बुटवल । काठमाडौंमा शनिबारदेखि सुरु भएको एनसेल नेपाल सुपर लिग (एनएसएल) मा बुटवल लुम्बिनी र झापा एफसी बीच आज प्रतिस्पर्धा हुँदै छ । खेल दशरथ रंगशालामा साझ ६ बजेदेखि सुरु हुने छ ।
शनिबार भएको उद्घाटन खेलमा साविक विजेता ललितपुर सिटी एफसी र काठमाडौं रेजर्स बराबरीमा रोकिएका छन् । ललितपुर र काठमाडौं २-२ गोलको बराबरीमा रोकिएका हुन् । पहिलो हाफमा ललितपुरले २–० को अग्रता बनायो। दोस्रो हाफमा उत्कृष्ट कमब्याक गर्दै काठमान्डौ ललितपुरलाई बराबरीमा रोक्न सफल भएको हो।
दशरथ रंगशालामा ललितपुरले सुरूवातमा नै अग्रता बनायो । खेलको पाँचौ मिनेटमा ललितपुरका विदेशी खेलाडी जोनाथन कान्टीलानाले काठमाडौंका दुई डिफेन्डरलाई कर्नर फ्लयाग नजिकैबाट हानेको प्रहार गोल नजिकै रहेका काठमाडौंका कमल श्रेष्ठलाई लागेर गोलमा परिणत भयो ।
खेलमा पकड बनाउन सफल ललितपुरले १५ औं मिनेटमा अग्रता दोब्बर पार्यो । इमोह इजिकियलले हानेको प्रहारलाई काठमाडौंका गोलरक्षक अभिषेक बरालले ब्लक गरे । फर्केको बललाई इमोहले नै कलेट गर्दै दिएको पासमा आदित्य शाक्यको लेफ्ट फुटेड सटले सही दीशा लियो ।
एकपक्षीय बनेको खेलको २५ औं मिनेटमा गोलकिपर अभिषेक बरालसँगको वान भर्सेज वानमा इमोह इजिकियलले हानेको कडा प्रहार पोस्टमा लागेर फर्कियो । दुई गोलले पछि परेको काठमाडौंले २८ औं मिनेटमा गोल फर्काउने मौकामा गोल किपर जेफ्री बाल्टस बाधक बने । भीन्सेन्ट कोजिएलोको कर्नरमा मोहम्मद बुया टुरेको डाइभिङ हेडरलाई गोलरक्षकले रोके । पहिलो हाफ २-० को नतिजामा सकियो।
ललितपुरले ६२ औं मिनेटमा उत्कृष्ट मौका गुमायो। योगेश गुरूङको पासमा पापा बाउ केबेको पावरफुल लेफ्ट फुटेट सटलाई गोल रक्षक जेफ्री बाल्टसले आकर्षक बचावट गरे। खेलमा फर्कन आतुर काठमाडौंले ६४ औं मिनेटमा कमल श्रेष्ठको क्रसमा जिलेश्पी जङ्ग कार्कीले सेकेन्ड बारमा हानेको हेडर थोरैले बाहिरियो।
खेलको ७५ औं मिनेटमा भने काठमाडौंले एक गोल फर्कायो। जिलेश्पी जङ्ग कार्कीको कट ब्याकमा अमान्डो डियोपले बक्स भित्रबाट हानेको कडा प्रहार आकर्षक गोलमा परिणत भयो। काठमाडौले खेललाई २-१ मा पुर्यायो। ८४ औं मिनेटमा खेललाई बराबरीमा पुर्याउने सुनौलो मौका काठमाडौंले गुमायो। जिलेश्पी जङ्ग कार्कीले बक्सभित्रबाट हानेको प्रहार क्रसबार माथीबाट बाहिरियो। निर्धारित नब्बे मिनेटको खेल २-१ को नगिजामा सकियो।
तर इन्ज्युरी समयमा ललितपुरका योगेश गुरूङले बक्सभित्र भिन्सेन्टलाई फाउल हानेपछि रेफ्रीले काठमाडौंलाई पेनाल्टीको अवसर प्रदान गरे। इन्जुरी समयको पाँचौ मिनेटमा भिन्सेन्टले पेनाल्टीमा कुनै गल्ती गरेनन्। यो सँगै काठमाडौंले नाटकीय शैलीमा खेललाई २(२ को बराबरीमा पुर्यायो।
तेस्रो संस्करणमा सात टोली ललितपुर सिटी एफसी, काठमाडौं रेजर्स एफसी, पोखरा थन्डर्स एफसी, बुटवल लुम्बिनी एफसी, धनगढी एफसी, झापा एफसी, र चितवन एफसीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।
प्रतिक्रिया