ताजा अपडेट »

नक्कली बुवा बनेर भारतीयलाई नागरिकता दिलाउने पक्राउ

बुधबार, ०६ चैत्र २०८१, २१ : १२
40 Shares
बुधबार, ०६ चैत्र २०८१
40 Shares

सिरहा । सिरहामा नक्कली बुवा बनेर एक भारतीयलाई नागरिकता दिलाउने व्यक्ति पक्राउ परेका छन् । नक्कली बुवा बन्ने नरहा गाउँपालिका–३ खोरियाका अमानत मियाँलाई प्रहरीले पक्राउ गरेको हो ।

मियाँलाई मङ्गलबार साँझ घरबाटै पक्राउ गरिएको सिरहाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रमेश पण्डितले जानकारी दिए । उनका अनुसार सिरहा जिल्ला अदालतबाट आज म्याद लिएर उनीमाथि विस्तृत अनुसन्धान सुरु गरिएको छ ।

नरहा गाउँपालिका–३ को वडा कार्यालयको सिफारिसमा जिल्ला प्रशासन कार्यालय, सिरहाले भारतीय नागरिक मोसताक मियाँलाई २०८० असार २६ मा नेपाली नागरिकता दिएको थियो । अमानत मियाँ र उनकी पत्नी रजिना खातुन नक्कली बुवाआमा बनेका थिए ।

नागरिकताका लागि वडाध्यक्ष रुषतम अन्सारी र वडासचिव रामदेव मण्डलले सिफारिस दिएका थिए । वडाध्यक्ष, सचिव र जिल्ला प्रशासनका कर्मचारीले आर्थिक चलखेल गरी नागरिकता दिलाएको भन्दै जिल्ला प्रशासनदेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र गृह मन्त्रालयसम्म उजुरी परेको थियो ।

यस प्रकरणमा भारतीयलाई मिलेमतोमा नागरिकता दिलाएको भन्दै दोषीमाथि कारबाही गर्नुको सट्टा संरक्षण गरिएको भन्दै सांसद राजकिशोर यादवले गत फागुन २७ गतेको संसद बैठकमा आपत्ति जनाएका थिए ।

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।