नर्मदेश्वरी सत्याल दिदीद्वारा लिखित ‘जीवेन्द्रदेव गिरी जीवनी, व्यक्तित्व र कृतित्व’ पुस्तक विशेष उपहार स्वरुप उनकै हस्ताक्षरसहित प्राप्त गरेको पनि थुप्रै वर्ष भएछ । पढ्छुभनेर पनि नभ्याएको पुस्तकमध्येको यो एउटा पुस्तक फुर्सदमा पढ्न पाउँदा खुसी लाग्यो । जीवेन्द्र सरको नालीबेली पढ्न पाउँदा हर्षित भएँ । पूर्वी नेपाल सङ्खुवासभा,खाँदबारीकी सत्याल दिदीले कर्णाली प्रदेश,सुर्खेतका जीवेन्द्र सरका बारेमा विस्तृत तरिकाले लेखेको भेट्दा अचम्मै लाग्यो । दिदीको मिहिनेत,परिश्रम र अक्षरप्रतिको लगनशीलताले उनीप्रति थप सम्मान भाव प्रकट भयो ।
२०२४ सालमा नेपालगञ्जबाट एसएलसी द्वितीय श्रेणीमा उत्तीर्ण गरेका जीवेन्द्र सरले २०२८ सालमा त्रिभुवन विश्वविद्यालयबाट प्राइभेट परीक्षा दिई आइए पास गरे । २०३१ सालमा स्नातक उत्तीर्ण उनलाई तत्कालीन पञ्चायती सरकारले पक्राउ पुर्जी जारी गरेपछि भाग्नुपरेको तीतो यथार्थ आजपनि उनको मस्तिष्कमा ताजै छ । २०४० सालमा उनले एमए उत्तीर्ण गरेका थिए । ‘सिम्तालीको भाषा वैज्ञानिक अध्ययन’ शीर्षकमा उनले २०६५ सालमा विद्यावारिधि गरी डाक्टर जीवेन्द्रदेव गिरी बने । उनको शोधकार्यलाई प्राडा चूडामणि बन्धु र प्राडा माधवप्रसाद पोखरेलले विशेष सहयोग गरेका थिए । बाह्य परीक्षकका रुपमा डा.ध्रुवचन्द्र गौतम र प्रा.मोहनराज शर्मा सहयोगी बने ।
जीवेन्द्र सरका दुई छोरी र एक श्रीमती छन् । छोरो कमलको २१ वर्षमै असामयिक निधन भएपछि जीवेन्द्र सरको घरपरिवारमा ठूलो क्षति पुग्यो । मानसिक रुपमा पीडा थप्यो । यतिबेला काठमाडौंमा बस्दै आएका जीवेन्द्र सरका दम्पत्ति भौतिक रुपमा सुखी छन् । जीवनभर मिहिनेतले कमाएको सम्पत्तिमा आफ्नो घरबास बसालेका छन् । छोरीज्वाइँको साथ,समर्थन र सहयोग मिलेको छ । मावली घरमा जीवेन्द्र सरले ११ वर्षसम्म हजुरआमासँगै बिताए । हुर्के, बढे र पढे । मावलकी हजुरआमाको स्नेहिल प्रेम, सद्भाव र सहयोगमात्र होइन, सामाजिक रीतिरिवाज, लोकपरम्परा र सभ्यता सिक्ने अवसरसमेत बटुले ।
२०१२ सालमा जन्मिएकी नर्मदेश्वरी सत्याल दिदी यतिबेला ६९ वर्षकी भइन् । जीवेन्द्रदेव गिरीको जीवनी, व्यक्तित्व र कृतित्व पुस्तक उनले कुनै तहको थेसीसका लागि भने लेखेकी होइनन् । कविता, जीवनी, समीक्षा, भूमिका, निवन्ध लेखि सकेकी उनले जीवेन्द्र सरको जीवनी, व्यक्तित्व र कृतित्वका बारेमा गहन अध्ययन गरी विस्तृत रुपमा लेखेकी छिन् । जीवेन्द्र सरलाई चिनाउन, बुझाउन र जान्न चाहनेहरुका लागि मार्गदर्शक पुस्तक बनेको छ । पुस्तक प्रकाशन भएको पनि तीन वर्ष पुग्यो ।
