बुटवल । सहकारी ठगहरु विदेशमा घुमिरहेको र सहकारी पीडित सडकमा रोहिरहेको पूर्व आइजीपी सबेन्द्र खनालले बताएका छन् ।
वित्तिय अराजकताको विरुद्धमा ९ वटा संगठनले चैत्र १७ गतेदेखि काठमाडौंमा गर्न लागेको बृहत आन्दोलनको तयारीका लागि बुटवलमा आएका पूर्व आइजीपी खनालले सो कुरा बताएका हुन् । उनले सहकारी पीडितहरुको आँसु देखेर अभियानमा सामेल भएको बताएका छन् । सहकारी पीडितहरुले आफ्नो बचत गरेको रकम माग्दा सरकारले माग्नेको जस्तो व्यवहार गरेको उनले बताए ।
साथै सहकारी पीडितको आन्दोलनलाई सरकारले नजर अन्दाज गरे अहिलेका शासकहरु देश छाडेर भाग्ने स्थिती छिट्टै आउने चेतावनी दिए । साथै उनले चैत्र १७ गते काठमाडौंमा हुने आन्दोलनमा सहभागि हुन सबै सहकारी पीडितसँग अपिल गरे ।
यस्तै वित्तिय समस्या समाधान संयुक्त राष्ट्रिय अभियान महासंघका केन्द्रिय अध्यक्ष कुशलब केसीले वर्षौंसम्म पनि सरकारले वित्तीय शोषण गर्ने संस्थाहरूलाई कारवाही पनि नगर्ने र पीडितहरूलाई न्याय पनि नदिएको भन्दै आक्रोश व्यक्त गरे ।
विभिन्न पीडित संगठनहरूको संयुक्त आन्दोलन अबको समयमा निर्णायक बन्ने विश्वास लिदै भने, “मैले पीडितको पक्षमा आन्दोलन गर्दैगर्दा देशद्रोहीलाई जस्तै ब्यावहार गरियो, राज्यबाटै हत्याको प्रयास भयो । शरीर पीडितहरूका लागि भयो, मारे भने मेरो लास सिंहदरबारको गेट अगाडि जलाइदिनु, मलाई मार्ने जनविरोधीलाई पनि ज्यूँदो नछाड्नु ।”
साथै राजनीतिक दलको दास बने कुनै पनि हालतमा सहकारी पीडितको बचतको रकम फिर्ता नहुने बताए । अहिलेका राजनीतिक दलहरुले मन्त्रीको कुर्ची पाएपछि जनताका पिरमर्का भुलेकोले जनतालाई कमजोर नसोच्न चेतावनी दिदैँ उक्त आन्दोलन निर्णायक हुने बताए ।
बुटवलको शिवशिखर सहकारी पीडित संघर्षसमितिका अध्यक्ष राजेन्द्र पन्थले रुपन्देहीमा धेरै नागरिक सहकारीबाट पीडित बनेकाले आन्दोलनमा यहाँबाट उल्लेखनीय संख्यामा सहभागि हुने बताए ।
प्रतिक्रिया