ताजा अपडेट »

वनमा डढेलो : मनमा डढेलो !

आइतबार, १० चैत्र २०८१, ०७ : २०
98 Shares
आइतबार, १० चैत्र २०८१
98 Shares

पाल्पा, तिनाउको गतिशील संस्थाको नाम हो सामुदायिक वन समन्वय समिति । यो संस्था सम्वत् २०५८ सालमा स्थापित भई २०६० सालमा जिल्ला प्रशासन कार्यालय, पाल्पामा दर्ता भएको गैरसरकारी संस्था हो । वन, वातावरण र जैविक विविधता संरक्षणका निम्ति क्रियाशील यो संस्थाले सचेतनामुखी कार्यक्रम, आयमुखी क्रियाकलापमा जोड र खानी एवम् पानीका विषयमा  पैरवी गर्दै आइरहेको गैरनाफामुखी संस्था हो । 

तिनाउमा रहेका ८२ वटा सामुदायिक वन उपभोक्ता समूहको छाता संगठनका रुपमा यो समितिलाई लिने गरिन्छ । वन, वातावरण र जैविक विविधता संरक्षण गर्दै वनप्रतिको निर्भरता घटाउने, समूहलाई गतिशील बनाउने, समूहका नेतृत्वलाई सशक्तिकरण गर्ने र वनलाई उद्यमशीलतासँग जोड्न समन्वय,सहकार्य र सहयात्रामा यो समिति क्रियाशील रहँदै आएको छ । यो वर्ष सामुदायिक वन समन्वय समितिले तिनाउमा रहेका ६ वटै वडाहरुमा पुगेर वन, वातावरण र जैविक विविधता संरक्षणका लागि डढेलो नियन्त्रण अनिवार्य ठान्दै माईकिङ्ग गर्दै, पोष्टर टाँस्दै र हातेपर्चा वितरण गर्ने काम चैत्र ६ गतेभित्रै सम्पन्न गरेको छ । वन उपभोक्ताका घरदैलामा पुगेर सूचना प्रवाह गर्दा संस्थाले एउटा दर्बिलो काम गरेको अभिलेखीकरण भयो । हुन त यस्तो काम यो संस्थाले पहिला पनि गर्दै आइरहेको थियो । 

२०७३ चैत्र ७ गतेदेखि साविक दोभान गाविस र हालको तिनाउ गाउँपालिकामा डढेलो नियन्त्रण सम्बन्धि वृहत् आमसभा गर्ने चलन यस क्षेत्रकै मानकको रुपमा रहँदै आएको धेरैलाई  हेक्का भएको विषय हो । जिल्लाभित्रका सुरक्षा निकाय, राजनीतिक पार्टीका नेता, संरक्षणसम्बन्धि काम गर्ने सरकारी तथा गैरसरकारी संघसंस्था र वन समूहका उपभोक्ताका बीच भव्य र श्रव्य तरिकाले कार्यक्रमहरु सञ्चालन हुँदै आएका थिए । स्थानीय तथा राष्ट्रिय कलाकारहरुको सांस्कृतिक एवम् सांगीतिक कार्यक्रम, चित्रकारहरुको बेजोड चित्रकला, स्थानीय कलाकारहरुको प्रतिभाले प्रस्तुत हुने फोरमका रुपमा डढेलो नियन्त्रणसम्बन्धि वृहत् आमसभा स्थापित भइसकेको थियो । यसपालि हाम्रो संस्थाले कार्यक्रमको मोडालिटी परिवर्तन गर्यो । 

बोलाएन उपभोक्ताहरुलाई । निम्तो गरेन, जिल्लाभित्रका सुरक्षा निकायहरुलाई । न त निमन्त्रणा गर्यो नेताहरुलाई । न नाच्न र गाउन बोलायो स्थानीय तथा राष्ट्रिय कलाकारहरुलाई । बरु बोलायो तिनाउ गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र प्रवक्तालाई । साथमा यो समितिका सल्लाहकारहरुलाई ल्याइपुरायो वन डढेलो नियन्त्रणसम्बन्धि छलफल तथा अन्तरक्रिया कार्यक्रममा । तिनाउ सब डिभिजन वन कार्यालयका प्रमुख प्रेम चौधरीले डढेलोको विषयमा सैद्धान्तिक एवम् प्रयोगात्मक कुरा उठाए । 

पालिका उपाध्यक्ष लालबहादुर थापा र अध्यक्ष प्रेम श्रेष्ठले आफ्नो पालिकाले पास गरेको वन, वातावरणसम्बन्धी नीति तथा कार्यक्रमका बारेमा प्रकाश पारे । समन्वय समितिसँग हातेमालो गर्न रुचाएको कुरा गरे । आफूहरुले पनि वन, वातावरण र जैविक विविधता संरक्षणमा आवश्यक वजेट विनियोजन गर्दै आएको कुरा ठूलै स्वरले सुनाए । समन्वय समितिलाई यसपालिको वजेटमा छुट्टै वजेट विनियोजन नगरिएको कुरा रातो कितावमार्फत सबैले थाहा पाएकै विषय हो । प्रवक्ता यादवप्रसाद अर्यालले समन्वय समिति र तिनाउ गाउँपालिकाबीच समन्वयको अभाव रहेको हो कि भन्ने कुरा सुनाए । समितिका सल्लाहकारहरु राजेश श्रेष्ठ र पदमलाल शाक्यले डढेलो नियन्त्रणसम्बन्धि कार्यक्रमको विरासत गुमेको तीतो कुरा सुनाए । संस्थाका वरिष्ठ उपाध्यक्ष प्रेम पाण्डेयले सहभागी सबैलाई स्वागत गर्दै समन्वय समिति र गाउँपालिकाबीचको संरक्षण यात्रामा निरन्तरताको कामना गरे । 

