भैरहवा। बुद्ध जन्मस्थल लुम्बिनीको प्रवेशद्वार भैरहवामा श्रावणेर (अल्पकालीन) भिक्षु भएकाहरूले शनिबार बुद्धको अस्ति धातुसहितको धम्मयात्रा गरेका छन् । लुम्बिनीस्थित मायादेवी मन्दिरमा फागुन २० गते पहेँलो चिवर ग्रहण गरी बुद्ध शिक्षाबाट प्रवजित भएका पाँच सय जना अल्पकालीन भिक्षुहरूले धम्मयात्रा गरेका हुन् ।
यो धम्म यात्रामा सहभागी भएका अल्पकालीन भिक्षुहरूले पहेँलो चीवर लगाएर बुद्ध धर्मका १० वटा नियमहरू पालना गर्नुपर्ने हुन्छ । बुद्धका सामान्य अनुयायीहरूले पञ्चशील र अष्टशीलको पालना गर्ने भए पनि अल्पकालीन भिक्षुले फागुन १६ गतेदेखि कपाल मुण्डन गरी आफूलाई पूर्ण रूपमा बौद्ध नियममा रूपान्तरण गरेका थिए । भिक्षु बन्नका लागि भने २२७ वटा नियमहरू पालना गर्नुपर्ने हुन्छ ।
धम्म यात्रा धम्मकाय फाउन्डेसन, थाई भिक्षु महासंघ, लुम्बिनी विकास कोष तथा बौद्ध समाज नेपालको आयोजनामा भएकाे हाे । धम्म यात्राका सहभागीहरूलाई भैरहवाका स्थानीयहरूले लुम्बिनी प्रवेशद्वारमा स्वागत गरेका थिए । भैरहवाको सिद्धार्थ क्रिकेट रङ्गशालादेखि लुम्बिनी गेटसम्म पैदलै हिँडेर आएका भिक्षु तथा अल्पकालीन भिक्षुहरूलाई लुम्बिनी गेटमा पुष्पअर्पण गरी स्वागत गरिएको थियो ।
सिद्धार्थ गौतमले बुद्धत्व प्राप्त गरेपछि भैरहवा हुँदै गृहनगर कपिलवस्तु पुगेको दिनको स्मरण गर्दै बुद्धको उपदेश विश्वभर फैलाउन गत वर्षदेखि भैरहवामा धम्म यात्राको सुरूवात गरिएको आयोजकले बताएका छन् ।
धम्मयात्रा कार्यक्रममा लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति डा. सुवर्णलाल बज्राचार्यले भगवान् बुद्धले बुद्धत्व प्राप्त गरेपछि सिद्धार्थनगर (भैरहवा) हुँदै लुम्बिनी, कपिलवस्तु आएको बताउँदै बुद्ध धर्मको संघ पनि यसै क्षेत्रका मानिसहरूको सहभागिताबाट सुरु भएको बताए । उनले बुद्धका उपदेशहरू मानव कल्याण, शान्ति र सद्भावको प्रतीक भएको बताउँदै श्रावणेर भएकाहरूको धम्म यात्राले बुद्धका सन्देशलाई फैलाउने विश्वास समेत व्यक्त गरे ।
कार्यक्रममा बाेल्दै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले बुद्धले राजपरिवारको सुख सयल त्यागेर बुद्धत्व प्राप्त गरेको स्मरण गरे । उनले धम्मयात्राले सोही सन्देश दिएको बताउँदै भगवान् बुद्धले बुद्धत्व प्राप्त गरेपछि आफ्नो भूमि फर्कँदा रुपन्देहीको सिद्धार्थनगर हुँदै फर्केको इतिहासलाई धम्मयात्राले पुनः स्मरण गराएको बताए ।
लुम्बिनी विकास कोषका कार्यकारिणी सदस्य श्याम रोक्काले धम्मयात्राले लुम्बिनी भगवान् बुद्धको जन्मस्थल मात्रै नभएर विश्व शान्तिको उद्गम थलो समेत भएको सन्देश दिने काम गरेको बताए । उनले बुद्ध जन्मस्थल लुम्बिनीलाई मन्त्र, ध्यानमा मात्रै सीमित नराखी बुद्धका उपदेश र लुम्बिनीको महत्वलाई विश्व समुदायमाझ पुर्याउनु पर्नेमा जोड दिए ।
त्यस्तै सिद्धार्थनगर नगरपालिकाका नगर सरकार प्रमुख इश्तियाक अहमद खाँले भगवान बुद्बले बुद्धत्व प्राप्त गरेपछि यही सिद्धार्थनगर हुँदै आफ्गृनाे गृह नगर कपिलवस्तु फर्केको बताउँदै त्यसलाई स्मरण गर्दै धम्म यात्रा गरिनु आफैमा महत्त्वपूर्ण रहेको बताए । उनले आगामी दिनमा समेत धम्म यात्रालाई अझ बृहत् रूपमा गर्नका लागि स्थानीय सरकारको तर्फबाट भरपुर सहयोग रहने बताए ।
धम्म यात्रामा धम्कायका सल्लाहकार डा. आदिसक, थाईल्याण्ड तथा नेपालका भिक्षु, भिक्षुणी, लामा, उपासक उपासिकाहरुको सहभागिता उल्लेख्य सहभागिता थियो । भैरहवामा दोस्रो पटक गरिएको धम्मयात्राले बुद्धका उपदेशहरूलाई संसारभर फैलाउन र विश्व शान्तिका लागि बुद्ध नगरी लुम्बिनीबाट सकारात्मक सन्देश दिन पनि सफल भएको बौद्ध समाज नेपालका अध्यक्ष शङ्कर गाहाले बताए ।
धम्म यात्रा कार्यक्रमको सहजीकरण लुम्बिनी बौद्ध विश्वविद्यालयका सह–प्राध्यापक कमल थापाले गरेका थिए ।
प्रतिक्रिया