ताजा अपडेट »

यसरी सम्भव छ बुटवलको सबलीकरण

शुक्रबार, ०८ चैत्र २०८१, ०७ : ३२
170 Shares
शुक्रबार, ०८ चैत्र २०८१
170 Shares

नेपालका पुराना नगरपालिकाहरुमध्ये एक, बुटवल उप-महानगरपालिका, लुम्बिनी प्रदेशको रुपन्देही जिल्लामा पर्दछ । देशका प्रमुख राजमार्गहरु पूर्व पश्चिम राजमार्ग तथा सिद्धार्थ राजमार्गको संगम स्थलमा रहेको यस उप–महानगरपालिका विक्रम सम्बत २०१६ सालमा स्थापना भएको हो । नेपाल सरकार, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयद्वारा विक्रम सम्बत २०७१ मङ्सिर १६गते बुटवल नगरपालिकाबाट बुटवल उप–महानगरपालिकामा स्तरोन्नति भएको यस क्षेत्रको पुर्वमा देवदह नगरपालिका, पश्चिममा सैनामैना नगरपालिका, उत्तरमा पाल्पा जिल्लाको तिनाउ गाँउपालिका रहेको छन् र दक्षिणपट्टिको सिमानाको रुपमा तिलोत्तमा नगरपालिका र शुद्धोधन गाँउपालिका रहेका छन् ।

तिनाउ नदिको किनारमा अवस्थित बुटवलको उच्चतम तापमान ४५ डिग्री सेल्सिअस सम्म पुग्दछ भने न्युनतम तापमान ७ डिग्री सेल्सिअस सम्म पुग्ने गरेको रेकर्ड गरिएको छ । विक्रम सम्बत २०७८ को जनगणना अनुसार यस क्षेत्रको कुल जनसंख्या १,९४,३३५ रहेको छ  जसमध्ये ९४,८४९ जना पुरुष थिए भने ९९,४८६ जना महिला छन् । ९१.३१ प्रतिशत जनसङ्ख्या साक्षर रहेको बुटवलमा शिशु कक्षा देखि स्ताकोत्तर तहको अध्यापन गराउने शिक्षालयहरुको बाक्लो उपस्थिती रहेको छ । तथापी गुणस्तरीय अस्पतालको अभाव भने कायम नै छ । 

खस्यौली, बटौली, बुटौल जस्ता नामले चिनिने ठाउँ अहिले बुटवलका नाममा स्थापित छ । अहिलेको बुटवल सयौं वर्षअघि गणराज्यको राजधानी र व्यापारिक नाका थियो । जितगढी किल्लामा नेपालली सेनाले अंग्रेजहरूलाई दुई सय वर्षअघि हराएका थिए । सेनवंशीय राजाहरूले यहीँ शीतकालीन राजधानीका रूपमा प्रयोग गरेका थिए । नुन र कपडाको व्यापारीक केन्द्रबाट सुरुवात भएको बुटवल महेन्द्र राजमार्ग र सिद्धार्थ राजमार्गको विस्तारपछि बुटवलले एक सय वर्ष अघिदेखि मात्रै आधुनिक स्वरुप पाएको हो ।

बुटवल पहिलेदेखि नै विविधताले भरिपूर्ण सहर हो । ५ सयवर्ष अगाडि पाल्पा राज्यका राजा मणिमुकुन्द सेनले काश्मीरबाट कशौधनहरुलाई व्यापारका लागि यहाँ ल्याए भने नेवारहरु पनि त्यसै सेरोफेरोमा यहाँ आएका थिए । १९९५ सालतिर मुस्ताङबाट थकालीहरु यहाँ आए । व्यापार विनिमयमा तत्कालीन समयमा यो क्षेत्र प्रख्यात थियो । पहाडबाट ल्याएको घिउ प्रशोधन गरेर भारतसहितका मुलुकमा पठाइन्थ्यो । ल्हासाको नुन, सुन, पहाडको जडिबुटी, घिउ, तेलजस्ता सामग्री बेच्ने व्यापारीक केन्द्रका रुपमा  बुटवल स्थापित रहेको थियो ।

