अनुसार दान दक्षिणा गरेर पुण्य कमाउने काम पनि गर्ने गरिन्छ।
सामान्यतया इद को अर्थ खुसी हो। एक महिना रमजानको व्रत बसेको र यस महिनामा आफूलाई इस्लाम धर्मले वर्जित गरेको कामबाट आफूलाई अलग राखी धेरै भन्दा भन्दा धेरै पुण्यको काम गरेको खुसीयालीमा इदको पर्व मनाउने गरिन्छ । विशेषसरि बिहान इदको नियतले नुहाएर सफा र पवित्र भएर मानिसहरू नजिकैको खुला मैदान वा तोकिएको खुला स्थानमा पुगेर इदको नमाज पढ्ने गर्दछन्।
इदको नमाज पढ्नुअघि सक्नेहरुले तोकिएको निश्चित रकम (जकात फित्रा) अर्थात दानको रुपमा छुट्याउने गर्दछन् र यस्तो रकम आफू निकटको सबै भन्दा बढी गरिबमाझ वितरण गर्ने गरिन्छ। त्यस्तै, इदको नमाज पढेपश्चात् मानिसहरू एक आपसमा अङ्कमाल (गला मिलाउने) गरेर एक अर्कालाई इदको शुभकामना दिने गर्दछन् भने एक अर्कासङ माफी लिने दिने पनि गर्दछन्। इदको शुभकामना दिन आउनेलाई प्रत्येक घरले मीठो मसिनो जे उपलब्ध छ त्यो खुवाएर सत्कार गर्ने गर्दछन्।
भाषा र पोसाक देशअनुसारको हुने भए पनि सामान्यतया विश्वका प्रत्येक मुसलमानको लागि रमजान महिना र ईदमा गरिने अभ्यास झन्डै उस्तै नै हुने गर्दछ।
प्रतिक्रिया