ताजा अपडेट »

क्षमता अभिवृद्धि तथा होमस्टे सञ्चालन एवम् व्यवस्थापन सम्बन्धि पुनर्ताजगी तालिम सम्पन्न

शनिबार, ०२ चैत्र २०८१, १९ : ४१
26 Shares
शनिबार, ०२ चैत्र २०८१
26 Shares

बुटवल । कबुलियती वन उपभोक्ता समूहरुको क्षमता अभिवृद्धि तथा होमस्टे सञ्चालन एवम् व्यवस्थापन सम्बन्धि पुनर्ताजगी तालिम शनिवार पाल्पाको पूर्वखोला  गाउँपालिका(२,जल्पाको ढोलीमारामा सम्पन्न भएको छ ।

 
उक्त कबुलियती वन उपभोक्ता समूहले विगत २ वर्षदेखि ढोलीमारामा ३७ घरको एकतामा १२ घरमा सामुदायिक होमस्टे सञ्चालन गर्दै आएको छ । २ वर्षअघि  गाउँपालिकाको आर्थिक एवम् प्राविधिक सहयोगमा  होमस्टे सञ्चालन तथा व्यवस्थापन सम्बन्धि आधारभूत तालिम सञ्चालन भएको थियो ।

दुइवटा कबुलियती वनले सञ्चालन गर्दै आईरहेको उक्त होमस्टे सञ्चालकहरुलाई कबुलियती वन, यसको प्रयोग र होमस्टे सञ्चालनमा देखा परेका समस्या,चुनौती एवम् समाधानका प्रयासहरुका बारेमा डिभिजन वन कार्यालय,पाल्पाका वरिष्ठ डिभिजनल वन अधिकृत नारायणदेव भट्टराई,संरक्षणकर्मी डीबी गुरुङ,विष्णु कार्की लगायतले सहजीकरण गरेका थिए ।

उक्त तालिममा होमस्टेका अध्यक्ष पहलसिंह घर्तिले छोटो समयमा ढोलीमारा होमस्टेमा धेरै पर्यटकहरु आईपुगेको,२५ लाख बढी आर्थिक कारोबार भएको,स्थानीयहरु स्वरोजगारी बनेको,किवीखेती सफल भएको,अम्रिसोले आम्दानी बढाएको,तरकारी खेती र पशुपालन सप्रिएको उनले उल्लेख गरे ।

साथै स्थानीय शैक्षिक एवम् सामाजिक व्यक्तित्व चित्रबहादुर कवँरमगरका अनुसार गाउँमा होमस्टे सञ्चालनपछि गाउँको मुहार फेरिदै गएको,विकास निर्माणले फड्को मारेको,होमस्टेको आम्दानीबाट बचत पैसाले ४ रोपनी जग्गा खरिद गरिएको र गाउँलेहरुको वैयक्तिक क्षमता विकास भएको जानकारी प्राप्त भयो ।

तालिमका सहभागी पूर्वखोला गाउँ कार्यपालिका सदस्य भिमिसरा आलेले आफ्नो पालिकालाई चिनाउने काम ढोलीमारा होमस्टेले गरेकोमा खुसी ब्यक्त गरिन् । सो तालिममा सहभागीहरुका तर्फबाट मीना, भूमि, भिमकला, मनबहादुर, सीमालगायतले होमस्टे  बारेमा सिकेका कुराहरुलाई होमस्टे सञ्चालन र व्यवस्थापनका सिलसिलामा दुरुस्तै अपनाउने  प्रतिवद्वता जनाए।

देशकै नमूना होमस्टे बनाई उद्यमशीलतामार्फत स्वरोजगार सिर्जना गर्न आफूहरु निरन्तर अग्रसर हुने सहभागीहरुले अठोट गरे । तालिमको व्यवस्थापन रम्भा सबडिभिजन वन कार्यालय,ताहुँले गरेको थियो ।

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।