आर्थिक राजधानीका रुपमा बुटवल
मुलुकको आर्थिक गतिबिधि वा समग्र आधारभूत आर्थिक प्रश्नहरुको समाधानको ल्याकत राख्ने, उत्पादनका समाधानहरुको परिचालन र व्यवस्थापन गर्न सक्ने सहरलाई आर्थिक राजधानी मानिन्छ । विशेषगरी उत्पादनका सन्दर्भमा देशमा रहेका आर्थिक अवसरहरु तथा आर्थिक चुनौतीहरुलाई सहि तरिकाले व्यवस्थापकिय क्षमताका आधारमा समाधानका ठोस योजनाहरुको प्रयोग गर्न सक्ने र अर्थतन्त्रलाई सहि दिशा वा नमुना प्रस्तुत गरि अगाडि जान सक्ने क्षमता भएको शहर आर्थिक राजधानी शहर हो । यस्तो क्षमता बुटवलमा रहेको कुरालाई गणतन्त्रपछिका सामाजिक आर्थिक पूर्वाधार विकासको प्रगतीले प्रमाणित गरिसकेको छ । आर्थिक राजधानीका लागि चाहिने भौतिक पूर्वाधारको साथमा मानव संसाधनको विकास पनि बुटवलमा रहेको तथ्यलाई यहाँको सेवा क्षेत्रको सुविधा विस्तारले प्रमाणित गरिरहेका छन् ।

सबलीकरणका आधारहरु :
शिक्षा : बुटवललाई शैक्षिक हबको रुपमा बिकास गर्न सकिन्छ । यहाँका सामुदायि विद्यालयहरुले मुलुकमै उत्कृष्ट नतिजा हासिल गरेका छन् भने निजी लगानीमा सञ्चालित संस्थागत विद्यालयहरुको नतिजा पनि उत्कृष्ट नै आउने गरेका छन् । पहाडि जिल्लाहरुबाट उच्च शिक्षाका लागि आउने ठलोका रुपमा रहेको बुटवललाई अन्य व्यवसायिक तथा प्राविधिक शिक्षाको समेत हब बनाउन सकिन्छ । 

पर्यटन : साँस्कृतिक पर्यटन, धार्मिक पर्यटन, पर्यापर्यटन, औद्योगिक पर्यटन, अटोमेकानिकल्स पर्यटन, ऐतिहासिक क्षेत्र अध्ययन पर्यटन, शैक्षिक पर्यटन, खेल पर्यटन । 

व्यापार : आभारभूत अत्यावश्यक देखि आधुनिक विलासीताका उत्पादनसम्मको बिक्री केन्द्र हो । 

अटोमोबाईल्स :  देशकै उत्कृष्ट मैनाबगर अटो भिलेज अटोसँग सम्बन्धित अध्ययन, अनुसन्धान तथा अभ्यासको केन्द्रका रुपमा विकसित गर्न सकिन्छ । 
यस बाहेक विभिन्न सेवा उद्योगको माध्यमबाट पनि बुटवलको सबलीकरण सम्भव छ । 

अवरोधकहरु
- फैलिएको बुटवल र पुरानो मानसिकता
- पहाडी जिल्लाहरुसँग खुम्चिदै गएको व्यापारिक सम्बन्ध
- प्रतिभा र पुँजी पलायनको फैलिदो संक्रमण 
- युवा व्यवसायीमा बढ्दै गईरहेको व्यवसाय रुपान्तरणको अभियान 
- व्यवसायीक घरानाका उत्तराधिकारी बीचको अन्यौलता
- खुला सिमानाको बिस्तारित नकारात्मक प्रभाव
- स्थानीय अर्थतन्त्रको मोडलमा अन्यौलता 
- व्यवसायीक संघ सस्थामा राजनैतिक प्रभाव उच्चस्तरमा पुग्नु
- गुणस्तरीय स्वास्थ्य सेवाको लागि मेडिकल कलेजको अभाव
- अव्यवस्थित पार्किङ, करमाथीको कर तथा लागुपर्दाथ दुव्र्यसनीको हब
- स्थानीय घरेलु उत्पादनको प्रचारप्रसार र प्रयोगमा ह्रास 

