ताजा अपडेट »

पूर्वराजा ज्ञानेन्द्र ‘मूर्ति चोर’ र दरबार हत्याकाण्डका ‘मास्टरमाइन्ड’ भएको प्रचण्डको आरोप

शुक्रबार, ०१ चैत्र २०८१, २० : ०३
42 Shares
शुक्रबार, ०१ चैत्र २०८१
42 Shares

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहमाथि एकसाथ दुई वटा गम्भीर आरोप लगाएका छन् । उनले २०५८ सालमा भएको दरबार हत्याकाण्डको मास्टरमाइन्ड ज्ञानेन्द्र शाह भएको आरोप लगाएका छन् । साथै ज्ञानेन्द्र मूर्ति चोर भएको समेत भएको प्रचण्डको गम्भीर आरोप छ  ।

नेकपा माओवादी केन्द्र मेलम्ची नगर समिति, सिन्धुपाल्चोकको नगर सम्मेलन तथा जागरण सभा कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले यस्ता बदनाम संस्था फेरि फर्किन सम्भव नरहेको बताए ।

प्रचण्डले भने, ‘जुन नौटङ्कीहरू देखाइँदैछ । २५० वर्षसम्म राजा महाराजाले यो देशलाई कहाँ पुर्‍याए ? नेपाली जनताले बिर्सेको छ ? मूर्ति चोर को हुन् ? नेपालका ठुलठुला मूर्ति चोरहरू अहिले राजा ! भाइमारा को हो ? आफ्नै वंश मास्नेले अहिले फेरि धाक लगाउन मिल्छ ? सुन तस्कर को हो ? नेपाली जनताले बिर्स्यो भन्ठानेको ?’

उनले पहिलोचोटि प्रधानमन्त्री हुँदा आफूले दरबार हत्याकाण्डको छानबिन गर्नुपर्छ भनेको तर बीचमै सरकार ढल्दा नसकेको बताए । ‘मैले पहिलो चोटि प्रधानमन्त्री हुँदा दरबार हत्याकाण्डको फेरि एक पटक छानबिन गर्नुपर्नेछ भनेको थिएँ । मैले त्यतिबेला ५ वर्ष शासन गर्न पाएको भए म फेरि एक पटक छानबिन गरेर भाइमारा र राजद्रोही यिनीहरूलाई इतिहासको कठधारामा ठेगान लगाउने विचार थियो ।’

उनले पूर्वराजा ज्ञानेन्द्र शाह दरबार हत्याकाण्डको मास्टरमाइन्ड भएको समेत आरोप लगाए । ‘त्यति भयानक हत्याकाण्ड गर्ने मान्छेहरू त परिवारभित्रै थिए नि । सबैले बुझेको छन् नि नेपाली जनताले को हो मुख्य प्लानर र मास्टरमाइन्ड भनेर जनतालाई थाह छ । बिर्से भन्ठानेका छन् तिनीहरूले ?’, प्रचण्डले आक्रोश पोखे ।


प्रचण्डले विदेशीका एक दुई वटा फोटो टाँसेर प्रचार गरेकै भरमा राजतन्त्र फर्किन्छ भन्ने कसैलाई लागेको भए त्यो दिवास्वप्न मात्रै हुने समेत बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।