विद्यालयमा शिक्षक भएर आफ्नो शैक्षिक यात्रा सुरु गरेका जीवेन्द्र सरले त्रिभुवन विश्वविद्यालयबाट सेवा निवृत्त हुने अवसर पाए । कविता, बालसाहित्य, लोकवार्ता, निवन्ध र अनुसन्धानमा आफूलाई अब्बल बनाएका जीवेन्द्र सरले नेपाल प्रज्ञा प्रतिष्ठानमा सदस्य सचिवको हैसियले नेपाली भाषा, साहित्यको सेवा गर्ने अवसर प्राप्त गरेका थिए । खासमा जीवेन्द्र सर विकट कर्णालीका यार्चागुम्बा हुन् । अति नै मूल्यवान जडीबुटीका रुपमा परिचित, जीव र वनस्पतिको साझा स्वरुप यार्चागुम्बाजस्तै हुन् जीवेन्द्र सर । भारत, चीन, बंगालादेशलगायतका देशमा नेपाली साहित्य, कला, संस्कृति, सभ्यता र संस्कारका बारेमा प्रष्ट्याउन पुगेका छन् । नेपालका कुनाकाप्चा पुगेका उनले आफूलाई नेपाली हुनुमा नै गर्व गर्छन् । आफ्नै पाखापखेरा मन पार्छन् ।
शिक्षक हुँदा ग्रामीण क्षेत्रका शैक्षिक उन्नयनका लागि उनले स्थानीयहरुसँग मिलेर गरेको प्रयास प्रशंसनीय थियो । गाउँलेहरुलाई जागृत गरेको कुरा रहर लाग्दो सुनिन्थ्यो । स्थानीय पञ्चहरुसँग पौठेजोरी खेलेको, कुनै कुरामा नि नझुकेको अनि गाउँलेहरुमा शैक्षिक जागरण ल्याउन गरेका प्रयासले तहल्का पिटेको कुरा पुस्तकमा मज्जाले पढ्न पाइन्छ । गाउँमा आफूहरुले शैक्षिक प्रगतिका लागि विद्यार्थी, शिक्षक र अभिभावकहरुसँग हातेमालो गरेको पढ्न पाउँदा आनन्द लाग्छ । थोरै सेवा, सुविधा पाएरपनि ग्रामीण शिक्षालाई उकास्नमात्र होइन,ग्रामीण भेगका जनताहरुलाई पञ्चायत विरुद्धमा लाग्न राजनीतिक भूमिका निर्वाह गरेकोमा उनको प्रयास र कर्मलाई सलाम गर्न मन लाग्छ ।
सुर्खेतको उच्चशिक्षामा जीवेन्द्र सरको भूमिका रहर लाग्दो छ । काठमाडौंको त्रिविविमा बसेरमात्र होइन, आफ्नै गृह जिल्ला सुर्खेतमा पुगेरपनि यहाँको शिक्षा, साहित्य, संस्कृति र सभ्यता विकासमा महत्वपूर्ण भूमिका खेलेको कुरा पुस्तकमा सललल बगेको छ । वामपन्थी राजनीतिमा आफूलाई ढाल्दै गर्दा उनी भूमिगत बस्नुपरेको पुस्तक पढेपछि थाहा लाग्छ । २०३२ पुषको १ र २ गते भारतको वनारसमा आयोजित नेकपाको केन्द्रीय कमिटी बैठकमा भेरी अञ्चलको सचिवको हैसियतले भाग लिन गएको पुस्तकमा उल्लेख गरिएको छ । २०४७ पुष २२ गते, नेकपा माले र माक्र्सवादी एकीकरणमा उनको भूमिका महत्वपूर्ण थियो तर उनले सो एकीकरणपछि कुनै प्रत्यक्ष अवसर खोजेनन् बरु पर्दापछाडिको असल पात्र बनाइरहे ।
जीवेन्द्र सर अतिनै सरल छन् । मिनलसार छन् । कार्यकारीभन्दा पनि उनी समन्वयकारी छन् । आफूलाई घमण्डी,अहमीभन्दा पनि सरल, मिजासिलो र समन्वयकारी भूमिकामा उभ्याउन चाहन्छन् । खोज, अध्ययन र अनुसन्धानमा आफूलाई बढी क्रियाशील बनाउँछन् । खोजमूलक पुस्तक प्रकाशन गरेका छन् । अनुसन्धानमूलक लेखहरु छापेका छन् ।