गर्नुपर्ने काम 

स्थानीय सरकार 
- स्थानीय रैथाने पेसा व्यवसायको मौलिकता कायम गरि उत्पादन बिस्तारमा जोड
- प्रभावकारी अनुगमन र पार्किङ् समस्या समाधानका लागि अल्पकालिन तथा दीर्घकालिन योजना 
- आगन्तुकमैत्री सार्वजनिक शौचालय , प्रतिक्षालय र पिउने पानीको व्यवस्थापन,
- व्यवसायमैत्री स्वचाालित कर प्रणाली, वैज्ञानिक र समयसापेक्ष घरभाडादर निर्धारण , 
- स्थानीय हाटबजारहरुको आधुनिक व्यवस्थापन, करको दायराबाहिरका व्यवसायीलाई करमा आबद्धता

प्रदेश सरकार 
संघीय सरकारसँगको सहकार्यमा मोतिपुर औद्योगिक क्षेत्रको सञ्चालन र व्यवस्थापन गरि बुटवल औद्योगिक क्षेत्रको वैज्ञानिक व्यवस्थापन हुन आवश्यक छ । बुटवलको आर्थिक सबलीकरणका लागि प्रदेश सरकारले बुटवललाई आर्थिक राजधानीका रुपमा अबिलम्ब घोषणा गर्नु आवश्यक छ । प्रदेश सरकारले रामापिथेकस बोटानिकल गार्डेन , जितगढी ऐतिहासीक स्थलको प्रर्वद्धन, पुरानो बुटवल साँस्कृतिक सम्पदाको प्रचारप्रसार तथा बजारीकरण गर्न जरुरी छ । 

संघीय सरकार 
केन्द्रिय सरकारको पहलमा बुटवलमा दर्जनौँ बहुृउद्देश्यीय पूर्वाधार विकासका योजनाहरु चलिरहेको अवस्थामा तत्कालका लागि बुटवलमा रहेका संघीय कार्यालयहरुको स्थानान्तरण नगरिदिने तथा दीर्घकालिन रुपमा कालिगण्डकी तिनाउ नदी पठान योजना , मेडिकल कलेजको सञ्चालन ,प्रस्तावित मोतिपुर औद्योगिक क्षेत्रको पूर्णता, प्राविधिक विश्वविद्यालयका कार्यक्रमहरु सहित आर्थिक राजधानीको अवधारणालाई व्यवहारिकता प्रदान गरिनु आवश्यक छ । 

व्यवसायिक संघ सस्थाहरु
बुटवलको व्यापार बिस्तार तथा विविधिकरणका लागि स्थापना भएका विभिन्न व्यवसायिक संघ सस्थाहरुका बीचमा राजनैतिक स्वार्थका कारणले साझा हितका विषयमा सैद्धान्तिक रुपमा एकरुपता देखिएता पनि व्यवहारिक कार्यान्वयनका शिललिलामा त्यो देखिदैन । यसकारण सबैभन्दा पहिले कार्यान्वयनमा साझाँ बुझाईको जरुरी छ । 

निष्कर्ष 
कोभिड १९ को आर्थिक प्रभावपछि बुटवलको आर्थिक गतिविधिमा सुस्तता आएको छ । युवा उद्यमी र व्यवसायीहरुले स्वदेश छोड्ने र ऋणको सावा ब्याज बुझाउन समेत नसकेको कारण सम्र्पकबिहिन भएर बस्नेक्रम बढिरहेको छ । बुटवलको आयतन फैलिएको छ । हामीले यो तथ्यलाइ स्वीकार गरेर भोलिको बुटवलको नक्सा बनाउनुपर्ने बाध्यता रहेको छ । विगतमा पहाडी जिल्लाको आर्थिक केन्द्रका रुपमा बुटवल रहेता पनि वर्तमानमा त्यो इतिहासका रुपमा दर्ता भइरहेको अवस्थालाई मध्यनजर गरि हामी सबैले साझा पहल गरि बुटवललाई पुनःजीवन दिनु नै वर्तमानको आवश्यकता हो । 
 

हुमराज भुसाल
लेखकको बारेमा
हुमराज भुसाल