दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका १८ मनिकापुरका स्थानीय बल बहादुर वलीको खेतबारी हिउँदको समयमा बाँझो हुने गर्दथ्यो । तर, विगत २ वर्षदेखि गाउँमा डीप बोरिङ सञ्चालनमा आएपछि अहिले खेतीपाती गर्न सहज भएको उनले बताए । उनका अनुसार बर्खामा मात्रा धान खेती हुने आफ्नो जग्गामा सिँचाइ अभावका कारण हिउँदे बाली लगाउन समस्या हुने गरेको थियो । तर, अहिले बोरिङको पानीले सिँचाइ सुविधा भएपछि धेरै सहज भएको उनले बताए ।
उनले भने,‘ हामीलाई सिँचाइको अभाव नै थियो । अहिले गाउँमा डीप बोरिङ सञ्चालनमा आएको छ । त्यसले गर्दा अहिले धेरै सहज भएको छ । यो पटक हिँउदमा पनि खासै पानी परेको छैन् । तर, हामीले लगाएको अन्नबालीहरू राम्रै उत्पादन भइरहेको छ ।’ बल बहादुर मात्र नभइ स्थानीय छवि कुमार पौडलले पनि खुशी छन् । उनले खेतमा लगाएको गहुँ अहिले राम्रै फलेको छ । हिउँदको समयमा बाँझो रहने जग्गाहरूमा अहिले हरियाली भएको भन्दै यो डीप बोरिङ सञ्चालन आएपछि भएको उनको भनाइ छ । उनका अनुसार बोरिङको सिँचाइले गाउँमा सबैलाई राहत मिलेको छ । उनले भने,‘ सुख्खा रहने जग्गाहरूमा अहिले अन्नबाली निकै राम्रो हुने गरेको छ । विगत २ वर्षदेखि हामीलाई बर्खा र हिउँदको समयमा खेती गर्न निकै सहज भएको छ ।’ वृहत दाङ उपत्यका सिँचाइ आयोजनाले गाउँमा डीप बोरिङ सञ्चालन गरिदिएपछि अहिले खेती गर्ने धेरै सहज भएको उनको भनाइ ।
यस्तै अर्का स्थानीय तीर्थराज पुनले बोरिङ सञ्चालन भएपछि गाउँका खेतबारीहरू हरियाली भएको बताए । बोरिङको पानीको कारण धेरै किसानहरूलाई राहत मिलेको भन्दै उनले अहिले बर्खा र हिउँदको समयमा खेती गर्न सहज भइरहेको भन्दै यसले गर्दा किसानहरूलाई सुविधा भएको बताए ।
३० बिगाहा जमिनमा सिँचाइ पुग्ने
एकीकृत जल उपभोक्ता समिति गठन अहिले गाउँमा सिँचाइ गर्ने गरेको समितिका अध्यक्ष राकेश बस्नेतले बताए । वृहत दाङ उपत्यका सिँचाइ आयोजनाले यो सञ्चालन भएको भन्दै उनले हिउँदको समय सुख्खा रहेको ठाउँ विगत २ वर्षदेखि खेती गरेर हरियाली हुने गरेको बताए । उनका अनुसार यो डीप बोरिङबाट ३० बिगाहा जमिनमा सिँचाइ पु¥याउने लक्ष्य रहेको भएयता पाइप लाइन विस्तार हुन बाँकी रहेको र अहिले जति ठाउँमा पुगेको छ, त्यहाँ किसानहरूले राम्रो खेती गरिरहेका छन् ।
डीप बोरिङमा ४ इन्चको पाइप रहेकोमा अहिले साढे ३ इन्च पानी आइरहने भन्दै उनले एक सय ४१ फिट गहिराइ रहेको समेत बताए । उनका अनुसार बर्खामा पनि धान खेती गर्नको लागि यो बोरिङको पानीले किसानहरूलाई धेरै राहत गरेको छ । अहिले करिब १२ बिगाहा जमिनमा सिँचाइ भइरहेको उनले बताए । गर्मी समय शुरु हुँदै गर्दा पानीका मुहानहरू सुक्दै गइरहेको अवस्थामा भने बोरिङबाट पानी निरन्तर रुपमा आइरहेको उनले बताए । यस्तै उनले सिँचाइको लागि एक घण्टाको डेढ सय शुल्क किसानहरूबाट लिने गरेको समेत बताए ।
