ताजा अपडेट »

विदेशमा ज्यान गुमाएका नेपालीको शव फिर्ता ल्याउन कूटनीतिक पहलको माग

सोमबार, ०४ चैत्र २०८१, १२ : १६
16 Shares
सोमबार, ०४ चैत्र २०८१
16 Shares

काठमाडौँ । विदेशमा कार्यरत नेपालीको जीउधनको सुरक्षाको प्रत्याभूति र त्यहाँ ज्यान गुमाएकहरुको शव स्वदेश फिर्ता ल्याउन कूटनीतिक पहलका लागि सांसदहरुले सरकारसँग माग गरेका छन् । 

प्रतिनिधिसभाको आजको बैठकमा सांसद माधव सापकोटाले सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–८ का सुमिना तामाङको वैदेशिक रोजगारीका क्रममा इराकमा मृत्यु भएको र शव नेपाल झिकाउनका लागि आवश्यक कानुनी र कूटनीतिक प्रक्रिया अघि बढाउन माग गरे ।

सांसद डा चन्दा कार्की भण्डारीले पछिल्लो नौ दिनमा देशका विभिन्न स्थानमा १५ जनाको शव फेला परेको उल्लेख गर्दै सुरक्षा व्यवस्थामा गम्भीर कमजोरी देखिएको बताए । उनले हरेक तीन दिनमा औसत पाँच जनाको हत्या भइरहेको दाबी गरे । 

सांसद दीपकबहादुर सिंहले युवाहरु विदेश पलायन बढ्दा मुलुकको अर्थतन्त्र कमजोर हुँदै गएको बताए । देशको आर्थिक विकासका लागि पर्यटक भित्र्याउनका लागि यौन व्यवसाय खुला गरिनुपर्छ भनेर संसद्मा बोलिनु आपत्तिजनक रहेको उनको भनाइ थियो । राप्रपा सांसद ज्ञानबहादुर शाहीमाथि आइतबारको संसद् बैठकमा अपमान भएको पनि उनको भनाइ छ ।

सांसद कृष्णकुमार श्रेष्ठले बाराका व्यवसायीहरुले जिल्ला प्रशासनबाट अनावश्यक दुःख भोग्नु परेको बताए । बारा जिल्लाको विकास निर्माणका लागि आफूले संसद्मा पटकपटक कुरा उठाए पनि त्यसको सुनुवाइ नभएको श्रेष्ठको भनाइ छ । अमलेखगञ्जका नागरिकका लागि खानेपानीको व्यवस्था गर्न उनले संसद्मार्फत सरकारको ध्यानाकर्षण गराए ।

सांसद लालवीर चौधरीले बर्दिया जिल्लामा जङ्गली जनावर र मुख्यगरी हात्तीको आक्रमणबाट नागरिकले ज्यान गुमाइरहेको र जङ्गली जनावरको त्रास बढिरहेको विषय संसद्मा राख्नुभयो । मध्यवर्ती क्षेत्र व्यवस्थापनका लागि पनि उनले आग्रह गरे । 

त्यस्तै, जङ्गली जनावरको आक्रमणबाट पीडित परिवारलाई राहत तथा क्षतिपूर्ति दिनुपर्ने उनको भनाइ छ । सांसद डा अमरेशकुमार सिंहले दलितमाथि हुने विभेद अझै कायम रहेको बताए । सर्लाहीमा अवैध ढुङ्गा बालुवा खानी नजिक आपराधिक घटना बढिरहेको विषय पनि उनले संसद्मा उठाए ।

सांसद सीताकुमारी रानाले बाजुराको जगन्नाथ गाउँपालिका–६ का स्थानीयले राष्ट्रिय जनावर गाईलाई खोलामा बगाएर मारेको विषयमा संसद्मार्फत ध्यानाकर्षण गराए । गाई चोरी(पैठारी भइरहेको विषय पनि उनले संसद्मा उठाए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।