तर धेरै साथीहरुको जिज्ञासा वनमा लाग्ने डढेलोभन्दा मनमा लाग्दै गरेको डढेलोमा केन्द्रीत देखिन्थ्यो । समन्वय समितिले सधैंका वर्षमा झैं गर्ने वन डढेलो नियन्त्रणसम्बन्धी वृहत् आमसभा यसपालि खोई ? किन नगरेको ? कलाकारहरुको प्रतिभा हेर्ने अवसर किन टुट्यो ? वर्षमा एकपटक गाउँपालिकाभरिका उपभोक्ताहरु भेट्ने अवसर किन गुम्यो, कसरी र कसले गुमाउन हाल्यो ? केन्द्रका कलाकार गाउँमा आउँदा, गाउँलेहरुले देख्ने, चिन्ने, भेट्ने र सांगीतिक मनोरञ्जन लिन पाउने सुवर्ण अवसर किन खोसियो ? होलान् कमीकमजोरीहरु पनि कलाकारका, आयोजकका तरपनि सुन्दर सम्बन्धको कसी टुटेको सबैले महसुस गरेकै छन् । कलाकारहरु नआउँदा सहभागी जुटाउन कठिन हुने विषय घाम झैं छर्लङ्गै भएको विषय हो । तैपनि तिनाउका लागि  चैत्र ७ गते एउटा उत्सवजस्तै थियो । 

यसपालि समन्वय समितिले मोडालिटी परिवर्तन गर्दा कार्यक्रम वृहत् हुन सकेन । कोठामा सीमित भयो । केही खिन्नता हुनु स्वभाविक नै हो । हुन त एकपटक कोरोनाकालमा यो कार्यक्रम स्थगित गरेको हामीसँग तीतो सत्य छ । यसपालिको डढेलो नियन्त्रण् कार्यक्रम गर्नै नसकेर वा आर्थिक अभावकै कारणलेमात्र पनि स्थगन भएको होइन । समय, परिस्थिति यसको कारण बन्न पुग्यो । यो निरन्तर स्थगन हुन्छ नै भन्ने कुनै ग्यारेन्टी पनि छैन । सबैको मूलध्येय वनमा डढेलो नियन्त्रण हुनुपर्यो । हाम्रो संस्था सफ्टवेयरमा काम गर्ने संस्था हो । सचेतनामुखी कार्यक्रम सञ्चालन गर्ने संस्था हो । डढेलो लगाउने व्यक्तिलाई पक्रिने, कानूनी कार्वाही गर्ने अधिकारसम्पन्न संस्था समन्वय समिति होइन । यसले प्रचारप्रसार गर्ने, चेतना जागृत गर्न सक्छ तर हार्डवेयरका काम यो संस्थाले गर्ने त्यस्तो अधिकार छैन र गर्दै पनि । 

वनमा लाग्ने डढेलोको कारण जीवजनावरमात्र होइन, वनस्पति र बहुमूल्य जडीबुटीहरु विनाश भएर जानेछन् । चुरेको माटो जलेर फुक्का हुनेछ अनि अतिवृष्टिका कारण बगेर जानेछ । भौतिक एवम् मानवीय क्षति पुग्न सक्नेछ । यतिमात्र होइन, पर्यावरणीय विनाश हुनेछ । जलवायु परिवर्तन हुनेछ । वायूमण्डल प्रदूषित भई मानव स्वास्थ्यमा ठूलो क्षति पुग्नेछ । डढेलोको कारण केही बैगुनीहरुलाई जाती नै होला । घाँस उम्रिएला । च्याउ खान पाइएला । विषालु सर्प, बिच्छी मर्लान् । कीर्नाले दुःख नदेला । भुसुना र मच्छेरका बंश विनास भई मानवलाई फाइदै होला तर यसले प्रकृतिमा पार्ने असरका बारेमा कसले, कति अनुमान लगाउन सक्ला ? 

अमेरिकाजस्तो सम्पन्न देशले वन डढेलोको कारण भौतिक, मानवीय क्षतिमात्र होइन, पर्यावरणीय समस्या झेल्नुपर्ने देखिन्छ । आर्थिक क्षतिको कुनै लेखाजोखा नै सम्भव भएन । हाम्रोजस्तो देशले वन डढेलोको विकराल अवस्था व्यहोर्न पर्ने परिस्थिति आएमा के होला ? सक्ला धान्न ? त्यसैले हामी सबैले वनमा डढेलो लाग्नबाट जोगाउनु पर्ने अवस्था अनिवार्य छ । हेल्चक्राइँ,बेइमानी व्यवहार कसैका लागि पनि क्षम्य हुँदैन । वनमा डढेलो लागि हालेमा कसरी निभाउने आजको चुनौती हो । सरकारी तवरबाट नियन्त्रण गर्ने योजना र कार्यान्वयन पक्ष कसरी बलियो बनाउने ? यो नै मुख्य कुरा हो । 

उपभोक्ता सचेत हुन सकेमा र वन डढेलो नियन्त्रणमा प्रभावकारी भूमिका निर्वाह गर्न सकेमा पक्कै पनि वन डढेलो लाग्ने छैन । वनमा लाग्ने डढेलोभन्दा मनमा लाग्ने डढेलो खतरापूर्ण हुने भएकाले आजैदेखि वन, वातावरण र जैविक विविधता संरक्षणका लागि हातेमालो गरौं । 

दलबहादुर गुरुङ
लेखकको बारेमा
दलबहादुर गुरुङ
स्तम्भकार