बुटवल । उपभोक्ता आफैले प्रश्न गर्ने अवस्थाको सिर्जना गर्न सकेमा स्वच्छ र प्रतिस्पर्धी बजारसँगै उपभोक्ताको अधिकारलाई दिगो संरक्षण गर्न सकिने सरोकारवालाहरुले बताएका छन् । विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा शनिबार भैरहवामा आयोजित कार्यक्रममा बोल्दै सहभागीहरुले उपभोक्ताको अधिकारका सवालमा सबैले आफ्नो तर्फबाट भूमिका पूरा गर्न सक्ने पर्ने बताएका हुन् । ‘स्वच्छ र प्रतिस्पर्धी बजार, उपभोक्ता संरक्षणको दिगो आधार’ नारासहित विश्वभर मनाइएको उपभोक्ता अधिकार दिवसको अवसरमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय भैरहवाले अन्तरक्रियाको आयोजना गरेको हो ।
सो अवसरमा बोल्दै जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले उपभोक्ताको हितको विषयमा गम्भिर भएर काम गर्ने बताए । बजार निरीक्षण, अनुगमनमार्फत उपभोक्ताको अधिकार सुनिश्चितता गर्ने र बजारको सुधार गर्ने कामलाई निरन्तरता दिँदै आएको उनले बताए । ‘आम उपभोक्ताहरु आफनो अधिकारको विषयमा सचेत हुन जरुरी छ ।’– उनले भने, ‘हरेकले नागरिकबाट आफ्नो भूमिकालाई सहि ढंगबाट निर्वाह गरे धेरै समस्याहरु अन्त्य हुन्छ ।’ सरोकारवाला सरकारी कार्यालयलाई कानुनी ब्यवस्थामा रहेर काम गर्न उनले निर्देशन दिए ।
कार्यक्रममा खाद्य तथा अनुसन्धान कार्यालयका खाद्य अधिकृत हेमन्त गौतमले खाद्य स्वच्छता र चुनौती विषयमा कार्यपत्र पेश गर्दै मुख्य रुपमा भौतिक, रसायनिक र सूक्ष्म जिवहरुले खाद्य स्वच्छतालाई असर पार्ने बताए । उपभोक्ता, नियमक र व्यापारी लगायत सरोकारवाला पक्ष जिम्मेवार भएमात्र खाद्य स्वच्छता कायम हुने बताए । ‘खाद्य स्वच्छता र खाद्य गुणस्तरबाट मात्र खाद्य सुरक्षा हुन्छ ।’–उनले भने । खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ कार्यान्वयनमा आएको भएपनि शिशु अवस्थामा रहेको उनले बताए ।
कार्यक्रममा उपभोक्ता हित संरक्षण मंच, लुम्बिनी प्रदेशका अध्यक्ष तेज कुमार पाठकले आम उपभोक्ता जन्मदेखि मृत्युसम्मको अवस्थामा ठगिने प्रवृत्ति रहेको दुःखेसो गरे। सरकारको कानुन एकातिर र ब्यवहारमा भने फरक रहेको भन्दै उनले अनुगमन पक्ष फितलो रहेको बताए । उपभोक्ता को हो ? भन्ने विषयमा दुविधा रहन नहुने भन्दै उनले उपभोक्ताको अधिकारको बारेमा सरकार उदासिन रहेको बताए । ‘संविधानमा मौलिक हकका रुपमा उपभोक्ताको अधिकारलाई राखिएको छ ।’– उनले भने । ब्यवसायिक संघसंस्थाहरुबाट सहयोग नलिई निरन्तर आफ्नो क्षेत्रमा समाजसेवी रुपमा प्रशासन कार्यालय, स्थानीय सरकारको समन्वयमा संयुक्त बजार अनुगमनलाई तिव्रता दिने, उपभोक्तामा सचेतना जगाउने, न्यायिक अधिकारमा आफुहरु आवश्यक समन्वयको काम गर्दै आएको उनले बताए । काठमाडौमा उपभोक्ता अदालत स्थापना भएको भन्दै उनले यो नयाँ शुरुवात भएको बताए । देशभर नै उपभोक्ता अदालत गठन हुनेमा आशावादी रहेको उनले बताए । हरेक खाद्य बस्तुमा विषादीको प्रयोग हुने गरेको र उपभोक्ताको स्वस्थ्यप्रति उत्पादकहरु गम्भीर नदेखिएको उनले गुनासो गरे ।
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका शाखा अधिकृत लक्ष्मी शर्माले उपभोक्ता हकअधिकारको विकास क्रमका बारेमा जानकारी दिए । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्माले उपभोक्ता हित सम्बन्धि कानुनी विषयमा जागरण निरन्तर जरुरी रहेको बताए । उपभोक्तालाई असर पार्ने हरेक जसो विषयमा उत्पादकदेखि ब्यापारीसम्मलाई बुझाउने र कार्यान्वयनको पक्षमा जोड दिन जरुरी रहेको उनले बताए ।
नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डेले उपभोक्ता हितका कुरा संस्थागत रुपमा कम भएको भन्दै यसतर्फ सरोकारवालाहरु लाग्नुपर्ने बताए । संचारमाध्यमको बढिभन्दा बढि सदुपयोग गरि सरोकारवाला निकायहरु लाग्नुपर्ने बताए । पछिल्लो समय अनलाईनको ब्यापारप्रति उपभोक्ताको आर्कषण हुँदा यसबाट ठगिने प्रवृतिको बारेमा भने बाहिर आउन नसकेको उनले बताए । नेपाल घरेलु तथा साना उद्योग महासंघ लुम्बिनी प्रदेशका वरिष्ठ उपाध्यक्ष गणेश अधिकारीले केवल कार्यक्रमको लागि कार्यक्रम भन्दा पनि उपभोक्ताको हकअधिकारको पक्षमा गरिएका कामको बारेमा समीक्षा जरुरी रहेको बताए ।
कार्यक्रममा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका प्रमुख उर्मिला गुभाजु तथा कार्यालयका सौगात आचार्यले विश्व उपभोक्ता अधिकार दिवसमा सरोकारवालाहरुलाई एकठाउमा ल्याएर गल्ति कमिजोरीहरुलाई औल्याउने र सच्याउन मद्दत मिल्ने बताए ।
प्रतिक्रिया