हालसम्म करिब ३ अर्ब लगानी
जिल्लामा यो आयोजना शुरु भएपछि जहाँ सुख्खा ठाउँ रहेको थियो । त्यहाँ सिँचाइको व्यवस्था मिलाउँदा किसानहरू खुशी भइरहेको वृहत दाङ उपत्यका सिँचाइ आयोजना दाङका प्रमुख टोप बहादुर खत्री क्षेत्रीले बताए । सिँचाइ सुविधा पुगेपछि किसानहरूले परम्परागत रुपमा गर्दै आइरहेको खेती प्रणालीलाई परिवर्तन गरेर बेमौसमी तरकारी खेती गरेर आर्थिक लाभ लिइरहेको समेत बताए । विगतका वर्षहरूमा देखिने सुख्खा जमिनहरू अहिले हरियाली हुने गरेको समेत उनको भनाइ छ ।
उनका अनुसार आयोजनाले दाङ उपत्यकामा १२ महिना सिँचाइ सुविधा ५६ हजार हेक्टरमा पु¥याउने लक्ष्य रहेको छ । जसका लागि आयोजनाले पानी ड्राइभर्सन, जलाशय निर्माण, भूमिगत जल सिँचाई, किसानहरूले सञ्चालन गरेका संरचनाहरूको पुनःस्थापन, लिफ्ट सिस्टम जस्ता काम गरिरहेको उनको भनाइ छ । अहिलेसम्म आयोजना ३५ वटा जलाशयहरू निर्माण गरिसकेको भन्दै उनले १३ वटा जलाशयमा वितरण प्रणाली निर्माण भएको र बाँकीमा निर्माण हुन बाँकी रहेको बताए ।
यस्तै उनले ६३ वटा डीप बोरिङहरू निर्माण गरेको र त्यो मध्य १३ वटामा पानी वितरण प्रणाली निर्माण भइसकेको अन्य बाँकीमा वितरण प्रणाली निर्माण गर्ने चरण रहेको समेत बताए । उनका अनुसार एउटा जलाशयबाट ३० देखि ६० हेक्टरसम्म सिँचाइ पुग्ने निर्माण भएको छ, भने डीप बोरिङबाट पानीको अवस्था हेरेर ३० देखि ४० हेक्टरमा सिँचाइ पुग्ने अवस्थाका रहेका छन् । यस्तै उनले राज्यले दाङ उपत्यकामा अरबौँको लगानी लगाएर सिँचाइ पु¥याउने उद्देश्यका साथ काम गरिरहेको अवस्थामा पछिल्लो समय खेतीयोग्य जमिन नै मासिन्छन्, कि भन्ने चुनौति रहेको समेत बताए ।
आफूहरूले पनि खेतीयोग्य जमिन नमास्ने अवस्थामा मात्र सिँचाइको काम गरिरहेको भन्दै उनले अहिले स्थानीय तहलाई भू–वर्गीकरणको जिम्मा रहेको हुँदा यसलाई अझ छिट्टो कार्यान्वयनमा ल्याउन जरुरी रहेको समेत बताए । यो आयोजना सम्पन्न गर्न कुल अनुमानित लागत ४० अर्ब गरिएकोमा स्थापना भएदेखि हालसम्म २ अर्ब करोड रुपैयाँ खर्च भएको उनले बताए । यस्तै उनले यो आयोजना स्थापना हुँदा २०८/८५ सालसम्म सक्ने लक्ष्य रहेकोमा न्यून मात्रामा बजेट उपलब्धता हुने, आयोजना पनि प्राथामिकतामा नपर्दा अपेक्षित प्रगति हासिल गर्न नसकेको अवस्था रहेको पनि बताए ।
प्रतिक्रिया