ताजा अपडेट »

रुपन्देही भ्रमणमा पूर्व राष्ट्रपति भण्डारी : यस्तो छ शनिबारसम्म बस्ने कार्यतालिका

शुक्रबार, १५ चैत्र २०८१, ०६ : ५७
332 Shares
शुक्रबार, १५ चैत्र २०८१
332 Shares

बुटवल। लुम्बिनी प्रदेश भ्रमणका लागि विहिबार रुपन्देही आएकी पूर्वा राष्ट्रपति विद्यादेवी भण्डारीले आजदेखि अन्तरसंवाद सुरु गर्ने भएकी छन् । कोशी र गण्डकी प्रदेशको भ्रमणपछि पूर्वराष्ट्रपति भण्डारी तीन दिनको कार्यक्रम लिएर रुपन्देही आइपुगेकी छन् । 

आज शुक्रबार लुम्बिनी विकास क्षेत्रमा निर्माण गरिने बिहारको शिलन्यास गर्ने र शनिबार यस क्षेत्रका महिला जनप्रतिनिधिसँगको अन्तरसंवाद भएपनि त्यसअघि र पछि उनले नेकपा एमालेको विभिन्न तहमा रहेका नेता(कार्यकर्ताहरूसँग भेटघाट गर्दैछिन् । उनी तीन दिनसम्म रुपन्देही बस्ने कार्यक्रम रहेको छ ।

शुक्रबार उनी लुम्बिनीमा आयोजित एक कार्यक्रममा आधा घण्टा बिताउने छिन् । यसपछि २ बजेदेखि साढे तीन बजेसम्म भेटघाटमा व्यस्त हुनेछिन् । दिउँसो साढे ३ बजे उनी त्रिवेणी धाममा धार्मिक यात्राका लागि निस्किने छन् । त्यहाँबाट फर्किएपछि बेलुका ८ देखि १० बजेसम्म भेटघाटमा व्यस्त हुनेछन् । १६ गते शनिबार बिहान ११ बजेदेखि बेलुका साढे ६ बजेसम्म भैरहवामा हुने महिला नेतृहरुबीचको अन्तरसंवाद कार्यक्रममा सहभागी हुनेछन् । चैत १७ गते उनी काठमाडौं फर्किने कार्यक्रम छ । 

विशेषगरी भण्डारीको कोशी भ्रमणले एमाले वृत्तमा तरंग ल्याएको थियो भने राष्ट्रिय राजनीतिमा विद्यादेवी भण्डारी फेरि कार्यकारी भूमिकामा फर्किने चर्चाले आकार लिएको थियो । भण्डारी निवासमा त्यसपछि एमाले नेता कार्यकर्ताको चहलपहल झनै बढेको छ भने स्वयं अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पनि पछिल्लो केन्द्रीय कमिटी बैठकपछि भण्डारी निवासमा छलफलका लागि पुगेका थिए ।

अहिलेसम्म खुलेर एमालेको राजनीतिमा नदेखिए पनि उनले भित्रभित्र आफ्नो पक्षमा माहोल बनाइरहेको एमाले नेताहरूले नै सार्वजनिक गरिरहेका छन् । विशेषगरी विभिन्न कमिटी र जनसंगठनका नेतृत्वमा समेटिन नसकेका तथा पेलाइमा परेकाहरुले गुनासो बिसाउने चौतारी भण्डारी निवास बनेको छ ।

रुपन्देहीमा भण्डारीका अन्य कार्यक्रम तय भए पनि मुख्य उद्देश्य एमालेभित्र आफ्नो माहोल बनाउने रहेको आंकलन उनी निकटस्थहरूको छ । भण्डारीले भैरहवामा रहँदासम्म लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका अध्यक्ष, यहाँका केन्द्रीय सदस्य, प्रभावशाली नेताहरू, युवा, विद्यार्थी र महिला संघका नेताहरूसँग छलफल गर्ने तय भएको छ । नेकपा एमालेका लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कंडेलले तीन दिनको कार्यक्रम लिएर विद्यादेवी भण्डारी यहाँ आएको बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।