काठमाडौं । नेपाली कांग्रेसले लोकतन्त्रको विकल्प अझ समुन्नत लोकतन्त्र भएकाले कुनैपनि प्रकृतिको राजतन्त्र एक्काइसौं शताब्दीको सचेत नेपालीका लागि विकल्प किमार्थ हुन नसक्ने स्पष्ट पारेको छ ।
शुक्रबार राजावादीहरुको प्रदर्शनका क्रममा आगजनी र तोडफोड भएपछि एक विज्ञप्ति जारी गर्दै कांग्रेसले शान्ति र संविधानकै मार्गबाट अघि बढ्न आव्हान समेत गरेको छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माद्धारा जारी गरिएको विज्ञप्तिमा राजधानीको तिनकुने लगायत केही स्थानमा शान्तिपूर्ण प्रदर्शनका नाममा भएका हिंसात्मक घटनाको निन्दा समेत गरिएको छ ।
व्यक्तिको घर, मिडिया हाउस, पार्टी कार्यालय, सपिङ मल, सरकारी कार्यालय, सर्वसाधारणको सवारी साधन आदिमा भएको तोडफोड र आगजनीलाई नेपाली कांग्रेसले गम्भीरतापूर्वक लिएको विज्ञप्तिमा जनाइएको छ ।
‘संविधानप्रदत्त विरोध र शान्तिपूर्ण प्रदर्शनको अधिकारलाई नेपाली कांग्रेस सदैव सम्मान गर्दछ । तर आज राजधानीको तिनकुने लगायत केही स्थानमा शान्तिपूर्ण प्रदर्शनका नाममा जेजस्तो हिंसात्मक घटना भएका छन् त्यो अत्यन्तै निन्दनीय छ । व्यक्तिको घर, मिडिया हाउस, पार्टी कार्यालय, सपिङ मल, सरकारी कार्यालय, सर्वसाधारणको सवारी साधन आदिमा भएको तोडफोड र आगजनीलाई नेपाली कांग्रेसले गम्भीरतापूर्वक लिएको छ,’विज्ञप्तिमा भनिएको छ,‘ लोकतान्त्रिक गणतन्त्रको स्थापना ०६२÷०६३ को जनआन्दोलनबाट सोझै भएको होइन, आन्दोलनले केवल प्रतिनिधिसभा पुनस्र्थापित गरेको थियो । संसद मार्फत अन्तरिम संविधान हुँदै संविधानसभाको निर्वाचन र त्यो निर्वाचनबाट चुनिएका नेपाली जनताका प्रतिनिधिहरुको संविधानसभाको पहिलो बैठकले देशलाई गणतन्त्रमा लगेको थियो । यो वास्तविकतालाई आजको मितिमा हामी स्मरण गर्न र गराउन चाहन्छौं ।’
नागरिकमा रहेका कयौं असन्तुष्टिको हल वर्तमान संविधान भित्रैबाट संभव भएको पनि कांग्रेसले स्पष्ट पारेको छ ।
‘नागरिकको भावना दृष्टिगत गरेर निरन्तरतामा नविनता दिन हामी दृढ ढंगले प्रतिबद्ध छौं । हामी जान्दछौं कयौं कमजोरी भएका छन्, तिनको निदान खोज्न र समाधान पहिल्याउन हामी दृढ छौं । नेपाली समाजले अपेक्षा गरेका परिवर्तनका सबै आकांक्षा सम्बोधन यहि संविधानको दायरा भित्रैबाट क्रमशः गर्न सकिन्छ । लोकतन्त्रको विकल्प अझ समुन्नत लोकतन्त्र हो, कुनै पनि प्रकृतिको राजतन्त्र एक्काइसौं शताब्दीको सचेत नेपालीका लागि विकल्प किमार्थ हुन सक्दैन । नेपाली कांग्रेस सबै राजनैतिक दललाई यसमा स्पष्ट ढंगले उभिन अपील समेत गर्दछ,’विज्ञप्तिमा भनिएको छ ।
प्रतिक्रिया