काठमाडौं । धनुषाको सबैला नगरपालिकामा प्रहरीले चलाएको गोली लागेर एकजना गम्भीर घाइते भएका छन् । घाइते स्थानीय सन्तोष यादव भएको मधेस प्रदेश प्रहरी प्रमुख डीआईजी लालमणि आाचार्यले बताए । सोमबार दिउँसो दुई समुदायबीच तनाव बढ्दा भिडलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाएको थियो ।
डीआईजी आचार्यका अनुसार, सबैला नगरपालिकामा पर्ने एक चोकमा यादव समुदायले ‘यादव चोक’ लेखिएको बोर्ड राखेका थिए । अन्य समुदायका व्यक्तिले उक्त बोर्ड हटाएपछि दुई समुदायबीच विवाद बढेको थियो ।
“बोर्ड हटाएपछि विवाद बढेको थियो । विवाद मिलाउन खोज्दा उल्टै प्रहरीमाथि हातपात भयो । त्यसपछि प्रहरीले घटनालाई नियन्त्रणमा लिन बल प्रयोग गरेको थियो । प्रहरीले चलाएको गोली लागेर सन्तोष यादव नाम गरेका व्यक्ति गम्भीर घाइते भएका छन्,” डीआईजी आचार्यले भने ।
दुई समुदायबीच आइतबार पनि विवाद भएको थियो । आइतबार घटनालाई नियन्त्रणमा लिन अश्रु ग्यास प्रहार गरेको थियो ।
प्रतिक्रिया