ताजा अपडेट »
विश्व उपभोक्ताअधिकार दिवस

बुटवलमा व्यवसाय र मानव अधिकार सम्बन्धि अन्तरक्रिया सम्पन्न

आइतबार, ०३ चैत्र २०८१, २० : १५
60 Shares
आइतबार, ०३ चैत्र २०८१
60 Shares

बुटवल । व्यवसायी र उपभोक्ताहरू स्वयम् आफै सचेत रहनुपर्ने एक कार्यक्रमका वक्ताहरूले जोड दिएका छन् । विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा व्यवसाय र मानवअधिकार सम्बन्धि अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरूले सबै किसिमको व्यवसाय गर्ने व्यवसायीहरू हरेक उत्पादनको ब्राण्डिङ र लेभलिङमा विशेष ध्यान दिन आग्रह गरे ।

उपभोक्ता हित संरक्षण मञ्च नेपाल बुटवल नगरको आयोजनामा भएको कार्यक्रममा उपभोक्ताको स्वास्थ्यप्रति सबै व्यवसायी जिम्मेवार बन्न जरुरी रहेको सो अवसरमा बोल्ने वक्ताहरूले जोड दिएका हुन् ।

कार्यक्रममा अध्यक्ष समुन्द्र जिसीले कार्यक्रमबारे प्रकाश पार्दै जुनसुकै व्यवसाय गर्ने व्यवसायीले मानवअधिकारको विषयमा  ध्यान दिन जरुरी रहेको बताए । उनले मानवअधिकारको विषयलाई ध्यान दिन जरुरी । नकारात्मक कुरा चिर्दै सकारात्मक कुराले बुटवललाई चिनाउने गरी लागेको बताए ।

कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रीदेवी अर्यालले स्थानीय सरकार सदैव स्थानीयकै हितमा रहेको बताइन् । प्रमुख अतिथि उनले नगरले उपभोक्तालाई सचेत बनाउने वातावरण सृजना गरेको दाबी गरिन् । नगरको काममा व्यवसायीले सहीलाई सही र गलतलाई गलत भन्न सक्नुपर्ने बताउँदै सबैले इमानदारिताका साथ नगरलाई सहयोग गर्न आग्रह गरिन् ।

कार्यक्रममा उपभोक्ता हित संरक्षण मञ्च नेपालका पूर्व केन्द्रीय सदस्य डिआर घिमिरेले व्यवसाय र मानवअधिकार सम्बन्धि कार्यपत्र प्रस्तुतीकरण गर्दै व्यवसायीहरू उपभोक्ता मैत्री हुनुपर्ने बताए ।

बुटवल उपमहानगरपालिका अनुगमन शाखा अधिकृत ठगिश्वर पोखरेलले सबै व्यवसायी र उपभोक्ताको अधिकार सुरक्षित गर्दै अनुगमन गरिएकोमा जोड दिँदै संघीय सरकारले उपभोक्ता अदालत गठन गरी उपभोक्ताको अधिकारलाई प्राथमिकता दिएकोमा प्रशंसा व्यक्त गरे ।

व्यापार संघ सचिव मनहरी बस्यालले व्यवसायी र उपभोक्ताको सवालमा राज्य पनि जिम्मेवार बन्नुपर्नेमा जोड दिए । लुम्बिनी वेलफेयर सोसाइटी नेपालका अध्यक्ष डिएल शर्मा भुसालले पछिल्लो समय उपभोक्ताहरू सचेत भएकाले व्यवसायीहरू चनाखो हुन जोड दिए ।

लुम्बिनी फलफूल व्यवसायी सं अध्यक्ष बाबुराम भुसालले उपभोक्ता अदालत जान नपर्ने तरिकाले व्यवसायीलाई व्यवसाय गर्न आग्रह गर्दै खुल्ला सिमाना , घुमन्ते व्यापार गर्नेहरूलाई  राज्य स्तरबाट व्यवस्थित गर्नुपर्ने बताए ।

मासु व्यवसायी संघ रुपन्देहीका लक्ष्मण प्रसाद श्रेष्ठले व्यवसायी र उपभोक्ता सर्वप्रथम आफै सचेत रहनुपर्ने र व्यवस्थित व्यवसाय गरेकालाई प्राथमिकता दिनुपर्ने र ठेला व्यवसायीहरूलाई करको दायरामा ल्याउनुपर्नेमा जोड दिए ।

मिष्ठान्न क्याटरिङ व्यवसायी संघका केन्द्रीय अध्यक्ष लक्ष्मण पोखरेलले उत्कृष्ट व्यवसाय गर्ने वातावरण सृजना गर्न जरुरी रहेको बताए । उद्योग व्यापार संघका अध्यक्ष विष्णु पाण्डेले उपभोक्ताका हितमा व्यवसाय गर्नुपर्ने जोड दिँदै फुटपाथ र ठेला व्यवसायीले गुणस्तरमा ध्यान दिनुपर्ने , ब्राण्डिङ र लेभलिङलाई ध्यान दिन जरुरी रहेको बताए ।

बुटवल उद्योग व्यापार संघका वाणिज्य उपाध्यक्ष विमलराज भट्टराईले व्यवसायीहरू स्वयम विभिन्न बहानामा ठगिएकोमा चिन्ता व्यक्त गर्दै विज्ञापन बोर्डका नाममा आर्थिक ऐनले दिएको अधिकारसमेत खोसिएकोमा दुःख व्यक्त गरे ।

टिप्पणीकार ऋषि आजादले व्यवसायीहरूले उपभोक्तालाई भगवान् मान्नुपर्ने बताउँदै जुनसुकै काम निजी क्षेत्रलाई जिम्मा दिएमा त्यो सफल हुने बताए । बुटवल उपमहानगरपालिकाको सहयोगमा भएको उपाध्यक्ष भक्त बहादुर कार्कीको स्वागत मन्तव्य रहेको कार्यक्रममा विभिन्न सङ्घसंस्थाका प्रतिनिधि र बुटवलमा रहेर विभिन्न व्यवसाय गर्नेहरूको सहभागिता रहेको थियो।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।