ताजा अपडेट »

एकीकृत समाजवादीको रुपन्देही जिल्ला अधिवेशन चैत ९ र १० गते, तयारी तीब्र

विहीबार, ०७ चैत्र २०८१, ११ : ११
100 Shares
विहीबार, ०७ चैत्र २०८१
100 Shares

बुटवल । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को दशौं जिल्ला अधिवेशन यही चैत ९ र १० गते बुटवलमा हुने भएको छ । 

महाधिवेशनको सम्पूर्ण तयारी पुरा भएको नेकपा एकीकृत समाजवादी रुपन्देहीले विहीबार बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी गराएको हो । महाधिवेशनका लागि रुपन्देहीका ५ वटा निर्वाचन क्षेत्रहरुबाट १२८ जना प्रतिनिधि छनौट भएको नेकपा एकिकृत समाजवादी रुपन्देहीका इन्चार्ज तथा पोलिटब्यूरो सदस्य नन्दलाल बन्जाडेले बताए ।

विधान बमोजिम १० प्रतिशत जिल्ला कमिटिले मनोनित  गर्न पाउने व्यवस्था अनुसार १३ जना मनोनित प्रतिनिधिसहित महाधिवेशनमा कुल १४१ प्रतिनिधि रहने उनले बताए । उनका अनुसार रुपन्देही क्षेत्र नम्बर १ बाट ४० जना, २ वाट ४३ जना, ३ वाट २१ जना, ४ वाट ११ जना, ५ वाट ७ जना प्रतिनिधि छनौट गरिएको बन्जाडेले बताए । साथै नयाँ बन्ने कमिटिमा २० प्रतिशित ४० वर्ष भन्दा कम उमेरका यु्वाहरुको प्रतिनिधित्व रहने समेत उनले बताए । 

यसपटक प्रतिनिधि नभएकाहरु जिल्लाको अधिवेशनमा सहभागी हुन नपाउने व्यवस्था समेत गरेको  बन्जाडेले बताए । यसअघि जिल्लाका पदाधिकारी तथा सदस्यहरु स्वत प्रतिनिधि हुने प्रावधान रहँदै आएकोमा रुपन्देहीमा प्रतिनिधि अनिवार्य हुने व्यवस्था गरिएको बताए । 

उद्घाटनका लागि पार्टी अध्यक्ष माधवकुमार नेपाल आउने कार्यक्रम तय भए विदेश भ्रमणमा रहेकाले सम्मानित नेता नेता झलनाथ खनाल वा महासचिव घनश्याम भुसाल मध्य एक जनाले अधिवेशनको उद्ध्घाटन गर्ने नेकपा एकीकृत समाजवादी रुपन्देहीका कार्यवाहक अध्यक्ष श्रीराम यादवले बताए । 

२०७८ साल भदौ ९ गते नेकपा (एमाले) बाट अलग भएर बनेको एकीकृत समाजवादीले २०७९ साल असार १६(१९ मा राष्ट्रिय महाधिवेशन गरिसकेको छ।  
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।