ताजा अपडेट »

तिलोत्तमा गोल्डकपमा एपीएफको विजयी शुरुवात

आइतबार, १० चैत्र २०८१, ०९ : ३८
54 Shares
आइतबार, १० चैत्र २०८१
54 Shares

बुटवल । २३ औँ तिलोत्तमा गोल्ड कप नकआउट फुटबल प्रतियोगितामा विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लबले विजयी शुरुवात गरेको छ । शनिबार पहिलो हाफमा सशस्त्र प्रहरी बल एपीएफ क्लबका टिम क्याप्टेन हरि कार्कीले गरेको एकमात्र गोल निर्णयक बन्यो ।

निक्कै प्रतिस्प्रर्धात्मक खेलको १७ औ मिनेटमा एपीएफका हरि कार्कीले गोल गरेका थिए । खेलमा राम्रो अवसरहरु गुमाएको आयोजक रुपन्देही-११ खेलमा दबाबमा रहेको थियो । शनिबार दोस्रो हाफ शुरु भएसंगै हावाहुरी चलेपछि खेल रोकियो । आईतबार भएको दोस्रो हाफको खेलमा रुपन्देही खेलमा फर्कने धेरै अवसरलाई सदुपयोग गर्न चुकेको थियो । चार जना विदेशी खेलाडीसहित मैदानमा उत्रेको थियो । खेलमा एपीएफका विशाल गुरुङ प्लेयर अफ दी म्याचबाट पुरस्कृत भए ।

आज (आईतबार) दिउँसो प्रतियोगिताको दोस्रो खेल चर्च ब्वाईज युनाईटेड, ललितपुर र नेपाल पुलिस क्लब, काठमाडौंका बिचमा हुने संघका अध्यक्ष लोक पुनले बताए । प्रतियोगिताको उपाधि विजेता टिमले नगद १२ लाख १२ हजार २ सय २२ रुपैयाँ, गोल्डकप, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । उपविजेता टिमले ६ लाख, ६६ हजार, ६ सय, ६६ रुपैयाँ तथा विधागत उत्कृष्ट खेलाडीहरुलाई गोलरक्षक, डिफेन्डर, मिड फिल्डर, फरवार्ड, कोचलाई नगद ३१ हजार र कप तथा सर्वोत्कृष्ट खेलाडीलाई स्कुटर वा मोटरसाईकल उपहार तथा प्रत्येक दिनको म्यान अफ दी म्याचलाई नगद ११ हजार १ सय ११ रुपैयाबाट पुरस्कृत गरिने छ ।

यो वर्ष आयोजक रुपन्देही-११ सहित संकटा एफसी, मच्छिन्द्र एफसी, चर्च ब्याईज युनाईटेड, नेपाल पुलिस क्लब, नेपाल सशस्त्र प्रहरी बलको एपिएफ क्लब तथा दुई विदेशी टिमहरु एडोर्न गडवाल स्पोर्टिङ क्लब, जर्जियन एफसी गरि आठ टिमले प्रतिस्प्रर्धा गर्ने छन् । चैत १६ गतेसम्म संचालन हुने प्रतियोगितामा १ करोड ८ लाख रुपैया, ८८ हजार रुपैया खर्च हुने आयोजकको अनुमान रहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।