काठमाडौँ । काठमाडौँ महानगरपालिकाले राजधानीको तीनकुने क्षेत्रमा प्रदर्शन गरेका राजावादीले वातावरण प्रदूषण गरेको लगायतका शीर्षकमा पूर्व राजा ज्ञानेन्द्र शाहलाई ७ लाख ९३ हजार जरिवाना गरेको छ। पूर्व राजालाई पुनर्स्थापना गर्न भन्दै राजधानीको तीनकुने क्षेत्रमा हिजो राजावादीले प्रदर्शन गरेका थिए । उक्त प्रदर्शनमा राजावादीहरूले वातावरण प्रदूषण गरेको लगायतका शीर्षकमा महानगरले ७ लाख ९३ हजार जरिवाना गर्ने निर्णय गरेको हो।
शुक्रबार भएको राजावादीहरूको आन्दोलनका क्रममा तीनकुने, कोटेश्वर लगायत क्षेत्रमा तोडफोड र आगजनी भएको थियो । महानगरले वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७७ र काठमाडौँ महानगरपालिकाको आर्थिक ऐन बमोजिम जरिवाना गराएको हो ।
जरिवाना कसलाई तिराउने भनेर महानगर प्रमुख बालेन्द्र शाह (बालेन)ले टिममा छलफल गरेका थिए। दुर्गा प्रसाईँको नेतृत्व र राप्रपाका नेताहरूको सहयोगमा प्रदर्शन भए पनि यसको मुख्य जिम्मेवार निर्मल निवास भएको निष्कर्षमा पुगेपछि पत्र पनि ज्ञानेन्द्र शाहकै नाममा काटिएको हो।
महानगरपालिकाका प्रहरी नायब उपरीक्षक शिवलाल पौडेलले ज्ञानेन्द्र शाह, निर्मल निवासलाई सम्बोधन गरी एउटा पत्रमा लेखेका छन्, ‘प्रस्तुत विषयमा मिति २०८१ चैत १५ गतेका दिन काठमाडौँ महानगरपालिका वडा नं ३२, तीनकुनेमा आयोजना गरिएको कार्यक्रमबाट सिनामंगल क्षेत्रको सडक तथा सडक पेटीमा जथाभाबी फोहोर मैला गरी वातावरण प्रदूषण गरेकोले तपाईँलाई फोहर मैला व्यवस्थापन ऐन, २०६८, काठमाडौँ महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ र काठमाडौँ महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम रु. १००,००० (अक्षरूपी एक लाख) जरिवाना गरिएको ब्यहोरा निर्देशानुसार अनुरोध गरिन्छ।’
ज्ञानेन्द्र शाहलाई गद्दीमा फर्काउन शुक्रबार उनका समर्थकहरूले दुर्गा प्रसाईँको नेतृत्वमा गरेको प्रदर्शन अराजक बनेको थियो। तिनीहरूले निजी घर, सरकारी गाडी जलाउने, तोडफोड गर्नेजस्ता ध्वंसात्मक गतिविधि गरेका थिए।
महानगरको टोलीले शुक्रबार र शनिबार गरी क्षतिको विवरण सङ्कलन गरेको थियो। शुक्रबार अबेरसम्म पनि प्रदर्शनकारी उग्र भइरहेपछि महानगर प्रहरी बलसहित कर्मचारीको टोली फर्किएको थियो।
त्यसपछि शनिबार बिहानैदेखि महानगरको टोली प्रदर्शनकारीले विभिन्न संरचनामा पुर्याएको क्षतिको विवरण सङ्कलन गर्न पुगेको थियो।
कुन शीर्षकमा कति जरिवाना ?
शीर्षक | जरिवाना |
---|---|
कोटेश्वरको सडक तथा सडक पेटीमा जथाभाबी फोहोर | रु १ लाख |
महादेवस्थानको सडक तथा सडक पेटीमा जथाभाबी फोहोर | रु १ लाख |
तीनकुनेको सडक तथा सडक पेटीमा जथाभाबी फोहोर | रु १ लाख |
जडीबुटीको सडक तथा सडक पेटीमा जथाभाबी फोहोर | रु १ लाख |
बालकुमारीको सडक तथा सडक पेटीमा जथाभाबी फोहोर | रु १ लाख |
सिनामंगलको सडक तथा सडक पेटीमा जथाभाबी फोहोर | रु १ लाख |
दमकल तोडफोड | रु १ लाख ३० हजार |
तीनकुनेमा रुख, बिरुवा, रेलिङ तोडफोड | रु ६३ हजार |
प्रतिक्रिया