दाङ । लुम्बिनी प्रदेशभर माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को तयारी पूरा भएको छ । बिहिवार विहान ८ बजेबाट माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरु हुदैछ । यस वर्ष प्रदेशभर ९४ हजार ९ सय ८ परीक्षार्थी सहभागी हुनेछन् । परीक्षा व्यवस्थितरूपमा सञ्चालन गर्न ३४८ परीक्षा केन्द्र तोकिएको छ भने ८ हजार ६ सय कर्मचारी परिचालन गरिने छन् ।
शिक्षा तथा सामाजिक विकास निर्देशनालयका निमित्त महानिर्देशक रेश्मीराज अर्यालका अनुसार परीक्षाको आवश्यक तयारी सबै पुरा भएको छ ।‘परीक्षा सञ्चालनका लागि गर्नुपर्ने सबै तयारी पुरा भएको छ’उनले भने,‘अव विद्यार्थीहरु परीक्षा केन्द्रमा पुग्न र ढुक्क भएर जाँचमा बस्न मात्रै बाँकी छ ।’
यस वर्ष रुपन्देही मा सबैभन्दा धेरै २२ हजार ९ सय ७५ परीक्षार्थीले परीक्षा दिनेछन् भने दाङ मा १४ हजार दुई सय ५४, कपिलवस्तु मा ९ हजार ४ सय ६१, बाँके मा १० हजार २ सय ७४ परीक्षार्थी सहभागी हुनेछन् । पाल्पामा ४ हजार ९ सय १०, गुल्मीमा ४ हजार ८ सय ५७, अर्घाखाँचीमा ३ हजार ४ सय ६५, रोल्पामा ४ हजार ७ सय ६५, प्युठानमा ४ हजार ९ सय ४०, बर्दियामा ७ हजार ७ सय ६२, नवलपरासी पश्चिममा ६ हजार ३ सय ९७, रुकुमपूर्वमा १ हजार २ सय परीक्षार्थी सहभागी हुदैछन् । नियमिततर्फ ७४ हजार ५ सय ९८ परीक्षार्थी छन् भने ग्रेड वृद्धिका लागि २० हजार ३ सय १० परीक्षार्थीले परीक्षा दिनेछन् । यसैगरी, प्राविधिक धारतर्फ ३ हजार १ सय ७४ विद्यार्थीले परीक्षा दिने भएका छन् ।
परीक्षा निष्पक्ष र मर्यादित बनाउन ८ हजार ६ सय कर्मचारी परिचालन हुदैछन् । केन्द्राध्यक्ष ३ सय ४८ जना, सहायक केन्द्राध्यक्ष ६ सय ३४, निरीक्षक ४ हजार ७ सय ५८, सहायक ९ सय ५८ र कार्यालय सहयोगि १ हजार ९ सय २ जना परिचालन हुँदैछन् । परीक्षा निष्पक्ष बनाउन शिक्षा निर्देशनालयले अनुगमन टोली परिचालन गर्ने जनाएको छ ।
मुख्यमन्त्रीको अपिलः ढुक्क भएर परीक्षा दिनुहोस्
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले एसईई परीक्षामा सहभागी सबै विद्यार्थीलाई मनोबल उच्च राख्दै ढुक्क भएर परीक्षा दिन अपिल गर्नुभएको छ । उनले परीक्षा जीवनको एउटा महत्वपूर्ण चरण भए पनि यसको दबाब नलिई आत्मविश्वासका साथ प्रस्तुत हुन विद्यार्थीलाई आग्रह गरे । साथै, परीक्षा निष्पक्ष रूपमा सम्पन्न गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
मुख्यमन्त्री आचार्यले अभिभावक, शिक्षक, विद्यालय प्रशासन तथा सम्बन्धित निकायलाई परीक्षाका लागि आवश्यक वातावरण सिर्जना गर्न आह्वान गरेका छन् । साथै, परीक्षा केन्द्रहरूमा शान्तिपूर्ण तथा व्यवस्थित वातावरण कायम गर्न प्रशासन र सुरक्षाकर्मीहरूलाई आवश्यक निर्देशन दिइसकिएको छ ।
प्रतिक्रिया