ताजा अपडेट »

काठमाडौंमा राजावादी र गणतन्त्रवादीले आज छुट्टाछुट्टै प्रदर्शन गर्दै

शुक्रबार, १५ चैत्र २०८१, ०६ : २३
72 Shares
शुक्रबार, १५ चैत्र २०८१
72 Shares

काठमाडौँ । गणतन्त्रवादी र राजतन्त्रवादीले आज छुट्टाछुट्टै प्रदर्शन गर्न लागेका छन । राजावादीहरूको अहिलेकाे व्यवस्था नै फेरेर राजतन्त्र पुनः स्थापित गर्ने भनेर आन्दोलनमा छन् । उनिहरूकाे प्रदर्शनका लागि आज तीनकुने लाई ठाउँ तोकिएको छ । 

त्यस्तै गणातन्त्र पक्षधरहरूले पनि आजै प्रदर्शन तय गरेका छन् । उनीहरूको प्रदर्शनका  लागि भृकुटीमण्डप ठाउँ तोकिएको छ ।  गणतन्त्रवादी र राजावादीलाई सकेसम्म आमने–सामने हुनै नदिने रणनीति प्रशासनको रहेकाे छ । त्यसैले दुवै पक्षलाई प्रदर्शन गर्नका लागि अलग–अलग ठाउँ तोकिएको हो । 

समाजवादी मोर्चामा आबद्ध नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी र विप्लव नेतृत्वको नेकपाले भृकुटीमण्डपमा प्रदर्शन गर्ने भएका हुन । उनीहरूको जुलुस बबरमहलबाट माइतीघर र त्रिपुरेश्वर हुँदै प्रदर्शनी मार्गसम्म  निकाल्ने गरी रुट तय गरिएको छ ।

सभाअघि राजधानीका विभिन्न स्थानबाट जुलुस निकालिने मोर्चाले जनाएको छ । बबरमहल (पुलको छेउ), कुपण्डोल, त्रिपुरेश्वर चोक, सुन्धारा, न्युरोड, सोह्रखुट्टे, शान्तिबाटिका, मैतीदेवीबाट जुलुस निकाल्ने तय भएको छ ।  मोर्चाले निकाल्ने जुलुस भृकुटीमण्डपमा पुगेर दिउँसो १ बजे सभामा परिणत हुनेछ ।

नवराज सुवेदी नेतृत्वको राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले मेडिकल व्यवसायी दुर्गा प्रसाईँको कमान्डमा  प्रदर्शन गर्न लागेको छ । पूर्वराजाका समर्थकलाई रिङरोडबाहिर मात्रै जुलुस निकाल्न दिइने प्रशासनले जनाएको छ । 

दुवै प्रदर्शनलाई मध्य नजर गरी  काठमाडौँ उपत्यकाको सुरक्षा व्यवस्था कडा पारिएको छ । आज  काठमाडौँमा २५ सय बढी  प्रहरी खटाइँदै छ । आवश्यकता अनुसार यसको सङ्ख्या समेत बढ्न सक्ने बताइन्छ । सुरक्षालाई मध्यनजर गर्दै  सादा पोसाकका प्रहरी समेत परिचालन हुनेछन् । घुसपैठ हुन नदिन र घुसपैठ गर्नेहरूको पहिचान गर्न सादा पोसाकका प्रहरीले सहयोग गर्ने बताइएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।