काठमाडौँ । व्यवस्था उल्टाउने उद्घोषसहित पूर्वराजा ज्ञानेन्द्र शाहको समर्थनमा काठमाडौँको तीनकुनेमा गरिएको प्रदर्शनका कमाण्डर दुर्गा प्रसाईँ यतिबेला फरार छन् । प्रहरीले उनको खोजी तीव्र पारेको छ ।
शुक्रबार ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ र ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ ले आयोजना गरेको प्रदर्शन हिंसात्मक बनेसँगै उनी कार्यक्रम स्थलबाट भागेका थिए । प्रहरीले तिनकुनेको मञ्चमा अश्रुग्याँस प्रहार गरेपछि गैरीगाउँको पेट्रोल पम्प नजिकैको घरको सटरमा पसेका प्रसाईँ स्कोर्पियो चढेर त्यहाँबाट हिँडेको प्रहरी अधिकृतहरु बताउँछन् ।
उनको खोजीमा प्रहरीका ३ युनिट खटिएका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालय, जिल्ला पहरी परिसर काठमाडौँ र प्रहरी प्रधान कार्यालयको टोलीले उनको खोजी तीव्र बनाएका छन् । अनुसन्धानमा संलग्न एकजना अधिकृतका अनुसार प्रसाईँ चक्रपथ हुँदै ललितपुर तर्फ लागेको थाहा भएको छ । ती अधिकृत भन्छन्, ‘ललितपुरमा लुकेको आशंका छ, हामी खोजिरहेका छौँ ।’
प्रदर्शनमा सहभागी अर्को आयोजक समूह ‘राजसंस्था पुनर्स्थापनाका लागी संयुक्त जनआन्दोलन समिति’का संयोजक नवराज सुवेदीलाई प्रहरीले घरमै नजरबन्द गरेको छ ।
संयोजक दुर्गा प्रसाईँ आफैंले सवारी चलाएर सुरक्षाकर्मीलाई मार्ने नियतले सवारी चलाएपछि तीनकुनेको स्थिति हिंसात्मक भएको गृह मन्त्रालयको निष्कर्ष छ । गृह मन्त्रालयका सहसचिव छवी रिजालले तीनकुनेको घटना आपराधिक भएको बताउँदै त्यसमा संलग्न जोसुकैलाई पनि कानुनी दायरामा ल्याउने बताएका छन् । उनी भन्छन्, ‘तोडफोड र लुटपाटमा संलग्नहरूबारे सूक्ष्म निगरानी गरिरहेका छौँ ।’
प्रसाईँलाई नियन्त्रणमा लिएर फौजदारी मुद्दामा कारबाही गर्ने सरकारको तयारी छ ।
प्रदर्शनमा नेतृत्वदायी भूमिकामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणा, स्वागत नेपाल, सेफर्ड लिम्बु र सन्तोष तामाङ लाई प्रहरीले गए राति पक्राउ गरेको थियो ।
प्रतिक्रिया