पीएचडी, स्नातकोत्तर, स्नातक विद्यार्थीका शोध निर्देशक बनेका छन् । अरुका पुस्तकमा समीक्षाको कैंची चलाएका छन् । पुस्तक, पत्रिका, जर्नलहरुमा सम्पादक बनेर आफ्नो क्षमता, दक्षता पोखेका छन् । थुपै्र पुस्तकमा भूमिका लेखेका छन् । उनीमाथि थुपै्र विद्यार्थीहरुले थेसीस गरेका छन् । जीवेन्द्र सरले रिसर्च पेपर तयार गरेर धेरै स्थानमा प्रिजेन्टेसन गरेका छन् । उनको बौद्धिक कर्मको उल्लेख गरेर यहाँ साध्य छैन ।
प्रगतिशील लेखक संघ, नेपालको ११ औं केन्द्रीय सम्मेलनबाट अध्यक्षका रुपमा तीन वर्ष नेतृत्व गरिसकेका जीवेन्द्र सरले प्रगतिशील लेखन आन्दोलनलाई उँचो बनाउन सक्रिय रुपमा लागि रहे । प्रलेस, नेपाललाई वामपन्थीका साझा सांस्कृतिक मोर्चा बनाउने अभियानमा आफूलाई समर्पित गराइ राखे । यतिबेला केन्द्रीय सल्लाहकारको भूमिकामा रहेतापनि आफ्नो अनुभवहरुलाई प्रलेस, नेपालमा पोखिरहेका छन् । प्रलेस पुरस्कारका लागि केही आर्थिक सहयोग गरी अक्षयकोष निर्माण गरेका छन् । अक्षरको खेतीमा तल्लीन उनी प्रगतिवादी लेखक हुन् ।
२०४२ सालमा शिक्षामन्त्रालयबाट शिक्षा पुरस्कार प्राप्त गरेका जीवेन्द्र सरले हालसम्म सयौंका संख्यामा सम्मान पाएका छन् । सम्मानित भएका छन् । प्रशंसाभन्दा स्वस्थ आलोचनाका भोगी जीवेन्द्र सरले काठमाडौंमा बसेर पनि कर्णालीको समृद्धि चाहेका छन् । कर्णालीको सांस्कृतिक, धार्मिक, ऐतिहासिक, पुरातात्विक एवम् पर्यटकीय सम्पदाहरुलाई संरक्षणका निम्ति कलम चलाइ रहेका छन् । कर्णालीको भाषा, कला, साहित्य र संस्कृतिलाई देश, विदेशसम्म लेखनीमार्फत पुराइरहेका छन् । उनको शरीर काठमाडौंमा रहेपनि मन, मस्तिष्क सधैं कर्णालीमा भेट्न सकिन्छ ।
डा.जीवेन्द्रदेव गिरी भाषाविद् हुन् । लोकवार्ता विज्ञ हुन् । त्रिविविबाट निवृत्त प्राध्यापक हुन् । खासमा उनी श्रष्टा हुन् । सर्जक हुन् । संगठक हुन् । सबैले चिनेका जानेका अनुसन्धानदाता, अध्ययेता हुन् । उनको जीवनी, व्यक्तित्व र कृतित्व लेखेर राष्ट्रिय जनसाहित्यिक संघका केन्द्रीय अध्यक्ष नर्मदेश्वरी सत्यालले ठूलो गुन लगाएकी छिन् । प्रकाशक पार्वती गिरी धन्यवादको पात्र बनेकी छिन् । यो पुस्तकले नयाँ पुस्ताकाबीच जीवेन्द्र सरलाई चिनाउने छ । उनको इतिहासलाई केलाउन सकिने छ । वर्तमानमा उनका गतिविधिहरु समीक्षा गर्न सकिने छ । भविष्यमा उनका ज्ञान, सीप र व्यवहारहरुलाई प्रयोग गर्न सकिने छ ।
प्रतिक्रिया