ताजा अपडेट »

रूपन्देही प्रहरी गत फागुन महीनामा ११३ फरार प्रतिवादी पक्राउ गर्न सफल

आइतबार, ०३ चैत्र २०८१, २३ : ३३
62 Shares
आइतबार, ०३ चैत्र २०८१
62 Shares

बुटवल । रुपन्देही प्रहरीले फागुन महिना भरीमा १ सय १३ जना फरार प्रतिवादीहरूलाई पक्राउ गरेको छ ।

अदालतबाट विभिन्न मितिमा भएका फैसला कार्यान्वयनका क्रममा उनीहरूलाई रुपन्देही प्रहरीले पक्राउ गरिएको हो । प्रहरीकारअनुसार अदालतले दण्ड जरिवाना तथा कैद सजाय तोकेपछि फरार रहेका उनीहरूलाई पक्राउ गर्दा १७ वर्ष २८ दिन कैद सजाय असुलउपर भएको छ ।

जिल्ला प्रहरी कार्यालय, रुपन्देहीले आइतबार नियमित मासिक पत्रकार सम्मेलन गर्दै एक महिनामा प्रहरीले सम्पादन गरेका कामको विवरण सार्वजनिक गरेको हो । प्रहरी प्रवक्ता डिएसपी सुरज कार्कीले फरार प्रतिवादी पक्राउ पर्दा २५ लाख ६६ हजार १५६ रुपैयाँ असुल समेत भएको पनि जानकारी दिए ।

उनले  ‘१७ जना फरारलाई २० वर्ष पछि पक्राउ गरिएको बताए ।’, उनले भने, ‘अपराध गर्ने अनि नेपाल–भारतका विभिन्न ठाउँमा लुकीछिपी बस्ने गरेका उनीहरूलाई हामीले टिम नै खटाएर पक्राउ गर्ने गरेका हाैँ ।’

कार्कीले अपराध गरेपछि कुनै न कुनै दिन कानुनी दायरामा आउने पर्ने बताए । उनले फागुनमा लागू औषध ओसारपसार र कारोबारमा संलग्न भएका  १४ जनालाई पक्राउ गरेर मुद्दा चलाइएको समेत बताए ।  कार्कीका अनुसार भारतबाट  अवैध रुपमा नेपाल भित्र्याइएको विभिन्न  खालका सामानहरू समेत बरामद गरिएको छ । यसबाट १ करोड ८८ हजार ७८२ रुपैयाँ राजस्व सङ्कलन भएको छ भने प्रहरीले चोरी तस्करीमा संलग्न ६ जना मानिसलाई समेत नियन्त्रणमा लिइएको  जनाएको छ ।

‘सीमा नाकामा निगरानी बढाइएको र अवैध कार्य गर्ने र गराउनेलाई प्रहरीले कानुनी दायरामा ल्याउँने प्रहरीको भनाइ छ ।’ प्रहरीले विभिन्न हत्यामा संलग्न व्यक्तिलाई  पहिचान गरी पक्राउदेखि ठाडो उजुरीमा परेका गुनासाहरू सम्बोधन गरिएको बताएको छ । फागुनमा ११ हजार ६४० फोन कल मार्फत् प्रहरी सहायता मागिएकामा सबै जनालाई आवश्यक सहयोग गरिएको प्रहरी प्रवक्ता डिएसपी कार्कीले बताए ।

उनकाअनुसार पछिल्लो समय रुपन्देहीमा घरेलु हिंसा र आत्महत्याका घटना भने केही मात्रामा बढेका देखिएको छ। घरेलु हिंसामा पर्नेमा अधिकांश २६ देखि ३५ वर्ष उमेर समूहका छन् भने फागुनमा सबैभन्दा बढी १३ वटा बुटवल उपमहानगरमा घरेलु हिंसाका घटनाहरू घटेका छन् । यस्तै, फागुनमा २७ जनाले आत्महत्या गरेका छन्  भने आत्महत्या गर्नेहरूमा १९ देखि २५ वर्ष उमेर सम्मका युवापुस्ताका धेरै छन् ।

‘हामीले नियमित रूपमा हिंसा न्यूनीकरणका काम गरिरहेका छौँ । आत्महत्या न्यूनीकरणका पनि काम भएका छन्’, उनले भने, ‘स्थानीय सरकारले प्रभावकारी रूपमा अभियान चलाए यस्ता घटना केही कम हुने थिए ।’ प्रहरीले विभिन्न ठाउँमा नियमित ट्राफिक चेकिङ गरिएको, समुदाय–प्रहरी साझेदारी कार्यक्रम गरेको जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।