ताजा अपडेट »

लोमान्थाङमा अस्पताल बन्यो, उपकरण र जनशक्ति खाँचो

शुक्रबार, १५ चैत्र २०८१, ११ : ३७
20 Shares
शुक्रबार, १५ चैत्र २०८१
20 Shares

मुस्ताङ । उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकामा पाँच श्ययाको आधारभूत अस्पताल भवन निर्माण गरिएको छ । 

सङ्घीय सरकारको एकीकृत स्वास्थ्य पूर्वाधार विकास कार्यक्रमअन्तर्गत लोमान्थाङ गाउँपालिकाको सहलगानीमा साढे दुईतले आधारभूत स्वास्थ्य सेवा भवन निर्माण गरिएको हो । उपल्लो मुस्ताङका नागरिकलाई स्वास्थ्य सेवा पुर्याउने गरी आर्थिक वर्ष २०७८/७९ मा पूर्वाधार निर्माणको ठेक्का सम्झौता गरिएको थियो ।

सम्झौता अवधि दुई वर्ष रहेको लोमान्थाङस्थित आधारभूत स्वास्थ्य सेवा पूर्वाधार निर्माण चल्दै गर्दा कोरोना माहामारी र प्रतिकूल मौसमलगायतका कारण तोकिएको समय सम्पन्न हुन सकेको थिएन । ठेक्का सम्झौताअनुसार उक्त भवन आव २०८०/८१ जेठमा सकिनुपर्ने थियो ।

 लोमान्थाङ–५ लोमान्थाङ बजार नजिक २७ कोठे भवन निर्माण गरिएको हो । उक्त भवन रु सात करोड १९ लाखको लागतमा निर्माण सम्पन्न गरिएको गाउँपालिकाका निमित्त कार्यालय प्रमुख विकास केसीले जानकारी दिए । विशेषज्ञ चिकित्सकसहितको सेवा प्रवाह गर्ने उद्देश्यले शल्यक्रिया कक्ष, एक्सरे कक्ष, ल्याब कक्ष, प्रसूति कक्ष, फार्मेसी कक्षलगायत चिकित्सक तथा स्वास्थ्यकर्मी बस्ने आवास निर्माण गरिएको उनले जानकारी दिए ।

लोमान्थाङका अध्यक्ष टसीनर्बु गुरुङले उपल्लो मुस्ताङका नागरिकलाई आधारभूत स्वास्थ्य सेवाको सुविधा पुर्याउन भवन निर्माण गरिएको बताए । भवन बनेपनि सेवा सञ्चालन गर्न उपकरण र जनशक्ति अभाव भएको उनको भनाइ छ ।  “सेवा सञ्चालन गर्न सङ्घीय तथा प्रदेश सरकारको सहयोगको आवश्यकता छ”, अध्यक्ष गुरुङले भने । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।